१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

यात्राको कलात्मक अनुभूति

प्रभाती किरण

यात्रा संस्मरणात्मक निबन्ध अर्थात् नियात्रा, साहित्यको लोकप्रिय विधा हो। आफूले नदेखेको ठाउँको कला, संस्कृति तथा जीवनपद्धतिका बारेमा जान्न पाइने अनि निबन्धकारको अनुभूति बुझ्न सकिने हुँदा यात्रा संस्मरणप्रति पाठकको रुचि देखिन्छ। नेपालीमा जङ्गबहादुरको बेलायत यात्राबाट आरम्भ भएको यात्रा संस्मरण सालसाल अघिसम्म तीर्थाटनको वर्णनमा केन्द्रित थियो। राणाशासनको कठोरताका कारण जनतामा वितृष्णा र निराशा फैलिएको थियो। मान्छेका स्वतन्त्रता तथा मनोरञ्जनका अन्य उपायहरू नभएका कारण ऊ धार्मिक यात्रामा रमाउँथ्यो। धर्म, दान जस्ता कुराहरूलाई महत्व दिइने तत्कालीन समयको यात्रा लेखनमा यस्ते तीर्थयात्रीहरूको विशेष भूमिका रह्यो। यसका अतिरिक्त विदेश यात्रा पनि यस चरणमा आए। युरोप यात्रा, वर्माको सम्झना जस्ता कृतिहरू विदेश यात्रासँग सम्बन्धित छन्।

यात्रा संस्मरणको इतिहासमा आधुनिकताको पदचापसहित लैनसिङ वाङदेलको आगमनपछि ताना शर्मा, रमेश विकल, घनश्याम राजकर्णिकार, मदनमणि दीक्षित, मन्जुल, निर्मोही व्यास भीष्म उप्रेती, डोरबहादुर विष्ट, प्रतीक ढकाल देवेन्द्र भट्टराई, महेशविक्रम शाह लगायतका स्रष्टाहरू विदेश भ्रमणलाई विषय बनाएर लेखनमा क्रियाशील रहे।

नियात्रामा स्वदेश भ्रमणको उल्लेख्य जानकारी दिन सकिन्छ भन्ने मान्यताका साथ स्वदेशकै विभिन्न पर्यटकीय क्षेत्रहरूको भ्रमण गरेर यात्रा संस्मरण लेख्ने परम्पराको विकास भयो। यो क्रममा अहिले सयौँ स्रष्टा सक्रिय छन्। यही सिलसिलामा राजेन्द्रमान डङ्गोलको ‘यात्राका पाइला’ कृति प्रकाशन भएको छ।

नियात्रा अर्थात् यात्रा संस्मरण हेर्दा जति सजिलो देखिन्छ, त्यस्तो हुँदैन। यात्राको वर्णनमा केन्द्रित हुने हो भने निबन्ध छुट्ने अनि निबन्धमा केन्द्रित हुने हो भने यात्रा छुट्ने हुँदा यी दुवैलाई साथै डो-याउन कठिन हुन्छ। लेखकले आपूmसँगसँगै पाठकलाई पनि हिँडाउन सक्नुपर्छ। पात्रलाई आपूmसँगै डो-याउन सक्नु सर्जकको मात्र नभएर नियात्राको पनि विशेषता हुनुपर्छ। यसमा राजेन्द्रमान सफल भएको देखिन्छ।

आज मानिस देश छोडेर विदेश तथा पृथ्वी छोडेर अन्तरिक्षको यात्रा गर्न चाहन्छ, तर ऊ आफ्नै देशका रमणीय प्राकृतिक स्थानहरू पुगेको हुँदैन। हामी पर्यटनलाई राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड मान्छौँ, हाम्रै देशका पर्यटकीय स्थानहरूको बारेमा अनभिज्ञ छौँ। देश भ्रमण वर्षको सँघारमा छ, तर आन्तरिक पर्यटन प्रवद्र्धनमा राष्ट्रिय नीति ठोस हुन सकेको छैन। देशका विभिन्न स्थानहरूमा नयाँ–नयाँ पर्यटकीय गन्तव्य पहिचान गर्ने, त्यहाँको बारेमा आवश्यक सूचना सङ्कलन गर्ने, त्यसको व्यवस्थापन गर्ने र प्रचार गर्ने काममा राज्यले करोडौँ लगानी गर्नुपर्ने हुन्छ। यस्तोमा राजेन्द्रमान डङ्गोल देशका विभिन्न रमणीय पर्यटकीय स्थलहरूको भ्रमण गरेर त्यहाँको भौगोलिक, प्राकृतिक, सांस्कृतिक महत्व झल्काउँदै सूक्ष्म अनुभूतिको प्रस्तुतिका साथ लेखिएका नियात्राहरूको सङ्ग्रह लिएर आएका छन्। यो पर्यटन प्रवद्र्धनमा समेत महत्वपूर्ण उपलब्धि हुनसक्छ।

यो पुस्तकमा दशवटा संस्मरण समेटिएका छन्। जसमा लाङ्टाङ, कञ्चनजङ्घा, अन्नपूर्ण, अपि, सगरमाथा, थोरङ्ला लगायतका हिमाली क्षेत्रको यात्राका अतिरिक्त अन्य पर्यटकीय क्षेत्रको वर्णन पाउन सकिन्छ। विदेशी पर्यटकहरूसँगको यात्रा, स्वदेशी पात्रहरू, यात्राका क्रममा देखिएका मानिसहरू, उनीहरूको आतिथ्य सत्कार, भ्रमण गन्तव्यको भौगोलिक, प्राकृतिक, सांस्कृतिक पक्ष तथा त्यहाँका मानिसको जीवनपद्धति सूक्ष्म ढङ्गले उतारिएका यी निबन्धहरू कलाका दृष्टिले पनि उच्च छन्।

प्रस्तुत निबन्ध कुनै साह्रै लामा त कुनै छोटा र कुनै मध्यम खालका छन्। लामा निबन्धहरूमा उपशीर्षक राखेर पाठकलाई सजिलो बनाइएको छ। कलात्मक भाषा, ठाउँठाउँमा कविताका सुन्दर पङ्क्ति, स्थानीय तथा पर्यटकहरूसँगको आकर्षक संवादले निबन्ध सुन्दर बनेका छन्।

प्रकाशित: ३० कार्तिक २०७६ ०२:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App