आलेख

कलाको कल्पना र बाह्य प्रकटीकरण

शनिबार, ३० कार्तिक २०७६, १० : ३८ नागरिक

डा. घनश्याम न्यौपाने ‘परिश्रमी’

यस आलेखको शीर्षकको आरम्भमा प्रयोग भएको कला शब्दमा षष्ठी विभक्ति जोडिएको छ। यसबाट निःसृत हुने अर्थको क्षेत्र र महत्व निकै व्यापक छ। संस्कृतको शब्दकोश हेरियो भने कलाका धेरै अर्थ भेटिन्छन्। सोह्र खण्डको एक अंश, कालको अति सूक्ष्म विशेष अर्थात् पाँच सय ४० निमेष वा पलक, अवयव, शिल्प आदि कला शब्दले दिने केही कोशीय अर्थ हुन्। तर अधिकांशले बुझ्ने गरेको कलाको खास पारिभाषिक अर्थ सौन्दर्य शास्त्रसँग सम्बन्धित छ। यसले मूलतः सौन्दर्यमय प्रस्तुति वा कलात्मक अभिव्यक्तिलाई द्योतन गर्दछ, जुन शिल्प र शैलीसँग जोडिएको हुन्छ।

कलाको सौन्दर्यमय प्रस्तुति वा कलात्मक अभिव्यक्ति प्रतिभाशील व्यक्तिहरूबाट मात्र सम्भव हुन्छ। कलाको क्षेत्र यति व्यापक छ कि यसको मापन तथा विवेचन र विश्लेषण सहज ढंगले हुन सक्दैन। आर्षकलाको कुरा यहाँ नगरौँ, ललित कलाका मात्रै पनि अनेकौँ भेद, प्रभेद छन्। चित्र, मूर्ति, वास्तु, गायन, नृत्य, हास्य, वाचन, वाक् वा सम्भाषण, अभिनय, शिक्षण वा प्रशिक्षण, जादुगरीजस्ता विविध कलाका अतिरिक्त अर्को एउटा विशिष्ट कला छ, जुन लेख्य भाषाका माध्यमबाट अभिव्यक्त हुन्छ। त्यसैले यस्तो कलालाई भाषिक कला पनि भनिन्छ। अझ स्पष्ट रूपमा भन्दा भाषिक कला भनेको साहित्य हो। अरिस्टोटलले आफ्नो काव्यशास्त्रमा साहित्यलाई यसरी नै भाषिक कलाका रूपमा परिभाषित गरेका छन्। यो आलेख समग्र कलाको व्यापकतातिर उन्मुख नभएर मूलतः साहित्यसँग सम्बन्धित वृत्तमै सङ्केन्द्रित हुनेछ।

कुनै पनि कलाको सिर्जनाको आधारभूमि कल्पना हो। कल्पनाले नै वस्तुको सौन्दर्य प्रसाधनमा प्रमुख भूमिका निर्वाह गरेको हुन्छ। यो प्रतिभाशील व्यक्तिभित्रको क्षमता पनि हो। वास्तवमा प्रतिभाशील व्यक्तिले आफ्नो कलामा दिने जुन पृथक्पन हुन्छ, त्यो कल्पनाको माध्यमबाट जन्मिएको हुन्छ। कलालाई प्रकृतिको अनुकृति भनेका छन्, पाश्चात्य जगत्का महान् आचार्य अरिस्टोटलले। तर अनुकरण सपाट मात्र भयो भने त्यसले कलात्मक भव्यता पाउँदैन भन्ने कुरा पनि उनले गरेका छन्। अरिस्टोटल भव्यतर अनुकरणका पक्षधर देखिन्छन्। भव्यतर अनुकरण भनेको कुनै पनि वस्तुको चित्रण गर्दा त्यसका सुन्दर पक्षको मात्रै होइन, कुरूप पक्ष वा कमी–कमजोरीहरूको पनि ढाकछोप गरेर सौन्दर्यमूलक ढङ्गले चित्रण गर्नु हो। यसरी चित्रण गर्नका लागि कलाकार वा स्रष्टामा कल्पना शक्ति आवश्यक पर्दछ। कवि–कलाकारले कल्पनाका माध्यमबाट उजाड भूमिलाई हरियो देखाएका हुन्छन्, थोत्रा झुपडीलाई भव्य दरबारभन्दा आकर्षक बनाएका हुन्छन्, भिखारीलाई भगवान्सँग जोडेका हुन्छन्, मूर्खभित्रको विद्वता र विद्वान्भित्रको मूर्खताको पहिचानसहित चित्रण गरेका हुन्छन्। यस्तो खुबीबाट नै भव्यतर अनुकरण हुन सक्दछ। यसरी बुझ्दा अरिस्टोटलको भव्यतर अनुकरणको अवधारणालाई कल्पनासँग तुलना गर्न सकिन्छ। कल्पनाविना भव्यतर अनुकरण वास्तवमा असम्भव छ।

