१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

चालु योजना देखाएर मतदाता तान्दै

पोखरा - उपनिर्वाचनमा होमिएका राजनीतिक दलका उम्मेदवारले विकास निर्माणका पुरानै नारा र शैलीलाई निरन्तरता दिएर मतदाता तान्ने प्रयास गरेका छन्। विकास निर्माणमै आफूहरूको ध्यान केन्द्रित हुने उनीहरूको भनाइ छ। अझ केही समयभित्र पूरा हुने गतिमा रहेका पूर्वाधारलाई समेत नेताहरूले नारामा समेटेका छन्।

मंसिर १४ मा कास्की–२ मा उप निर्वाचन हुँदैछ। उपनिर्वाचनमा खटिएका मुख्य दलका उम्मेदवारले अपूरा विकासे आयोजनालाई निरन्तरता दिने भन्दै मतादाता तान्ने प्रयास गरिरहेका छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की उम्मेदवार विद्या भट्टराईले पोखरा महानगरपालिका–८ सिर्जनाचोकसहित मुख्य चोकमा आकाशेपुल बनाउने भन्दै मतादातालाई आफ्नो पक्षमा मत तान्ने प्रयास गरिन्। जबकी यो पुल अघिल्लो पटककै निर्वाचनमा पनि उठेको थियो। त्यसपछि पुल बनाउनका लागि बजेट विनियोजनसमेत भइसकेको छ। त्यहीअनुसार टेण्डर आह्वानसमेत गरिएको थियो।

दुई करोड ४० लाख रुपैयाँमा पुल बनाउने भन्दै पोखरा महानगरपालिकाले टेण्डर आह्वान गरिसकेको पुल आगामी चार महिनामा तयार भइसक्ने महानगरपालिकाले बताएको छ। पुल जस्तै उनले पोखरा चक्रपथ निर्माणदेखि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्मका काम चाँडै सक्ने बताइन्। चक्रपथ निर्माणको काम शून्य जस्तै छ। अन्तराष्र्टि«य विमानस्थलको पनि आधा काम सकिएको छ। अवरोध नआए २०२१ को जुलाईसम्म बिमानस्तल तयार हुनेछ।

नेपाली कांग्रेसका उम्मेद्वार खेमराज पौडेलले राजनीतिक संस्कार नहुँदा पार्टीप्रति जनतामा वितृष्णा जागेको बताए। आफू सुकुमबासी आयोगको अध्यक्ष हुँदा सुकुमबासीलाई लालपुर्जा दिन नसकेको र आफू विजयी भएपछि लालपुर्जा वितरण गर्छु भनेर उनले आश्वासन दिएका छन्। ‘त्यतिबेला मैले चाहेर पनि लालपुर्जा वितरण गर्न सक्दिनथे, अब सांसद भएपछि गर्छु भनेको हुँ,’ उनले भने। पौडेलले कुनै आयोजना तोकेरभन्दा पनि विकास निर्माणलाई गति दिने बताउँछन्।

चुनावी घरदैलोका क्रममा सिर्जनाचोकमा आयोजित कोणसभामा बोल्दै नेकपा उम्मेदवार भट्टराईले पोखराको जनघनत्व र भीडका कारण उत्पन्न ट्राफिक जाम कम गर्न सिर्जनाचोकसहित सभागृहचोक, पृथ्वीचोक, महेन्द्रपुल, अमरसिंहचोकलगायतका मुख्य चोकमा आकाशेपुल निर्माण गर्ने बताएकी हुन्। त्यस्तै अघिल्ला दिनका कार्यक्रममा उनले पोखरालाई समृद्ध सहर बनाउनका लागि विकास आयोजना आवश्यक रहेको बताएकी थिइन।

‘निधन भएका पति रवीन्द्र अधिकारीको सपना ‘समृद्ध पोखरा, पर्यटकीय पोखराु बनाउने थियो,’ उनले भनिन्, ‘म उहाँ (रवीन्द्र)कै अधुरा सपना र योजना पूरा गर्न उम्मेद्वार बन्न आएकी हुँ।’ आकाशे पुल निर्माण गर्ने योजना रवीन्द्रकै भएको बताउँदै उनले थपिन्, ‘सिर्जनाचोकमा आकाशे पुल बनाउने भनेर विस्तृत आयोजना प्रतिवेदन(डिपीआर) बनाउन लगाएर बजेटसमेत विनियोजन भइसकेको थियो। मैले चुनाव जित्नबित्तिकै सिर्जनाचोकमा आकाशेपुल निर्माणमा जुट्छु।’

महानगरका इन्जिनियर ध्रुव भट्टराई अबको चार महिनामा सिर्जनाचोकमा पुल तयार भइसक्ने बताए। उनका अनुसार पुलको डिजाइन फेरिएकोले पनि समय बढी लागेजस्तो देखिएको बताए। पृथ्वीनारायण क्याम्पसका राजनीतिशास्त्रका प्राध्यापक कपिलमणि दाहाल चुनाव आएपछि केही कुरा भन्नै पर्ने भएकोले पाइपलाइनका आयोजनालाई चुनावी नारामा समेटेको हुनसक्ने बताउँछन्। ‘यतिबेला उम्मेदवारले दिने आश्वासन पार्टीको घोषणापत्र होइन। उनीहरूको अबको कार्यकाल अढाईवर्षका लागि मात्र हो।

पाइपलाइनका योजना आफै पूरा हुन्छन्। कुनै उम्मेदवारले रोकेर रोकिने र अघि बढाएर बढ्ने भन्ने होइन,’ दाहालले भने, ‘बरु दुईवर्ष भित्र पुरा गर्न सकिने अरु नयाँ योजना अघि सारेको भए राम्रो हुन्थ्यो। पुराना आयोजनाले गति नलिएको खण्डमा गति दिन्छु भन्नु उपयुक्त हुन्छ तर, बनिरहेका आयोजनालाई पूरा गर्छु भन्नुमा महत्व राख्दैन।’ मतदाताले तत्काल प्रतिक्रिया जनाउँछन् भनेर नेताले बुझेकोले यस्ता आश्वासन बाड्ने गरेको उनले बताए।

प्रकाशित: ५ मंसिर २०७६ ०२:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App