१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

संशोधन फिर्ता हुन्न : प्रधानमन्त्री

दाङ- प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्मा दर्ता संविधान संशोधन प्रस्ताव कुनै पनि हालतमा फिर्ता नहुने बताएका छन्। संविधान कार्यान्वयनको सहज वातावरण निर्माणका लागि उक्त प्रस्ताव दर्ता गरिएको भन्दै दाहालले आफू सरकार प्रमुख रहँदासम्म यो प्रस्ताव फिर्ता नहुने बताएका हुन्। उनले असन्तुष्टको माग सम्बोधन गर्न यसमा परिमार्जन गर्न भने सकिने बताए।

'संसद्मा दर्ता संशोधन प्रस्ताव कुनै पनि हालतमा फिर्ता हुन्न, सबै ढुक्क बन्न जरुरी छ,' देउखुरी सिसहनियाँमा बुधबार राप्ती पुल शिलान्यास गर्दै दाहालले भने, 'तर यसलाई परिमार्जन गरेर नमिलेका कुरा थपघट गर्न सकिन्छ।' दलीय सहमति वा संसदीय प्रक्रियाभित्र रहेर संशोधन प्रस्तावलाई परिमार्जन गर्न सकिने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले प्रस्ताव 'हुबहु' पारित हुनुपर्छ भन्नेमा आफू नरहेको बताए। आन्दोलनकै बलमा संशोधन फिर्ता गराउँछु भन्नु गलत रहेको उनले बताए। दाहालले थपे, 'संशोधन प्रस्ताव फिर्ताका लागि अहिले चलेको आन्दोलनले केही मद्दत गर्दैन, सबैले बुझिराख्नु जरुरी छ।'

संशोधन प्रस्तावको आविस्कारक आफू नभई एमाले अध्यक्ष केपी ओली भएको भन्दै दाहालले आन्दोलनको बितन्डा मच्चाउनु विडम्बना भएको बताए। तत्कालीन एमाले र कांग्रेस गठबन्धन सरकारका पालामा ओलीले यो प्रस्ताव ल्याएको पनि उनले बताए। 'अहिले दर्ता प्रस्ताव मेरो दिमागले आविस्कार गरेको होइन, एमाले अध्यक्ष केपी ओलीजीको दिमागको आविस्कार हो,' दाहालले भने 'अहिले उहाँले नै यसको विरोधमा आन्दोलनको बितन्डा मच्चाउनु ठूलो विडम्बना हो।'  दाहालले विस्तारै एमाले गलेर सहमतिमा आउने बताए।

कार्यक्रममा सिँचाइमन्त्री दीपक गिरीले पनि संविधान कार्यान्वयनका लागि शंशोधन प्रस्ताव पारित गर्नुपर्ने बताए। कैलाली र कञ्चनपुर किन छुटे?

पुल शिलान्यास कार्यक्रममा थरुहट आन्दोलनमा रहेका सांसदले संशोधन प्रस्तावमा कैलाली र कञ्चनपुरलाई अलग्गै राखिएकोमा असन्तुष्टि पोखे। फोरम लोकतान्त्रिकका सचेतक एवं थरुहट आन्दोलनका नेता योगेन्द्र चौधरीले प्रधानमन्त्रीलाई सोधे, 'पहाडका जिल्ला टुक्र्याउन सकियो तर कैलाली र कञ्चनपुरलाई ५ नम्बर प्रदेशमा मिलाउन किन सकिएन? यो गलत भयो।' चौधरीले थारुहरूको पहिचानका लागि सही कदम चाल्न पनि प्रधानमन्त्री दाहाललाई आग्रह गरे।

सांसद गंगा चौधरीले गणतन्त्रमा पनि थारुहरूलाई राजनीतिक कमैया बनाउने खोजिएको भन्दै दाहालसमक्ष असन्तुष्टि पोखिन्।

प्रकाशित: २३ मंसिर २०७३ ०२:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App