कवि–कलाकारभित्र रहेको कल्पना सबै बाहिर प्रकट हुन सक्दैन। उनीहरूले गरेको आत्मिक कल्पनाको सौन्दर्य केही प्रतिशत मात्र अभिव्यक्त हुन्छ। कवि–कलाकारले कविताका लागि कल्पना गरेका विम्ब, प्रतीक, अलङ्कार, आख्यानका लागि सोचेका कथानक, परिवेश, चरित्र, चित्र, मूर्ति आदिका लागि कल्पना गरेका आकृति, रङ आदि सिर्जना वा निर्माणका क्रममा जस्ताको त्यस्तै आउन सक्दैनन्।

कल्पना सिद्धान्तको कुरा गर्दा पश्चिमी विद्वान् स्यामुअल टेलर कलरिजको नाम आदरपूर्वक लिनैपर्छ। उनी कल्पना सिद्धान्तका प्रवर्तक मानिन्छन्। कलरिजले कवितामा कल्पनालाई निकै महत्व दिएका छन् र यसबारे सविस्तार आफ्ना विचार प्रकट गरेका छन्। उनले कल्पनालाई समन्वयकारी, संश्लेषणकारी र सन्तुलनकारी आत्मिक उदात्ततर शक्तिका रूपमा चर्चा गरेका छन्। उनका अनुसार कल्पना प्राथमिक र गौण गरी दुई प्रकारका हुन्छन्। प्राथमिक कल्पना पहिलो तहको कल्पना हो। प्राथमिक कल्पना अंग्रेजीको प्राइमरी इम्यानिजेसनको पर्यायवाची शब्द हो। यसलाई भारतीय तथा नेपाली विद्वान्मध्ये कसैले आद्य कल्पना भनेका छन् भने कसैले मूल कल्पना, कसैले मुख्य कल्पना, कसैले मौलिक कल्पना त कसैले प्रधान कल्पना पनि भनेका छन्। कलरिज भन्छन्– प्राथमिक कल्पना मानवज्ञानको जीवन्त शक्ति हो, जुन प्रमुख माध्यमका रूपमा सबै मानिसमा रहेको हुन्छ। यसले सीमाबद्ध मनमा अनन्त तत्वको आभास गराउँछ। उनका अनुसार प्राथमिक कल्पना ईश्वरीय वा पारमात्मिक हुन्छ। यस आधारमा के स्पष्ट हुन्छ भने कलरिजले मानेको प्राथमिक कल्पना रहस्यात्मक छ। प्राथमिक कल्पना स्रष्टाभित्रको त्यस्तो प्रतिभा आन्तरिक क्षमता हो, जुन उसले प्रकृति वा ईश्वरबाट प्राप्त गरेको हुन्छ भन्ने प्रत्ययवादी धारणा कलरिजमा पाइन्छ। उनले मानवीय ज्ञानको सम्पूर्ण मूल हेतु यसलाई नै मानेका छन्। तर सबै मानिसमा समान रूपमा रहने भएकाले प्राथमिक कल्पनाले मात्र कलासिर्जनामा भूमिका खेल्न सक्दैन भन्ने पनि उनले स्पष्ट पारेका छन्। वास्तवमा कल्पना सबै मानिसले गर्दछन्। कल्पना गरेको विषयलाई कलामा रूपायित गर्न सक्ने क्षमता सबैमा हुँदैन। कवि–कलाकारमा मात्र यस्तो क्षमता अन्तर्निहित हुन्छ। यस सन्दर्भमा कलरिजले गौण कल्पनाको अवधारणा अगाडि सारेका छन्।

