१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पुनरावेदनको फैसला उल्ट्याउँदै साढे ११ वर्ष कैद, १० लाख क्षतिपूर्ति

काठमाडौं – सर्वोच्च अदालतले पूजा बोहोराको सामूहिक बलात्कार मुद्दामा दुईजना अभियुक्तलाई अपराधी ठह-याउँदै जनही ११ वर्ष ६ महिना कैद सजाय तथा पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको छ। तत्कालीन पुनरावेदन अदालत महेन्द्रनगरले सफाइ दिएको फैसला उल्टाउँदै सर्वोच्चले क्षतिपूर्ति र कैद सजाय तोकेको हो। न्यायाधीशद्वय सपना मल्ल प्रधान र हरिप्रसाद फुयालको संयुक्त इजलासले यसअघि कसुर ठहर गरे पनि सोमबार सजाय निर्धारण गरेको हो। सर्वोच्चको फैसलापछि सामूहिक बलात्कारमा परेकी बैतडीकी बोहोराले आठ वर्षपछि न्याय पाएकी छिन्।

नेपाल सरकारको जाहेरी मुद्दामा बैतडीका सागर भट्ट र अम्मरराज अवस्थी कसुरदार ठहर भएकाले दुवैजना जनही साढे ११ वर्ष जेल बस्नुपर्नेछ। जनही ६ वर्ष ६ महिना कैद सजाय भएको थियो। सामूहिक बलात्कारको कसुर ठहरिएकाले जनही पाँच वर्ष थपिएपछि साढे ११ वर्ष पुगेको हो।

सर्वोच्चले पीडितको शिक्षा, स्वास्थ्यलगायतमा पुग्न गएको मानसिक असरलाई ध्यान दिँदै राज्य र पीडक दुवैलाई जिम्मेवारी बहन गराउँदै क्षतिपूर्ति दिनुपर्ने ठहर गरेको छ। सर्वोच्चले तोकेको क्षतिपूर्ति राज्य र पीडक दुवैले उपलब्ध गराउनुपर्ने गरी फैसला भएको सर्वोच्चका प्रेसविज्ञ किशोर पौडेलले जानकारी दिए। यदि पीडकले दिन नसकेमा राज्यले क्षतिपूर्ति भराउनुपर्ने गरी सर्वोच्चले ठहर गरेको छ। सर्वोच्चले गत कात्तिक ७ मा सामूहिक बलात्कार भएको ठहर गर्दै सजाय पछि तोक्ने आदेश गरेको थियो।

आफूलाई सामूहिक बलात्कार गर्नेहरूको नामै किटान गरी न्याय माग्दै सञ्चारमाध्यमार्फत सार्वजनिक गरेकोे पूजा बोहराको पत्र निकै चर्चित बनेको थियो।

पूजा बोहोराको नामबाट २०७१ पुस १ मा सञ्चारमाध्यममार्फत तत्कालीन कानुनमन्त्री नरहरि आचार्यलाई सार्वजनिक पत्र लेखेपछि यो मुद्दा चर्चित बनेको थियो। सर्वोच्चले पेसी तोकेकै दिन सो खुलापत्र सञ्चारमाध्यममा आएपछि मुद्दा पेसीबाटै हटाइएको थियो। उनले आफूलाई सामूहिक बलात्कार गर्नेहरूको नामै किटान गरी न्याय माग्दै सञ्चारमाध्यमार्फत सार्वजनिक गरेको पत्र निकै चर्चित बनेको थियो।

२०६८ साल चैतमा एसएलसी दिने क्रममा बैतडीकी १४ वर्षीय पूजा दुईजनाबाट बलात्कृत बनेकी थिइन्। बैतडीको पाटन बजारमा गेसपेपर किन्न जाँदा उनी सामूहिक बलात्कारमा परेको उनले सार्वजनिक गरेकी थिइन्। बलात्कारपछि बेहोस अवस्थामा रक्ताम्य भेटिएकी पूजाको उपचारपछि घटना बाहिरिएको थियो। चर्को दबाबपछि प्रहरीले मुद्दा दर्ता गरेको थियो।

सुरु जिल्ला अदालत बैतडीका तत्कालीन जिल्ला न्यायाधीश हिमाल पाठकको इजलासले भट्ट र अवस्थीविरुद्ध १३ वर्ष सजाय र जनही ५० हजार रुपैयाँ क्षतिपूर्ति तोकेको थियो। अहिले सर्वोच्चले जिल्ला अदालतले तोकेको सजायमा केही घटाएको छ भने क्षतिपूर्ति रकम बढाएको छ।

जिल्ला अदालतको फैसलापछि पुनरावेदन अदालत महेन्द्रनगरमा प्रतिवादीको निवेदन दर्ता गरिएको थियो। पुनरावेदन अदालतका तत्कालीन न्यायाधीशद्वय नरबहादुर शाही र रमेशप्रसाद राजभण्डारीको इजलासले मुद्दामा दुवैलाई सफाइ दिएको थियो। त्यसरी पुनरावेदनले सफाइ दिएपछि मुद्दा दोहो¥याइ पाऊँ भनी २०७१ पुस २ गते सर्वोच्चमा निवेदन दर्ता भएको थियो।

मुद्दा दर्ता भएको पाँच वर्षपछि सर्वोच्चले पुनरावेदनको फैसला खारेज गर्दै फेरि जिल्ला अदालतको कसुर फैसला सदर गरेको छ भने सजाय र जरिवाना उल्टाएको हो। सर्वोच्चमा मुद्दा दर्ता भएको तीन वर्षपछि २०७४ पुस ५ मा न्यायाधीशद्वय शारदाप्रसाद घिमिरे र प्रकाशमानसिंह राउतको संयुक्त इजलासले सामूहिक बलात्कारमा संलग्न आरोपीलाई झिकाउने आदेश गरेको थियो।

सो मुद्दाको सुनुवाइ प्रक्रिया २०७१ सालदेखि २०७६ सम्म आइपुग्दा सर्वोच्चको पेसीमा १५ पटक ‘हेर्न नभ्याइने’ इजलासमा परेको र तीनपटक विपक्षी कानुन व्यवसायीले पेसी स्थगित गरेका थिए। गत असोज १० मा न्यायाधीश सपना प्रधान मल्ल र हरिप्रसाद फुँयालको संयुक्त इजलासले मुद्दा ‘हेर्दाहेर्दै’मा राखेको थियो। सर्वोच्चमा मुद्दा दर्ता भएको पाँच वर्षपछि फैसला भएको हो।

प्रकाशित: ३ मंसिर २०७६ ०१:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App