१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

मोदी–नक्साभित्रको कुटिलता

देशको पश्चिमोत्तर सीमा अतिक्रमण यतिबेला स्वाभाविक रूपमा नेपाली जनताको चासोको विषय बनेको छ। सिमाना बारम्बार मिचिएको, हाम्रो भूमिमा छिमेकीले मनपरी गरिरहेको, विभिन्न समयमा बनेका सरकार प्रायः निरीह हुने गरेको...यी कुनै नौला कुरा होइनन्। अझै नागिरिकता लिने उमेर नपुगेका केटाकेटीदेखि १०० वर्ष हाराहारी पुगिसकेका नेपालीले यो कुरा बाल्यकालदेखि सुन्दै आएका हुन्। तर भारतले ठ्याक्कै यति नै बेला किन त्यो नक्सा प्रकाशन गरेको होला ? योचाहिँ केवल संयोग हो कि सुनियोजित ? परराष्ट्र मन्त्रालयका जागिरे, परराष्ट्रविद् र कूटनीतिज्ञहरूलाई बढी थाहा हुनुपर्ने कुरा हो यो।

विदेश मामिलाबारे अध्ययन गर्ने अरू कुनै सूचना केन्द्र छन् कि छैनन्, यो देशमा ? थाहा छैन। विश्वविद्यालयहरूका तत्सम्बन्धी कुनै विभाग छन् कि छैनन् र छन् भने पनि तिनमा गम्भीर अध्येता छन् कि छैनन् ? त्यो पनि हामी सामान्य नागरिकलाई थाहा छैन। तर हाम्रो मनमा स्वाभाविक रूपमा यस्ता विभिन्न प्रश्न उब्जिन्छन्। र, ती प्रश्नसँगै हाम्रा अनुमान पनि अनेक हुन्छन्।

भारतले छापेको नयाँ नक्सा नेपालको राष्ट्रिय सुरक्षामा अझै आउन सक्ने चुनौतीको लामै शृंखलाको सुरुआत मात्रै पनि हुन सक्छ। सतर्क रहौं।

उच्चस्तरीय भ्रमणका बेला औपचारिक भाषणदेखि प्राथमिक विद्यालयमा पढ्ने नानीहरूका निबन्धमा सम्म पर्ने गर्छ– दुई देशबीच मैत्रीका सुन्दर शब्दचित्र। यस्तो मैत्री यथार्थमै पनि सत्य हुनुपर्ने हो। नेपाल र भारतको सम्बन्ध स्वाभाविक, सहज र सौहार्द हुनुपर्ने हो। कुनै किसिमको थिचोमिचो र जबर्जस्ती नहुनुपर्ने हो। तर संसारभरि नै ठूलो र सानो छिमेकी देशबीच हुने गरेका स्वाभाविक जटिलताभन्दा पनि धेरै नै बढी असहजता नेपाल–भारतबीच देखिन्छ। भारतको मिचाहा प्रवृत्ति सरकारीस्तरमा मात्र होइन, कुनै बेला त भारतका तथाकथित बौद्धिक वर्गका अभिव्यक्तिमा समेत प्रकट हुन्छ। भारतको आन्तरिक राजनीतिका कारण त्यहाँका पाटीहरूबीच दोषारोपण क्रममा कुनै बेला एउटा त कुनै बेला अर्को कुनै पार्टीले नेपालका पक्षमा बोलेजस्तो देखिए तापनि सम्झनलायक एक–दुई भारतीय नेताबाहेक अधिकतर सत्ताधारीमा मिचाहा प्रवृत्ति नै देखिँदै आएको छ।

मोदी र उनको सरकार पनि अरूभन्दा फरक हुने कुरै भएन। पहिलोचोटि प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै भने उनले नेपालप्रति देखाएको मैत्रीभावले नेपालीको मन जितेको थियो। उनीप्रति नेपालीले भिन्दै अपेक्षा गरेका थिए। तर नेपाल आएका बेला बोलेका उनका शब्द बतासमा हराउन पनि नपाउँदै जुन नाकाबन्दी भयो, र त्यसका निम्ति जुन निहँु पारियो, जसरी व्याख्या गरियो, त्यसले  नेपालीको मनमा उनी आफ्ना पूर्ववर्तीहरूभन्दा अझै खराब देखिए। फलतः नेपाल–भारतबीच स्वाभाविक रूपमा हुनुपर्ने ‘अग्र्यानिक’ मैत्री कता पुग्यो कता ! मोदीकै भारतमा जस्तै, नेपालमा पनि जनताबीच अनेक असन्तुष्टि छन्। विभिन्न ऐतिहासिक घाउका खत हुन्, ती। तिनलाई उपयोग गरेर यो सानो देशलाई  आफ्नो कब्जामा राख्ने उनको दाउ त्यसबेला असफल मात्रै भएन, भावनात्मक तथा राजनीतिक दुवै हिसाबले नेपाल भारतबाट झनै टाढियो। दक्षिण एसियामा आफ्नो हाकिमी हैसियत झन्झन् दह्रो बनाउने उनको बृहत् रणनीतिभित्रको त्यो एउटा सानो कडी त्यत्तिकै चुँडियो।