के हो त कलरिजले भनेको गौण कल्पना ? यसको चर्चा गर्नु आवश्यक छ। गौण कल्पना दोस्रो स्तरमा रहेर काम गर्ने कल्पना हो। यो अंग्रेजीको सेकेन्डरी इम्यानिजेसनको पर्यायवाची शब्द हो। यसलाई भारतीय तथा नेपाली विद्वान्हरूमध्ये कसैले उत्तरजात कल्पना भनेका छन् भने कसैले प्रतिनिधि कल्पना, कसैले अनुवर्ती कल्पना, कसैले आनुषङ्गिक कल्पना त कसैले विशिष्ट कल्पना पनि भनेका छन्। गौण कल्पना प्राथमिक कल्पनाजस्तो ईश्वरीय वा पारमात्मिक नभएर मानवीय वा वैयक्तिक हुन्छ। कलरिजले भनेको कवि–कलाकारमा हुने कल्पना यही गौण कल्पना हो। यो कवि–कलाकार बाहेक अन्य व्यक्तिविशेषमा हुँदैन। यसको मतलब कवि–कलाकारहरूमा प्राथमिक कल्पना नहुन पनि सक्छ भन्ने किमार्थ होइन। गौण कल्पनालाई प्राथमिक कल्पनाको सजग मानवीय प्रयोग मानिन्छ। त्यसैले यो प्राथमिक कल्पनाको प्रतिनिधि हो, प्रतिध्वनि हो। प्राथमिक कल्पनाको प्रभावमा नै गौण कल्पना सक्रिय हुन्छ। प्राथमिक कल्पनाको भरमा मात्रै गौण कल्पनाको अनुपस्थितिमा कुनै पनि व्यक्ति स्रष्टा वा कलाकार बन्न सक्दैन। यो मानवीय सजग इच्छाशक्तिमा निर्भर हुन्छ। कलरिजले यसलाई कलाविधायिनी शक्ति मानेका छन्। प्राथमिक कल्पनाको चिन्तनलाई गौण कल्पनाले मात्र चित्रण गर्ने सामथ्र्य राख्दछ। विशिष्ट विम्ब निर्माणको क्षमता पनि यही कल्पनामा मात्र हुन्छ। यसरी तुलना गरेर हेर्दा पूर्वीय सिद्धान्त अन्तर्गतको प्रतिभा र अरिस्टोटलको अनुकरण सिद्धान्तसँग यसको निकटतम सम्बन्ध देखिन्छ। कलरिजको कल्पना सिद्धान्तमा रम्य कल्पनाको पनि चर्चा छ। यो कलरिजको नितान्त मौलिक चिन्तन भने होइन। यस विषयमा उनको धारणा मात्र मौलिक मान्न सकिन्छ। यहाँ कल्पनाको चर्चाको प्रसङ्गमा रम्य कल्पनाको उल्लेख गर्नु युक्तिसङ्गत हुन्छ। अंग्रेजीमा रम्य कल्पनालाई फेन्सी भनिन्छ। विलियम वर्ड्सवर्थ, विलियम टेलर, दार्शनिक हब्स, एडिसन आदिका विचारहरू यसका पक्ष र विपक्षमा बहसका रूपमा आएको पाइन्छ। कल्पना र रम्य कल्पनालाई समानार्थक र भिन्नार्थक भेदका रूपमा वर्गीकरण गरेर अध्ययन गर्ने परम्परा अङ्ग्रेजी साहित्यमा इसाको सत्रौँ शताब्दीदेखि चल्दै आएको हो। कसैले रम्य कल्पनालाई बढी महत्व दिएका छन् भने कसैले कल्पनालाई।  वास्तवमा रम्य कल्पना कलालाई सुन्दर देखाउन प्रगोग गरिने एक प्रकारको बाह्य आभूषण वा सजावट हो। यसलाई शब्दालङ्कार जस्तै मान्न सकिन्छ। यो कल्पनाजस्तै भावुकताबाट सञ्चालित नभएर बुद्धितत्वबाट परिचालित हुन्छ। यसर्थ जबसम्म कल्पनाको उष्णता हुँदैन, तबसम्म रम्य कल्पना उत्कृष्ट सिर्जनामा सहकारी सिद्ध हुन सक्दैन। यदाकदा कुनै कुनै युवतीहरूको सौन्दर्य प्रसाधन अस्वाभाविक देखिएजस्तै  रम्य कल्पना पनि कलामा भद्दा देखिन सक्छ। यसलाई सुन्दरताको नाममा लतपतिएको ओठको लाली वा आँखाको गाजलसँग तुलना गरेर हेर्न सकिन्छ। त्यसैले कलरिजले यसलाई नेतिमूलक अर्हता भनेका छन्। यस भनाइको तात्पर्य हो– मानवीय नकारात्मक क्षमता।

