१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

बाबुरामको विश्लेषण : नेकपा अध्यारो सुरुङको यात्रामा, विप्लव गलत गर्दैछन्

काठमाडौं- समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालको कम्युनिष्ट आन्दोलन वैचारिक रुपले अध्याँरो सुरुङभित्रको यात्रा गरिरहेको दाबी गरेका छन्। समाजवादी पार्टीको संघीय परिषद बैठकमा भट्टराईद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा दार्शनिक, वैचारिक रुपमा अन्यौलग्रस्त र नैतिक रुपमा स्खलित भइसकेको पार्टी संगठनात्मक रुपमा मात्र लामो समय बलियो भइरहन नसक्ने उनले प्रष्ट्याएका छन्। 'आउँदा केही बर्ष वा दशकभित्र नेकपा भविष्यमा फेरि उठ्न नसक्ने गरी पतनको दिशामा अभिमुख छ। नेकपाको राजनीतिक व्यवहार र नेकपाले संचालन गरिरहेको सरकारले यही कुरा पुष्टि गर्दैछ', प्रतिवेदनमा भनिएको छ।

पार्टीका ठूल्ठूला नेताहरु भ्रष्टाचार तथा नैतिकपतनका घटनामा लज्जास्पद ढंगले उदांगिनु,  आर्थिक क्षेत्रमा नेकपाले कांग्रेसको नवउदारवादी नीतिलाई नै निरन्तरता दिइरहनु, शिक्षा र स्वास्थ्यको व्यापारीकरण कम्युनिष्ट नेतृत्वको सरकारमा पनि नरोकिनु, एनसेलको पुँजीगत लाभकर, बुढीगण्डकीको गेजुवा तथा वाइडवडी कमिसन प्रकरण भएको उनले औंल्याएका छन्।

'सम्पति शुद्धीकरण आयोगलाई निस्क्रिय बनाउने तथा ठूला आयोजनाहरु विना टेन्डर सिधै सम्झौता गर्न सक्ने प्रकरणको भित्री रहस्य कालो धन र कमिसनतन्त्रसंगको साँठगाँठ हो भन्ने कुरामा कुनै शंका छैन', प्रतिवेदनमा भनिएको छ।

कांग्रेसले औपचारिक तवरले दस्तावेजमा ‘प्रजातान्त्रिक समाजवाद’ लेखे पनि २०४६ साल यताका उसका कुनै पनि व्यवहार र एजेण्डाले कांग्रेस समाजवादी दल भएको पुष्टि नुहुने उनको विष्लेषण छ। सन् १९९० को नवउदारवादको विश्वव्यापी लहर ले कांग्रेसलाई ‘प्रजातान्त्रिक–समाजवाद’ को आवरणबाट बाहिर लगेको उनको बुझाई छ। 'यो धारसँग हाम्रो पार्टीको मिल्ने विषय भनेको दलीय स्वतन्त्रता र बहुदलीय व्यवस्था मात्र हो', प्रतिवेदनमा भनिएको छ।

शहरी सुकुम्बासी समस्या सृजना गर्ने, नियमक संस्थाहरुको भूमिका कमजोर पार्ने, जताततै मूल्य कार्टेलिङ र सिन्डिकेटलाई प्रश्रय दिने, ठेक्कापट्टा र राजकीय स्रोतहरुमा निश्चित वृतलाई मात्र पोस्ने र कमिसनतन्त्रलाई बढावा दिनेजस्ता प्रवृतिहरु कांग्रेसले संस्थागत गरेको उनको राजनीतिक प्रतिवेदनमा उल्लेख छ।

राजपासँग एकताका निम्ति केही समयदेखि गंभिर छलफल भईरहेको समेत उनले बताइका छन्। एकता प्रयासलाई यथासम्भव छिटो तार्किक निष्कर्षमा पुर्‍याउन प्रयत्न गर्नु पर्नेमा उनको जोड छ।

उनको विश्लेषणमा नेकपा (बिप्लब) ले सशस्त्र संघर्षको बाटो रोजेर गलत क्रियाकलाप गरिरहेको छ। 'राजनीतिक संवादको मार्गबाट ऊ ढिलोचाँडो लोकतान्त्रिक मूलधारमा फर्किनु पर्दछ। राज्यले दमनद्वारा हैन वैचारिक तथा राजनीतिक प्रक्रियाद्धारा उसलाई मूलधारमा ल्याउने प्रयास गर्नु पर्दछ', प्रतिवेदनमा उल्लेख छ।

'साझा पार्टी र विवेकशील नेपालीजस्ता नयाँ दलहरु विकास, सुशासन, समृद्धि र सुसंस्कृत राजनीति नभएको चिन्ता व्यक्त गर्दैछन्। यो सकारात्मक कुरा नै हो। तर, यी दलको विचार के हो र कस्ता एजेण्डा बोक्ने हुन त्यो प्रष्ट छैन। केही नयाँ गरौ भन्ने हुटहुटीले यी दल बनेका हुन सक्दछन्। यिनीहरुलाई धैर्यतापूर्वक बुझ्ने, परख्ने गर्नु पर्दछ। संगसंगै गलत बाटो तिर नजाउन् भनेर वैचारिक संघर्ष पनि जारी राख्नु पर्दछ,' प्रतिवेदनमा उल्लेख छ।

 

प्रकाशित: २८ कार्तिक २०७६ १२:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App