१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

नेपाली भूमिबाट भारतीय सेना हटाउँछु : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओली। फाइल तस्बिर:नागिरक

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतद्वारा नेपाली सीमा मिचेर लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा राखिएका सेनालाई हटाउने बताएका छन्। राष्ट्रिय युवा संघ नेपालको राष्ट्रिय एकता भेलालाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कालापानी नेपाली भूमि भएकाले त्यहाँ तैनाथ भारतीय सेना फिर्ता गराउन आफू लागिपरेको बताएका हुन्। उनले भने, ‘आफ्नो एक इन्च भूमि पनि नेपालले कसैलाई मिच्न दिँदैन। आफ्नो भूमि रक्षा गर्न सरकार कटिबद्ध छ। भारतले मिचेको नेपाली भूमि फिर्ता गरेर रक्षा गर्न सरकार प्रतिबद्ध छ।’

नेकपाको अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले नेपालले अरु कसैको सीमा नमिच्ने र आफ्नो सीमा पनि मिच्न नदिने अठोट व्यक्त गर्दै नेपाली भूमिबाट भारतीय सेना फिर्ता लैजान भारत सरकारलाई आग्रह गरेको बताए। उनले भने, ‘हामी आफ्नो भूमि एक इन्च पनि मिच्न दिँदैनौ। अरुको जमिन पनि हामीलाई चाहिँदैन। तर हाम्रो जमिनबाट सेना फिर्ता लैजानुस्। सरकार संवाद गर्न नसक्ने अवस्थामा छैन। आफ्नो भूमिबाट विदेशी फौज फिर्ता गराउँछ। सीमा अहिले मिचिएको होइन। तर यो विषयमा अहिले राष्ट्रिय एकता कायम गर्न हामी सफल भएका छौं।’

प्रधानमन्त्री ओलीले अघिल्लो शताब्दीदेखि नै नेपालको सीमा मिच्ने काम भएको उल्लेख गर्दै सीमा मिचिएको कुरालाई अहिले नै हो कि भनेर कतिपयले उचाल्ने काम गरेको भए पनि सरकार संवादमार्फत सीमा समस्या समाधान गर्न सक्षम रहेको स्पष्ट पारे। उनले नेपाली भूमिमा रहेका सेना फिर्ता लैजान भारत सरकारलाई आग्रह गरेको र यसबारे कुराकानी भइरहेको जानकारी दिए। नेपाल छिमेकीसँग कुनै पनि तनाव नहोस् भन्ने पक्षमा रहेको उनले बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले अरु कसैको सीमा नमिच्ने र आफ्नो सीमा पनि मिच्न नदिने अठोट व्यक्त गर्दै नेपाली भूमिबाट भारतीय सेना फिर्ता लैजान भारत सरकारलाई आग्रह गरेको बताए।

भारतले नेपाली भूमि कालापानी, लिम्पयाधुरा र लिपुलेकलाई आफ्नो नक्साभित्र पारेर सार्वजनिक गरेपछि यस विषयमा प्रधानमन्त्री ओलीले पहिलो पटक सार्वजनिक कार्यक्रममा बोलेका हुन्। प्रधानमन्त्री ओलीले नेपालको कुरा अहिले अन्तर्राष्ट्रिय मञ्चहरुमा सुनिन थालेको उल्लेख गर्दै राष्ट्रियताको पक्षमा सरकार दृढ भएर उभिएकै कारण नेपालको इज्जत बढेको बताए। उनले केही वर्षअघिसम्म राष्ट्रियताको पक्षमा सरकार हुनु भनेको मृगतृष्णा जस्तै हुन्थ्यो भन्दै अहिले नेपाल त्यो अवस्थामा नरहेको बताए। ‘नेपालको गरिमा बढेको छ। महत्वपूर्ण शक्ति राष्ट्र प्रमुखको भ्रमण लगातार भइरहेको छ। इतिहासमा यस्तो हुँदैनथ्यो। अहिले नेपालको कुरा सुनिन थालेको छ। हाम्रो भूमिमा अरुका सेना राख्न दिँदैनौं’, प्रधानमन्त्रीले भने।

मुलुकको सिमाना रक्षा गर्ने र अतिक्रमित भूमि फिर्ता गर्ने विषयमा सबै एकजुट भएको सन्देश प्रवाह भएको पनि प्रधानमन्त्री ओलीले बताए। अतिक्रमित भूमि फिर्ता गर्ने विषयमा सरकारलाई जनताबाट प्राप्त बलियो समर्थन सराहनीय पक्ष भएको पनि उनले बताए। ‘यो देशभक्त सरकार कसैलाई हाम्रो एक इन्च जमिन मिच्न दिँदैन, छिमेकी देशले हाम्रो भूमिबाट आफ्नो सेना फिर्ता लैजाओस्’, प्रधानमन्त्री ओलीले भने, ‘राष्ट्रियता, राष्ट्रिय अखण्डताको पक्षमा सरकारलाई सबैको साथ छ। सरकारलाई प्राप्त बलियो समर्थनका लागि म सबैलाई धन्यवाद दिन चाहन्छु।’

कार्यक्रममा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माअ‍ोवादी केन्द्र मिलेर मात्र नेकपाको बहुमत आउन सकेको बताए। यी दुई पार्टीबीच गठबन्धन नभएको भए बहुमत आउन सम्भव नभएको उनले बताए। उनले अ‍ोली र आफूलाई मूर्खको संज्ञा दिँदै भने, ‘हामी दुई मूर्ख मिल्यौं अनि मात्र पार्टी एकता सम्भव भयो।’

प्रकाशित: २ मंसिर २०७६ ०१:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App