यथार्थमा कला कल्पनाको बाह्य प्रकटीकरण हो। यसलाई अन्तर्मनको कलाको पुनर्सिजन पनि मान्न सकिन्छ। बाह्य प्रकटीकरणको चर्चा गर्दा आत्मवादी दार्शनिक र शैली वैज्ञानिक सिग्नर बेनेडेट्टो क्रोचेसम्म पुग्नुपर्ने हुन्छ। उनको अभिव्यञ्जनावादी चिन्तनमा बाह्य प्रकटीकरणको कुरा आउँछ। क्रोचेको अभिव्यञ्जनावादको मूल आधार सहजानुभूति हो। उनले यसलाई कलासम्बन्धी ज्ञानका रूपमा लिएका छन्। सहजानुभूति कल्पनाका माध्यमबाट उद्भूत हुन्छ। क्रोचेका अनुसार कलाका मूल र गौण गरी दुई प्रकार छन्। मूल कला आत्मिक हुन्छ। कवि–कलाकारले मनभित्र कल्पना गरेको तर बाहिर प्रकट नभएको कला नै क्रोचेले भनेको मूल कला हो। उनी यसलाई नै सर्वाधिक महत्व दिन्छन् र हामीले मान्दै आएका प्रकाशित वा प्रस्तुत भएका कविता, गीत, नृत्य, गायन, चित्र, मूर्ति आदिलाई गौण कला मान्दछन्। क्रोचेले महत्व दिएको मूल कला कवि–कलाकारभित्र गर्भमा रहेको कल्पना हो, जुन बाहिर अभिव्यक्त भएको हुँदैन। जब आत्मिक कलाको कल्पना लिपिबद्ध भएर वा ध्वनि, प्रदर्शन, रूपाकृति आदिमा अभिव्यक्त हुन्छ त्यो बाह्य प्रकटीकरण हो। हामीले मान्ने गरेको मूल कला यही बाह्य प्रकटीकरण हो। कविले कविता लेख्नुपूर्व नै उसको अन्तर्मनमा उसले लेख्न चाहेको पूर्ण कविता तयार भइसकेको हुन्छ। त्यसैलाई उसले कलमको सहाराले कागजमा लिपिबद्ध गर्दछ। चित्रकारका मनमा सम्पूर्ण चित्रको झलक उत्पन्न हुन्छ, त्यही झलकलाई उसले क्यानभासमा उतार्छ र रङ भर्छ। मूर्तिकारले आफ्नो मनमा निर्माण भइसकेको भव्य मूर्तिलाई छिनो हतौडाजस्ता उपकरणका सहाराले उत्कीर्ण गर्छ। यसरी नै  गायक, नर्तक, अभिनयकर्ताका मनमा पनि प्रस्तुति पूर्व नै त्यसको पूर्णताभास हुन्छ र मञ्चमा उपस्थित हुँदा त्यही पूर्वाभासको आधारमा आफ्नो कला प्रस्तुत गरेका हुन्छन्। वास्तवमा कवि–कलाकारभित्र रहेको कल्पना सबै बाहिर प्रकट हुन सक्दैन। उनीहरूले गरेको आत्मिक कल्पनाको सौन्दर्य केही प्रतिशत मात्र अभिव्यक्त हुन्छ। कवि–कलाकारले कविताका लागि कल्पना गरेका विम्ब, प्रतीक, अलङ्कार, आख्यानका लागि सोचेका कथानक, परिवेश, चरित्र, चित्र, मूर्ति आदिका लागि कल्पना गरेका आकृति, रङ आदि सिर्जना वा निर्माणका क्रममा जस्ताको त्यस्तै आउन सक्दैनन्। कवि–कलाकारहरूले जेजस्तो भव्य कल्पना गरेका हुन्छन् तीमध्ये प्रकट गर्ने क्रममा बिर्सेर वा अन्य कारणले धेरै छुटेका हुन्छन्। त्यसैले गौण कला अपूर्ण हुन्छ भन्ने क्रोचेको मान्यता केही हदसम्म ठीक पनि लाग्छ। तर आत्मिक कलाको उपभोग स्वयम् कल्पनाकारले मात्रै क्षणिक रूपमा गरेको हुन्छ, यो उपभोक्ताहरू समक्ष पुग्न पाएको हुँदैन। यसका साथै कवि–कलाकारका मनमा सिर्जनामा लीन रहेकै बेलामा नवीन कल्पना उद्भूत हुन पनि सक्छ, सुरुमा गरेको कल्पनामा परिवर्तन हुन पनि सक्छ। यसर्थ कला सिर्जनामा आत्मिक अर्थात् मनभित्र रहेको अप्रस्तुत कलाको आफ्नै औचित्य र अस्तित्व हुँदाहुँदै पनि पठन, श्रवण, अवलोकन आदिका दृष्टिले यसको जुन महत्व र मूल्य छ, त्यो बाह्य प्रकटीकरणमा मात्र सम्भव छ। कवि–कलाकारका मनोजगत्को सौन्दर्यमयी कल्पना यदि बाहिर प्रकटित हुँदैन भने त्यसको अर्थ रहँदैन।








