१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

धरानमा १६ देशका ४६ फिल्म

काठमाडौं- अखिल नेपाल चलचित्रकर्मी संघले आगामी पुस २७ देखि माघ २ गतेसम्म धरानमा 'अन्तर्राष्ट्रिय चलचित्र महोत्सव' गर्ने भएको छ। पाँच दिन चल्ने महोत्सवमा १६ देशका ४६ फिल्म छानिएका छन्। यस्तो महोत्सवले अन्तर्राष्टिय चलचित्र संस्कृति आदानप्रदानमा सहयोग पुग्नुका साथै नेपाल पनि फिल्म फेस्टिभलको हब बन्दै छ भन्ने सन्देश जाने अभिनेता तथा निर्णायक मण्डलका सदस्य राजेश हमालले बताए। उनले भने, 'यस्ता महोत्सवले सफ्ट डिप्लोमेसीको काम गर्छन् र अरुका फिल्म हेरेर हामीले पनि धेरै कुरा सिक्न सक्छौं।'

धरानस्थित सभागृहको प्रेक्षालयमा हुने महोत्सवको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नेछन्। महोत्सव संयोजक केपी पाठकले संघीयताका मर्मलाई आत्मसात गर्दै प्रस्तावित एक नम्बर प्रदेशबाट महोत्सव सुरु गरिएको बताए। उनले भने, 'मुलुक संघीयतामा गइसकेको बेला पनि प्रायः जसो फिल्म कार्यक्रम काठमाडौंमा हुने गरेका छन्। अरु प्रदेशका दर्शकलाई अन्तर्राष्ट्रिय चलचित्र हेर्ने अवसर जुटाउनुका साथै विश्वका सिनेकर्मीसँग बहस गर्दै प्रादेशिक रुपमा फिल्मको विकासका लागि प्रोत्साहन मिलोस् भन्ने हाम्रो चाहना हो। पालैसँग बाँकी प्रदेशमा पनि महोत्सव गर्दै जानेछौं।'

अर्का निर्णायक एवं फिल्म निर्देशक लक्ष्मीनाथ शर्माले महोत्सवले स्थानीय दर्शकलाई विश्वका फिल्मबारे जानकारी गराउँदै राम्रा र मौलिक फिल्म हेर्न तथा निर्माण गर्न प्रेरित गर्न महोत्सव उपयोगी हुने विचार राखेका थिए। 

कार्यक्रममा २२ देशका लामा फिल्म, डकुमेन्ट्री, एनिमेसन फिल्म, सर्ट फिल्म गरी २ सय १ फिल्म प्राप्त भएको जानकारी गराइएको थियो। निर्देशक सुभास गुजरेल, पत्रकार डब्बु क्षेत्री र एवं ध्वनि विज्ञ आलोक तिवारीको तीन सदस्यीय प्रारम्भिक चयन समितिले लगातार डेढ महिना लगाएर फिल्म छानेका थिए।

जसमा नेपाल, चीन, भारत, बँगलादेश, श्रीलँका, जापान, इरान, क्युवा, इजिप्ट, रुस, एस्टोनिया, कजाकिस्तान, जर्मनी, मोन्टेनेग्रो र टर्की गरी १५ देशका ४६ वटा फिल्म प्रारम्भिक चयन समितिले छनोट गरेको छ। यसरी छानिएका फिल्मलाई चीनका निर्देशक सेई फी लगायत फ्रान्सका फिल्म प्राध्यापक ड्रागन मिलिन कोभिक, राजेश हमाल, लक्ष्मीनाथ शर्मा र भारतकी सिनेमाटोग्राफर फाओजिया फथिमाले महोत्सवमा हेरेर उत्कृष्ट फिल्म घोषणा गर्नेछन्।  

महोत्सव संयोजक पाठकका अनुसार महोत्सबमा सहभागी सबै फिल्मले अवार्डका लागि प्रतिस्पर्धा गर्ने छन्। नेपाल पानोरमा सेक्सनतर्फ नेपाली फिल्मको मात्र प्रतिस्पर्धा हुनेछ भने अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत् नेपाल लगायत बाँकी देशका फिल्मबीच प्रतिस्पर्धा हुनेछ। नेपाली पानोरमामा उत्कृष्ट हुने फिल्मले ५० हजार रुपैयाँ रहेको श्रीजंगा अवार्ड प्राप्त गर्नेछ भने उत्कृष्ट डकुमेन्ट्रीले ३० हजार रुपैयाँसहितको रामप्रसाद राई अवार्ड पाउनेछ। त्यसैगरी उत्कृष्ट बन्ने सर्ट फिल्मको पुरस्कार राशि भने ३० हजार रहेको छ। अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा विजयी हुने फिल्म, डकुमेन्ट्री र सर्ट फिल्मले भने क्रमशः १ हजार, ५ सय र ३ सय अमेरिकी डलर प्राप्त गर्नेछन्।

महोत्सव चलिरहँदा चीनका फिल्म निर्देशक सेई फीले 'सिनेमा फर पिपुल' शीर्षकको मास्टर क्लास चलाउनेछन्। यस्तै फ्रान्सका प्राध्यापक ड्रागन मिलिन कोभिकले 'थिएटर एन्ड एक्टिङ' वर्कसप र भारतकी छायाँकार फाओजिया फथिमाले 'भिजुअल ल्याङ्ग्वेज अफ सिनेमा' वर्कसप सञ्चालन गर्नेछन्।

प्रकाशित: २३ मंसिर २०७३ ०३:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App