१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

फस्टाउँदै अकबरे खुर्सानीको व्यापार

सोलुखुम्बु – आर्थिक वर्ष ०७५/७६ देखि सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत ‘अकबरे खुर्सानी’ ब्लक कार्यक्रम सञ्चालनमा आएपछि कृषकले खुर्सानी उत्पादन सुरु गरेका छन्।

आर्थिक वर्षको अन्तिम एक महिनामा कार्यान्वयन गरिएको श्रमदानसहित ३१ लाख ५८ हजारको कार्यक्रमबाट खुर्सानी लगाएका कृषकले छोटो समयमै आम्दानी लिन थालिसकेका छन्।

गाउँपालिकाका वडा नं १ सल्यान, ३, ४ र ५ नेचाका एक सय १० कृषकले दुई सय २० रोपनी क्षेत्रफलमा लगाएको खुर्सानीले उत्पादन दिन थालेपछि स्थानीय बजारमा बिक्री गरी आम्दानी लिन सुरु गरिसकेको अकबरे खुर्सानी उत्पादक ब्लक समितिका अध्यक्ष तिलक राईले बताए। उनले भने, ‘एक महिनाको छोटो अवधिमा इच्छुक कृषकलाई आधारभूत तालिम दिएर करिब दुई लाख ४३ हजार बोट अकबरे खुर्सानी रोपेका हौं। नगदे बाली भएकाले पनि छोटो समयमै कृषकले आम्दानी लिन थालेका छन्।’

दुई हजार रोपनीमा अकबरे खुर्सानी लगाउने ध्येयले काम गरिरहेको समितिले अर्को वर्षसम्ममा गाउँपालिकाका सबै क्षेत्रका कृषकलाई समेट्ने लक्ष्य राखेको छ। बर्सेनि ५० हजार केजी खुर्सानी उत्पादन गर्ने लक्ष्य समितिले लिएको छ। अहिले ७५ प्रतिशत खुर्सानी वडा नं ५ क्षेत्रमा हुँदै आएको छ। त्यस भेगका कृषक खुर्सानी उत्पादनमा सक्रिय देखिएकाले उत्पादनअनुसारको आम्दानी लिइरहेको समितिका अध्यक्ष राईले बताए।

कार्यक्रम सुरु भएको दोस्रो वर्षमै हरेक हप्ता ६ सय देखि सात सय केजीसम्म खुर्सानी स्थानीय बजारमा पठाइने गरेको समितिले जनाएको छ। स्थानीय बजारमै अकबरे खुर्सानीको माग राम्रो भएकाले मौसममा प्रतिकेजी दुई सयदेखि बेमौसममा १५ सय रुपैयाँसम्म बिक्री हुने गरेको छ।
ब्लक कार्यक्रमको आधिकारिक बिक्रेतामार्फत स्थानीय बिहीबारे बजार, सदरमुकामको सल्लेरी बजारलगायत ठाउँमा खुर्सानी बिक्री गरिरहेको छ। ब्लकले हाल आफ्नै लोगो र नामसहितको झोला, बोरा समेत प्रयोगमा ल्याएको छ। खरिदकर्तालाई लोगोअंकित झोलामा खुर्सानी दिएर पठाउँदा उपभोक्तालाई सजिलो हुने र प्रचारमा समेत सहयोग पुग्ने समितिले जनाएको छ।

स्थानीय बिहीबारे बजार, सल्लेरी, काठमाडौंलगायत स्थानमा स्टोर तथा आधिकारिक बिक्री केन्द्र स्थापना गरी सोहीमार्फत बिक्री गर्ने र उत्पादन हुने सिजन सात महिनामात्र भएकाले पुसदेखि वैशाख महिनासम्मका लागि सुकाउने विधि प्रयोग गरी १२ महिना अकबरे खुर्सानी उपलब्ध गराउने तयारी गरिरहेको ब्लक सञ्चालक समितिले जनाएको छ।

कृषकले लगाएको खुर्सानीमा रोगको समस्या देखिएकाले प्राविधिक परामर्श र औषधि उपचारका लागि कृषि प्राविधिको आवश्यकता परेको कृषकको भनाइ छ। ‘गाउँमै बसेर खुर्सानी खेतीमा सहयोग गर्ने प्राविधिकको खाँचो महसुस गरेका छौं,’ सञ्चालक समितिका अध्यक्ष राईले भने, ‘ब्लक कार्यक्रमअन्तर्गत राख्न मिल्ने गरी माग पनि गरेका छौं।’

प्रकाशित: १ मंसिर २०७६ ०३:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App