यसमा तपाईको मत

अन्य समाचार

टिकटकले मोटा र अशक्त प्रयोगकर्ताहरूको भिडियोलाई लुकाउने गरेको भेटियो !

टिकटकले मोटा र अशक्त प्रयोगकर्ताहरूको भिडियोलाई लुकाउने गरेको भेटियो !

टिकटकले मोटा र अशक्त प्रयोगकर्ताको भिडियो लुकाउने तरिका दीर्घकालीन योजना नभएको दाबी गरेको छ ...

म्याथको हिसाब गर्न क्यामराले फोटो खिचे पुग्ने !

म्याथको हिसाब गर्न क्यामराले फोटो खिचे पुग्ने !

यस एपले प्राथमिक तह, माध्यमिक र उच्च माध्यमिक तहका हिसाबहरूलाई अटोमेटिक समाधान गर्न सक्नेछ ...

सेञ्चुरी बैंकको साक्षरता अभियान

सेञ्चुरी बैंकको साक्षरता अभियान

सेञ्चुरी कमर्सियल बैंकको चरीकोट शाखाले दोलखा चेम्बर अफ कमर्ससँगको आयोजनामा एकदिने वित्तीय साक्षरता आधारभूत कर्जा, लेखा तथा करसम्बन्धी कार्यक्रम सञ्चालन...

रिद्धी सिद्धी सिमेन्ट–दशौँ एफक्यान एक्सिलेन्स अवार्डको तयारी पूरा

रिद्धी सिद्धी सिमेन्ट–दशौँ एफक्यान एक्सिलेन्स अवार्डको तयारी पूरा

नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न ३६ विधामा रिद्धी सिद्धी सिमेन्ट–१० औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण गर्ने भएको छ । ...

ओपोले प्राविधिक भिजन प्रस्तुत गर्ने

ओपोले प्राविधिक भिजन प्रस्तुत गर्ने

ओपोले डिसेम्बर १०का दिन चीनको शन-छानामा पहिलो ओपो ईन्नोडेको आयोजना गर्ने घोषणा गरेको छ। ...

सनफ्लोको उपहार हस्तान्तरण

सनफ्लोको उपहार हस्तान्तरण

सनफ्लो ब्रान्ड तेलको उपहार योजनाको दोस्रो लक्की ड्र कार्यक्रमका विजेतालाई हिराको हार र हिराका अन्य उपहार हस्तान्तरण गरिएको उत्पादत कम्पनी...

बयलबासमा प्रभु बैंक

बयलबासमा प्रभु बैंक

प्रभु बैंकले सर्लाहीको ईश्वरपुर नगरपालिका, वडा नम्बर ६, बयलबासमा शाखा विस्तार गरेको छ । ...

नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीच सम्झौता

नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीच सम्झौता

नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीच कर्णाली र सुदूर पश्चिम प्रदेशमा सूचना महामार्ग निर्माण गर्न समझदारी भएको छ । ...

Ncell Footer Ad