१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बोलिभियामा झडप, कम्तीमा आठको मृत्यु

शुक्रबार बोलिभियाको साकाबामा पूर्वराष्ट्रपति इभो मोरालेस समर्थक र सुरक्षाकर्मीबीच भएको झडप। तस्बिर : एजेन्सी

ला पाज (एजेन्सी) – दक्षिण अमेरिकी राष्ट्र बोलिभियामा शुक्रबार सुरक्षाबल र पद त्याग गरेको राष्ट्रपति इभो मोरालेस समर्थकबीच भएको झडपमा कम्तीमा आठजनाको मृत्यु भएको छ।

झडमा परी कम्तीमा एक सय ३२ जना  घाइते भएको र त्यसमध्ये केहीको अवस्था अत्यन्तै चिन्ताजनक रहेकाले मृतकको संख्या बढ्न सक्ने स्थानीय अधिकारीहरुले बताएका छन्। घाइतेमध्ये अधिकांशलाई सुरक्षा फौजले चलाएको गोली लागेको बताइएको छ।

गत अक्टोबर २० मा भएको निर्वाचनबाट पुनः चौथो कार्यकालका लागि इभो मोरालेस निर्वाचित भएसँगै बोलिभियामा तीन सातादेखि शृंखलाबद्ध विरोध प्रदर्शन भइरहेकै बेला गत साता उनले पद त्याग गरेका थिए।

देशमा हिंसात्मक प्रदर्शन बढ्दै गएपछि देशको सेना र प्रहरीले पनि राष्ट्रपतिको कदमलाई समर्थन नगर्ने घोषणा गरेका थिए। सेना र प्रहरीले पनि आफ्नो कदमलाई समर्थन नगर्ने भएपछि मोरालेसले राजीनामा गरेका थिए।

आफूलाई समर्थन नगर्ने सेनाको घोषणापछि वामपन्थी राजनीतिज्ञसमेत रहेका मोरालेसले राष्ट्रका नाममा टेलिभिजनबाट सम्बोधन गर्दै नोभेम्बर १० का दिन राष्ट्रपति पदबाट राजीनामा दिएको घोषणा गरेका थिए।

लामो समयदेखि सत्तामा रहेका मोरालेसका मन्त्री एवं वरिष्ठ अधिकारीहरुले पनि एकाएक राजीनामा दिएपछि उनी थप संकटमा परेका थिए। मोरालेसको राजीनामा आएसँगै अक्टोबरमा सम्पन्न भएको निर्वाचनमा पराजित पूर्वराष्ट्रपति एवं मुख्य विपक्षी दलका नेता कार्लोस मेसाले बोलिभियाली जनताले विश्वलाई नै नयाँ सन्देश दिएको प्रतिक्रिया दिएका थिए।

उनले बोलिभियालाई नयाँ र समृद्ध देशमा रुपान्तरण गर्न मोरालेसको राजीनामाले मद्दत गर्ने विश्वाससमेत व्यक्त गरेका थिए। मोरालेसको राजीनामापछि मुलुकको राष्ट्रपति को हुने भन्ने अन्यौलकैबीच कम्तीमा २० जना सांसद र वरिष्ठ सरकारी अधिकारीले बोलिभियास्थित मेक्सिकोको राजदूतावासमा शरण लिएका थिए। मेक्सिकोले राष्ट्रपति मोरालेसलाई पनि शरण दिन तयार रहेको घोषणा गरेपछि उनी मेक्सिकोतर्फ गएका छन्।

मेक्सिको पुगेपछि आफूलाई सेनाले पद त्याग गर्न दबाब दिएको बताएसँगै राजधानी ला पाजमा मोरालेसको समर्थनमा विशाल जुलुस निकालिएको थियो। मोरालेसका समर्थकहरुले गत मंगलबारदेखि बोलिभियाका विभिन्न क्षेत्रहरुमा प्रदर्शन गर्दै आएका छन्।

विपक्षीले समर्थन गरेको अन्तरिम सरकार प्रमुख जान्निए आनियसको राजीनामा र मोरालेस फिर्तीको माग गर्दै बोलिभियामा विरोध प्रदर्शन जारी नै रहेको बेला गत शुक्रबार सुरक्षाकर्मीले व्यापाक मात्रामा बल प्रयोग गरेको बताइएको छ।

यसैबीच, मोरालेसले एउटा ट्विट गर्दै आफूलाई गिरफ्तार गर्न सुरक्षाकर्मी पक्राउ पूर्जीसहित आएको बताएका छन्। यद्यपि प्रहरी प्रमुख भ्लादिमिर युरी काल्डेरोनले भने मोरालेसको भनाइमा सत्यता नरहेको दाबी गरेका छन्।

आफ्नो घरमा पनि आक्रमणकारी समूहले ढुंगामुडा गरेको मोरालेसले जिकिर गरेका छन्। प्रहरीले आइतबार राति निर्वाचन अदालतका प्रमुख मारिया युजेनिया चोकलाई गिरफ्तार गरिएको बताएको छ। यही अदालतको आडमा मोरालेसले चुनाव जितेको आरोप विपक्षीहरुले लगाउँदै आएका थिए।

आयमारा आदिवासी समुदायको प्रतिनिधित्व गर्ने मोरालेस विगतमा कृषक थिए। उनी सन् २००६ मा आदिवासी समुदायबाट बोलिभियाको पहिलो राष्ट्रपति बनेका थिए। राजीनामा गर्ने क्रममा मोरालेसले आफ्नो राष्ट्रपतीयकालमा भोकमरी र गरीबी कम गर्न ठूलो सफलता प्राप्त गरेको दाबी पनि गरेका थिए।

मोरालेसले बोलिभियाको राष्ट्रपतिका रूपमा करिब १४ वर्ष शासन सञ्चालन गरेका थिए। यसै वर्षको अक्टोबर २० मा सम्पन्न निर्वाचनमा भने उनी झिनो मतान्तरले चौथो कार्यकालका लागि विजयी भएको भए पनि धाँधली गरेर उनले चुनाव जितेको भन्दै विपक्षीहरुले चुनावी परिणाम अस्वीकार गरेका थिए।

मोरालेसको विजयलाई अस्वीकार गर्दै भएको प्रदर्शनमा तीन जनाको मृत्यु हुनुका साथै सयौं घाइते भएका थिए। विरोध प्रदर्शन जारी रहेकै अवस्थामा ६० वर्षीय मोरालेसले नयाँ चुनावका लागि पनि प्रस्ताव गरेका थिए तर प्रदर्शनकारीहरु राष्ट्रपतिको यस्तो आग्रह सुन्ने अवस्थामा थिएनन्, बरु मुलुकको सशस्त्र फौज र प्रहरी दुबैले राष्ट्रपतिलाई राजीनामा गर्न सुझाएका थिए।

सशस्त्र फौजका प्रमुख एवं सेनापति विलियम्स कलिम्यानले संवाददाताहरुसँग कुरा गर्दै मुलुकको स्थायित्व, विकास र सडक प्रदर्शन मत्थर पार्न मोरालेसलाई राजीनामा गर्न आफूले सुझाव दिएको बताएका थिए।

प्रकाशित: २ मंसिर २०७६ ०३:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App