१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

अण्डाको मूल्य बढ्यो

काठमाडौं – उत्पादन लागतको आधारमा किसानले प्रतिफल नपाएको भन्दै अण्डा उत्पादकले कुखुराको अण्डाको मूल्य बढाएका छन्। नेपाल अण्डा उत्पादक संघका अनुसार प्रतिकार्टुन सरदर एक सय २५ देखि एक सय ७० रुपैयाँसम्म मूल्यवृद्धि भएको छ।

संघका अनुसार काठमाडौंमा ठूलो अण्डाको मूल्य प्रतिकार्टुन दुई हजार ५० र मध्यमको १८ सय ७० रुपैयाँ तोकिएको छ। एक कार्टुनमा सात क्रेट र दुई सय १० गोटा हुन्छ। यसअघि काठमाडौंमा ठूलो अण्डा १८ सय देखि १९ रुपैयाँ र सानो १६ सय देखि १७ सय रुपैयाँ कार्टुनमा बिक्री भएको संघका शिवराम केसीले बताए। ‘विगतमा मूल्य तोके पनि कार्यान्वयनमा आएको थिएन,’ केसीले भने, ‘अहिले कडाइ गरेका छौं।’ खुद्रा प्रतिगोटा १३ रुपैयाँ मूल्य निर्धारण गरिएको छ।

चितवनलाई अण्डा उत्पादनको राजधानी मानिन्छ। चितवनमा भने काठमाडौंमा भन्दा कम छ। त्यहाँ पनि अण्डाको मूल्य बढेको छ। प्रतिकार्टुन ठूलो अण्डाको मूल्य १९ सय २५ रुपैयाँ र मध्यमको १७ सय ८५ रुपैयाँ तोकिएको छ। यसअघि ठूलो अण्डा प्रतिकार्टुन १७ सयदेखि १८ सय र सानो १६ सय रुपैयाँ कार्टुनमा बिक्री भएको केसीले बताए। ‘उत्पादनको आधारमा प्रतिफल नपाएपछि मूल्य बढाएका हौं,’ केसीले भने, ‘उपभोक्तालाई ठूलो भार पर्दैन।’

संघका अनुसार प्रतिअण्डा उत्पादन लागत साढे १० रुपैयाँ पुगेको छ। यसअघि आठ रुपैयाँमा अण्डा बेच्नु पर्दा किसानले घाटा बेहोर्नु परेको थियो। मुलुकमा दैनिक ३३ लाख गोटा अण्डा उत्पादन हुने केसीले बताए। दाना, कामदारको ज्याला, ढुवानी, औषधीको मूल्य वृद्धि हुँदा लागत बढेको उत्पादकको दाबी छ। ‘गत वर्ष ४५ रुपैयाँको दाना अहिले किलोको ५६ रुपैयाँ पुगेको छ,’ केसीले भने।

मुलुक अण्डामा आत्मनिर्भर छ। अण्डा आयातमा आत्मनिर्भर भएको अवस्थामा आगामी आर्थिक वर्ष ०७७/७८ सम्ममा एक अर्ब ८३ करोड अण्डा उत्पादन गर्ने राष्ट्रिय योजना आयोगले मध्यकालीन लक्ष्य तयार गरको हो। पौष्टिक तत्वको रुपमा कुखुराका अण्डा प्रयोग हुने भएकाले उत्पादन पनि वृद्धि हुँदै गएको छ। कुखुरा र अण्डाको बजार बिस्तार भएसँगै पोल्ट्री व्यवसायमा लगानी बढेको छ। किसानले उत्पादन गरेको कुखुराको मासु तथा अण्डाले सजिलै बजार पाएर मनग्य मुनाफा हुने आसमा लगानी गरेका छन्। पोल्ट्री क्षेत्रमा एक खर्ब रुपैयाँ बढी लगानी पुगेको पोल्ट्री व्यवसायी मञ्चले जनाएको छ। पौष्टिक तत्वको रुपमा कुखुराका अण्डा र मासुको प्रयोगको लोकप्रियता सँगै नेपालमा ‘पोल्ट्री’ व्यवसायले फड्को मारेको छ। ह्याचरीमा नयाँ प्रविधि भित्रिएसँगै व्यापकता पाएको व्यवसायी बताउँछन्। सरकारले समेत यो व्यवसायलाई प्राथमिकतामा राखेर विभिन्न अनुदानका कार्यक्रम सञ्चालन गरेको छ।

कुखुरापालन अन्तरगत ह्याचरीमा नयाँ प्रविधि भित्रिएसँगै यो व्यवसाय फस्टाएको हो। चितवन, नवलपरासी, झापा, काठमाडौं, धादिङ, कास्की लगायत जिल्लामा करोडौंको लगानीमा कुखुरा फार्म सञ्चालन गर्ने लहर नै चलेको छ। सरकारी तथ्यांकअनुसार देशभर २१ हजार नौ सय ५६ फर्म व्यावसायिक रूपमा सञ्चालित छन्। यी फर्ममध्ये ९३.२९ प्रतिशत ब्रोइलर उत्पादक, ६.९ प्रतिशत लेयर्स उत्पादक र ०.५८ प्रतिशत ह्याचरी (चल्ला उत्पादक) छन्। पछिल्ला केही वर्षमा कुखुराको मासु र अण्डा उपभोग समेत ह्वात्तै बढेको छ। यससँगै व्यावसायिक प्रयोजनले कुखुरा पालन गर्ने क्रम पनि तीव्र छ।

प्रकाशित: ३ मंसिर २०७६ ०३:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App