१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

धराने टिमले ल्याए 'पार्सल'

काठमाडौं- धराने फिल्मकर्मीको टोलीले निर्माण गरेको फिल्म 'पार्सल' शुक्रबार नेपालभर रिलिज हुँदैछ। निर्माता किशोर लिम्बु सम्बाहाङ्फे, निर्देशक रविन श्रेष्ठ, कलाकार प्रेम सुब्बालगायत अरु पनि धराने फिल्मकर्मी फिल्मसँग आवद्ध छन्। निर्देशक श्रेष्ठले यही फिल्मबाट डेब्यु गर्न लागेका हुन्।

'एउटा पार्सलभित्र जे पनि हुनसक्छ, त्यस्तै यो फिल्ममा पनि दर्शकलाई सरप्राइज दिने प्रयास गरेका छौं,' निर्देशक श्रेष्ठले भने, 'एउटा पार्सल हेरफेर हुँदा आइपर्ने आपतकालीन अवस्थालाई मनोरञ्जनात्मक शैलीमा कथामा प्रस्तुत गरिएको छ।'

निर्माण टोली धरानका भए पनि फिल्ममा चाहिँ विभिन्न स्थानका दृश्य हेर्न पाइनेछ। काठमाडौं, मुग्लिन, हेटौंडा, इटहरी, धरान, दमक, कन्यामदेखि ताप्लेजुङको पाथिभरासम्म पुगेर फिल्म छायांकन गरिएको थियो। 'एउटा पार्सल जसरी घुमिरहन्छ, हामी पनि त्यसैगरी विभिन्न लोकेसनमा घुम्यौं,' निर्देशक श्रेष्ठले थपे।

निर्माता किशोर लिम्बु सम्बाहाङ्फे फिल्मको प्रदर्शनका लागि निकै दुःख गर्नुपरेको अनुभव सुनाउँछन्। 'भनेको जस्तो हल नपाइँदो रहेछ, फिल्म बनाएर के गर्नु?' निर्माता किशोरले भने, 'सिधासादा मान्छेले फिल्म बनाए भने त रिलिज नै हुँदैन होला।'

काठमाडौंका एक दर्जनभन्दा बढी र काठमाडौंबाहिर ५० वटा हलमा 'पार्सल' चल्ने निश्चित भएको छ। प्रभु श्रेष्ठद्वारा लिखित फिल्ममा युवराज राईको छायांकन, प्रज्वलदीप पराजुलीको सम्पादन, विकास चौधरीको संगीत, कुमार महर्जनको द्वन्द्व हेर्न पाइनेछ।

विशुद्ध पारिवारिक भनिएको फिल्ममा किशोर खतिवडा, निता ढुंगाना, प्रभु श्रेष्ठ, प्रेम सुब्बा, विक्रमसिंह थारु, सिर्जना वनेम लिम्बु, किशोर सम्बाहाङ्फेलगायतले अभिनय गरेका छन्।

प्रकाशित: २३ मंसिर २०७३ ०३:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App