१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

तालिबान नियन्त्रणमा रहेका दुई विदेशी मुक्त

केभिन किङ र टिमोथी विक्स। तस्बिर : एजेन्सी

काबुल (बिबिसी) – अफगानिस्तानमा सशस्त्र संघर्षरत तालिबान लडाकु समूहको नियन्त्रणमा रहेका दुई विदेशी नागरिक रिहा भएका छन्।

अफगान सरकारको थुनामा रहेका तीन वरिष्ठ तालिबान लडाकुलाई मुक्त गरिएपछि उनीहरुको नियन्त्रणमा रहेका दुई पश्चिमा व्यक्ति पनि मुक्त भएको बताइएको छ।

तालिबान नियन्त्रणमा रहेका अमेरिकी नागरिक केभिन किङ र अस्ट्रेलियन नागरिक टिमोथी विक्स मुक्त भएको बिबिसीले उल्लेख गरेको छ। उनीहरुलाई तीन वर्षअघि राजधानी काबुलस्थित ‘अमेरिकी युनिभर्सिटी अफ अफगानिस्तान’ प्रांगणबाहिरबाट तालिबान लडाकुले अपहरण गरेका थिए। उनीहरु सो विश्वविद्यालयमा प्राध्यापकका रूपमा कार्यरत थिए।

यी दुई प्राध्यापकलाई रिहा गर्नका लागि अफगान सरकारले आफ्नो थुनामा रहेका तीन तालिबान उच्च लडाकु नेतालाई रिहा गरेको छ। अफगान सरकारको  जेलमा रहेका तीन तालिबान लडाकु नेता अफगानिस्तानबाट कतार पुगिसकेको बिबिसीले जनाएको छ।

अफगान सरकारले भने तालिबान नेतालाई रिहा गरी दुई पश्चिमा प्राध्यापकलाई उनीहरुको कब्जाबाट मुक्त गराउनुको प्रमुख उद्देश्य भनेको तालिबानसँग शान्तिवार्ता थालनी गर्नु पनि रहेको जिकिर गरेको छ।

अफगान राष्ट्रपति असरफ घानीले गत साता सरकारी जेलमा रहेका तालिबान लडाकु नेतालाई जेलमुक्त गर्ने भन्ने निर्णय ‘अति जटिल तर महत्वपूर्ण कदम’ भएको बताएका थिए। उनले तालिबान लडाकुको नियन्त्रणमा रहेका प्राध्यापकहरुलाई मुक्त गराउन पनि यो कदम अपरिहार्य रहेको जिकिर गर्दै ‘मानवीय आधारमा पनि यो आवश्यक रहेको’ बताएका थिए।

अफगान सरकारले रिहा गरेका तीन तालिबानी उच्च नेतामध्ये एकजना हक्कानी लडाकु समूहका आर्थिक मामिला व्यक्ति अनाक हक्कानी र अन्य दुई वरिष्ठ लडाकु कमान्डर रहेको बताइएको छ। यी तीनै जना लामो समयदेखि अफगान प्रशासनको जेलमा रहेका थिए।

अनास हक्कानीका दाजु सिराजुद्दिनले लडाकुको एउटा सञ्जाल हक्कानी समूहको नेतृत्व गर्दै आएका छन् भने उनी तालिबान लडाकु समूहका उपनेतासमेत हुन्। तालिबान लडाकु समूहको राजनीतिक कार्यालय कतारमा रहेको छ।

तीनजना लडाकु नेतालाई रिहा गरिएको पुष्टि भए पनि उनीहरुलाई तालिबानको जिम्मा लगाइएको हो वा हैन भन्ने विषय भने अझै प्रष्ट भइनसकेको बिबिसीले उल्लेख गरेको छ।

अफगान सरकार र तालिबान लडाकु समूहबीच आ–आफ्ना नियन्त्रणमा रहेका व्यक्ति रिहा गर्ने विषयमा सहमति भएबमोजिम यी पाँचैजना रिहा भए पनि तालिबानले आफ्नो नियन्त्रणमा रहेका अन्य १० अफगान सेनालाई रिहा गर्ने विषयमा भएको सहमति भने कार्यान्वयन भए नभएको बारे भने केही उल्लेख नभएको ‘द न्युयोर्क टाइम्स’ पत्रिकालाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।