अहिलेसम्मको छाँटकाँट हेर्दा राष्ट्रिय स्वार्थका मामिलामा सत्तासीन पार्टी, प्रतिपक्ष तथा वर्तमान राजनीतिक प्रणालीकै विपक्षमा रहेका नेपालीसमेत सबै एकजुट देखिएका छन्। भारतलाई त्यो जमिन निल्न सजिलो छैन।

त्यो पराजय बोधले उनलाई पक्कै पिरोलेको हुनुपर्छ। त्यसपछि चीनको बढ्दो प्रभाव कम गर्नु मोदीको भारतका निम्ति पहिलेभन्दा बढी आवश्यक भयो होला। त्यो गल्तीबाट चेतेर सम्भवतः उनले अझै कुटिल चाल चाल्न खोजे होलान्। त्यही चालको एउटा महŒवपूर्ण कडी हुन सक्छ– यो नक्सा प्रकाशन। अर्थात् यो कुनै संयोग मात्र नभई, मोदीका प्रभुत्ववादी सपनाका कुटिल चालहरूमध्येको एउटा सुनियोजित कदम हुन सक्छ। र, यसपछि अझै अरू घटना हुने सम्भावना छ।

यस्तो नक्साबाट भारतले के आशा गरेको होला त ?
एक– अरू केही नभए पनि नेपालको प्रतिक्रिया कस्तो हुन्छ भनी ‘प्रोब’ गर्न त यो काम लाग्ने नै भयो।  यसै उसै दशकौंदेखि मनपरी भोग गर्दै आएको जमिन थियो। ‘नेपालीले जतिसुकै कचकच गरे पनि गम्भीरतापूर्वक अन्तर्राष्ट्रियकरण गरिएको मुद्दा कहिल्यै बनेको छैन। नेपालीले लडाइँ लडेर त्यो फिर्ता लिन सक्दैनन्। कस्तो प्रतिक्रिया आउँदो रहेछ, हेरौं न त !’ भन्ने उसको मनसाय हुन सक्छ।

दुई– यति मात्रै निश्चय नै होइन। औपचारिक रूपमै त्यो आफ्नै हो भनी नक्सा प्रकाशन गर्नु भनेको भोगचलन मात्रै गरेको होइन, सधैंका निम्ति आफ्नो बनाउने नै सुर हो। उसका हिसाबले त त्यो भूमि सिंगै आफ्नै बनाइसक्यो।

तीन– उसको अर्को कुटिल चाल पनि हुन सक्छ– त्यसरी औपचारिक रूपमै जमिन हडपेर नेपालीको राष्ट्रिय भावनालाई जानीजानी उत्तेजित पार्दा सिर्जना हुने अस्थिरताबाट फाइदा लिने। उसले आशा गरेको हुन सक्छ– सत्ताबाहिर रहेका दायाँबायाँ दुवैतिरका अतिवादीहरू परिचालन भए र उनीहरूको सडक आकर्षण बढ्यो भने नेपालमा अस्थिरताको नयाँ लहर सिर्जना होला र नेपालको वर्तमान सत्ताभित्र अनेक समस्या आइरहेका बेला त्यसबाट फाइदा लिन सकिएला, अर्को खेल खेल्ने ठाउँ पाइएला।

चार– चीनसँग नेपाल झन् नजिकिएको जस्तो भारतलाई लाग्नु स्वाभाविक हो।  तर चीन आफ्नो व्यापारिक तथा अन्य स्वार्थका कारण नेपाल–भारत सम्बन्ध बिग्रेका बेला दृढतापूर्वक नेपालका पक्षमा नउभिएला र चीनप्रतिको सद्भाव नेपालमा स्वतः कम होला भन्ने पनि उसलाई लागेको होला।

