१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

गोरखाका सरकारी कर्मचारीसँग सेवाग्राही असन्तुष्ट

गोरखा- गोरखाका सरकारी अड्डाको सेवा प्रवाह र कर्मचारीको काम प्रति सेवाग्राही सन्तुष्ट नरहेको अध्ययनका क्रममा देखिएको छ। राष्ट्रिय सतर्कता केन्द्रले यहाँका १७ वटा सेवा प्रदायक कार्यालयमा सेवा लिन आएका सेवाग्राहीसँग गरेको सर्वेक्षणमा उनीहरुले यस्तो बताएका हुन् ।

‘१८ वटा कार्यालयमा अनुगमन गरेका थियौँ, १७ वटामा सेवाग्राहीसँग भेटेर जानकारी लियौँ’ केन्द्रका उप सचिव श्रद्धा रिजालले भनिन्। समयमा काम नभएको, दस्तुर बढी भएको, सेवा गुणस्तरीय नभएको, झन्झटीलाे सेवा, कर्मचारीको व्यवहार राम्रो नभएकोलगाएतका गुनासो गरेका थिए। एक सय ५० जना सेवाग्राहीलाई कर्मचारीको व्यवहार बारेमा सोध्दा २८ प्रतिशतले राम्रो नभएको बताएका थिए भने ३९ प्रतिशतले भन्न चाहेनन्।

‘१५ प्रतिशत कर्मचारीले समयमै काम नगरेको, कार्यालयमा कर्मचारी नहुँदा काम नभएको, बाहिरी व्यक्तीको सहयोग लिनु परेको गुनासो ३९ प्रतिशतले गरे’ उप सचिव रिजालले प्रतिवेदन प्रस्तुत गर्दै भनिन्।

शुक्रबार जिल्ला समन्वय समितिको हलमा जिल्लाका सरकारी अड्डा प्रमुखहरुको उपस्थितीमा उक्त विवरण सार्वजनिक गरिएको हो। सरकारी कार्यालयमा काम गर्दा लाग्ने समय र दस्तुरको जानकारीका बारेमा अधिकाशंलाई थाहा नभएको बताए। ‘कार्यालयले दिने सेवा र नागरिक बडापत्रको बारेमा ७३ प्रतिशत जानकारी रहेनछन्’ उप सचिव रिजालले भनिन् ‘अझै हामीले सुचनाको हक बारे जानकारी गराउन सकेका रहेनछौँ।’

बडापत्र देखिने ठाउँमा नभएको, अद्यावदी नगरिएको, सार्वजनिक सुनुवाई कार्यालयहरुले नगरेको, बिकास निर्माणको काममा सुचना पाटी नराखेको जस्ता गुनासो सर्वसाधारणको छ। कार्यालयमा कर्मचारीलाई धेरै समय कुर्न परेको, प्रतिक्षालय, शौचालय, पिउने पानी व्यवस्थित नभएको, धेरै भिड हुने कार्यालयमा टोकन प्रणाली लागु नहुँदा समस्या भएको सेवाग्राहीले बताएका छन्। कार्यक्रममा सतर्कता केन्द्रका सह सचिव ज्ञानराज सुवेदीले केन्द्रको कामका बारेमा र शाखा अधिकृत भोला खड्काले सम्पति विवरण र आयको अनुगमनकाबारे कार्यपत्र प्रस्तुत गरेका थिए।

सेवाग्राहीले दिएको सुझाब र गुनासो संबोधन गर्ने गरी सेवा प्रवाहमा ध्यान दिन गोरखाका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले अनुरोध गरे। जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङले भ्रष्टाचार नियन्त्रण गर्न माथिल्लो तहदेखि तल्लो तहसम्म सबै लाग्नुपर्ने र कडा कारवाहीको व्यवस्था हुनपर्ने बताए। सतर्कता केन्द्रका सचिव ऋषिराम शर्माले शुसासन प्रवद्र्धनका लागि निरोधात्मक र प्रवद्र्धनात्मक कार्यक्रम केन्द्रले गरिरहेको बताए।

राष्ट्रिय सतर्कता केन्द्र र जिल्ला प्रशासन कार्यालयको आयोजनामा भ्रष्टाचार नियन्त्रण हाम्रो साझा दायित्व विषयक अन्तक्रिया कार्यक्रम भएको हो। कार्यक्रममा जनप्रतिनीधी, राजनीतिक दलका नेता, नागरिक समाजका अगुवाहरुको उपस्थिती रहेको थियो।


 

प्रकाशित: २९ कार्तिक २०७६ ०८:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App