‘अमेरिकी युनिभर्सिटी अफ अफगानिस्तान’ मा प्राध्यापकका रूपमा कार्यरत दुई अंग्रेजी प्राध्यापकहरुलाई बन्दुकधारीले विद्युतीय धरापमा पारेर नियन्त्रणमा लिएका थिए।

काबुलस्थित विश्वविद्यालयबाट बाहिरिँदै  गर्दा ती प्राध्यापकलाई सन् २०१६ को अगस्ट महिनामा ती बन्दुकधारीले विद्युतीय धरापमा पारी उनीहरु चढेको गाडीबाट झिकेर नियन्त्रणमा लिएका थिए।

उनीहरु तालिबानको कब्जामा पुगेपछि अमेरिकी नौसेनाले कैयौं पटक आक्रमणमार्फत उनीहरुलाई मुक्त गराउन खोजेको थियो, यद्यपि सो अभियान सफल हुन भने सकेन। अस्ट्रेलियाको वाग्गा वाग्गा भन्ने ठाउँका विक्स र अमेरिकाको पेन्सिलभेनिया भन्ने ठाउँका दुई प्राध्यापक तालिबान नियन्त्रणमा परेको तीन वर्षपछि बल्ल रिहा हुन सफल भएका छन्।

सन् २०१६ को अगस्टमा तालिबान नियन्त्रणमा परेका उनीहरुलाई सन् २०१७ को जनवरीमा एउटा भिडियोमार्फत सार्वजनिक गराइएको थियो। सो भिडियोमा ती दुई प्राध्यापकले अमेरिकी राष्ट्रपतिमा भर्खरै निर्वाचित भएका डोनाल्ड ट्रम्पलाई आफूहरुको रिहाइका लागि तालिबानसँग सम्झौता गर्न आग्रह गरेका थिए।

दक्षिण अफगानिस्तानबाट तालिबान स्रोतलाई उद्धृत गर्दै बिबिसीले जनाएअनुसार ती दुई प्राध्यापकलाई जाबुल प्रान्तको नबहार जिल्लाबाट स्थानीय समयअनुसार मंगलबार बिहान १० बजे सरकारी अधिकारीसमक्ष हस्तान्तरण गरिएको थियो।

दुई पश्चिमा प्राध्यापकको रिहाई पूर्व ४८ घण्टे युद्धविराम गरिएको एक स्थानीय प्रहरी अधिकारीले बताएका छन्। तालिबान नियन्त्रणबाट मुक्त भएलगत्तै दुवै प्राध्यापक अमेरिकी हेलिकप्टरमार्फत सो ठाउँबाट गएको उनले बताए।

रिहा भएका दुई प्राध्यापकको स्वास्थ्य अवस्था कस्तो छ भन्नेबारे प्रष्ट भइनसकेको बिबिसीले उल्लेख गरेको छ। यद्यपि गत साता अफगान राष्ट्रपति घानीले ‘आतंकवादीको हिरासतमा रहँदा दुई प्राध्यापकको स्वास्थ्य स्थिति गम्भीर हुँदै गएको’ बताएका थिए।

दुई प्राध्यापक तालिबान नियन्त्रणबाट मुक्त भएलगत्तै अमेरिकन युनिभर्सिटी अफ अफगानिस्तानले एउटा विज्ञप्ति निकाल्दै विश्वविद्यालय दुवैजना प्राध्यापक र उनीहरुको परिवारलाई सहयोग गर्न तत्पर रहेको बताएको छ।

अफगान सरकारको जेलबाट मुक्त भएका तालिबान नेताहरुमा अनास हक्कानी, हाजी माली खान र हाफिज रसिद रहेका छन्। तीनैजनालाई रिहा भएलगत्तै कतार पठाइएको छ।

प्रकाशित: ४ मंसिर २०७६ ०१:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App