हो, यी केवल अनुमानका कुरा हुन्। तर यी अनुमान सही नै रहेछन् भनेचाहिँ भारत फेरि चुक्यो। अहिलेसम्मको छाँटकाँट हेर्दा राष्ट्रिय स्वार्थका मामिलामा सत्तासीन पार्टी, प्रतिपक्ष तथा वर्तमान राजनीतिक प्रणालीकै विपक्षमा रहेका नेपालीसमेत सबै एकजुट देखिएका छन्। भारतलाई त्यो जमिन निल्न सजिलो छैन। भारतको यो मनपरीको अन्तर्राष्ट्रियकरण नै हुने स्थिति आयो भने उसलाई अझै असजिलो होला। र, सबभन्दा महŒवपूर्ण कुरा त के भने यतिबेला नेपालीको थप चित्त दुखाइले भारत असल छिमेकी होइन, कुटिल परचक्रीकै रूपमा स्थापित हुने सम्भावना झन्झन् बढ्दै छ। आफूलाई निकै बुद्धिमान ठान्ने मोदीले अत्यन्त राम्रो अवसर निरन्तर गुमाउँदै छन्।

हरेक हिसाबले स्वाभाविक मित्र बन्न सक्ने नेपाललाई उनी आफ्नै कारण झन्झन् टाढा बनाउँदै छन्। उनका निम्ति सबभन्दा श्रेयस्कर त आफ्ना पूर्ववर्ती प्रधानमन्त्रीहरूभन्दा बढी नेपालमैत्री भएर, नेपालीको भावनालाई सम्मान गरेर, अब उपरान्त भारत एउटा भरपर्दो मित्र भयो भन्ने प्रमाणित गरेर देखाइदिनु हुन्थ्यो। तर घरभित्रै अनेक संकटसँग जुधिरहेका, तर प्रभुत्ववादको नशा लागिसकेका शासकका निम्ति यो त्यति सहज भने छैन। नेपालको पश्चिमोत्तर सीमा हाकाहाकी मिच्ने यो बेकाइदा एउटा छुट्टै गल्ती मात्र नभएर भारतको दक्षिण एसियामा पुनः प्रभुत्व स्थापना गराउने योजनाको एउटा सानो अंश मात्रै हुन सक्छ। उसका अन्य कुटिल चाल अझै देखापरिनसकेका होलान्। सतर्कता आवश्यक छ।

नेपालका सबै राजनीतिक पार्टीमा विभिन्न मात्रामा भारतको प्रभाव छ। ऊप्रति ‘विशेष मैत्रीभाव’ राख्ने मानिस यहाँका सबै पार्टीमा छन्। कुनै कुनै पार्टी त सांगोपांगो ऊप्रति लम्पसार नै होलान्। क्षेत्रीय प्रभुत्ववादको नशामा र अरू ठूला देशसँगको प्रतिस्पर्धामा उसले नेपालजस्तो देशमा जे सकेको गर्छ नै।  र, यो प्रतिस्पर्धाका निम्ति भौगोलिक सीमा मिच्ने मात्र होइन, सीमाभित्रै उसले गर्दै आएका गतिविधिलाई अझ तीव्रता दिन सक्नेछ।

यता नेपालभित्र भने ‘पोलिटिकल्ली करेक्ट’ हुनाका निम्ति भनेर कतिपय अभियन्ताबीच लघुराष्ट्रवाद (सबस्टेट नेसनलिज्म)प्रति बढी झुकाव देखिन्छ। देशभित्र सामाजिक न्यायको पक्षमा निरन्तर लागिरहनु सबै अभियन्ताको धर्म हो। तर ‘राष्ट्रवाद’ र ‘देशभक्ति’बीचको भिन्नताबारे जति चर्को सैद्धान्तिक वादविवाद गरिरहे पनि  शक्तिशाली र ठूलो मिचाहा छिमेकीसँग निरन्तर सतर्क रहनुपर्ने बेला लघुराष्ट्रवाद होइन, देशभक्तिको बढी आवश्यकता हुन्छ। देश सुरक्षाका निम्ति मात्र होइन, विश्वस्तरमै सामाजिक न्याय स्थापना गर्न पनि साना मुलुकको देशभक्ति आवश्यक छ। ठूला मुलुकको ‘देशभक्ति’ पनि यथार्थमा प्रभुत्ववाद उन्मुख अन्धराष्ट्रवादमा अनुदित भइरहेको हुन्छ भने साना देशको देशभक्तिलाई अन्धराष्ट्रवादभन्दा बढी लघुराष्ट्रवाद घातक भइरहेको हुन सक्छ। भारतले छापेको नयाँ नक्सा नेपालको राष्ट्रिय सुरक्षामा अझै आउन सक्ने चुनौतीको लामै शृंखलाको सुरुआत मात्रै पनि हुन सक्छ। सतर्क रहौं।   
 

प्रकाशित: २९ कार्तिक २०७६ ०२:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App