१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

नयाँ दिल्लीमा वायु प्रदूषणको मात्रा अहिलेसम्मकै बढी

प्रदूषणका कारण धुम्म भएको भारतको राजधानी नयाँ दिल्ली। तस्बिर : एजेन्सी

नयाँ दिल्ली (एजेन्सी)– भारतको राजधानी नयाँ दिल्लीमा वायु प्रदूषणको मात्रा झनै बढेको स्वास्थ्य एवं मौसम क्षेत्रका अधिकारीले जनाएका छन्।

बुधबार बिहान नयाँ दिल्लीको आकासको वायुमा अहिलेसम्मकै सबैभन्दा बढी प्रदूषित कण भेटिएको अधिकारीहरुको भनाइ उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

बुधबार वायु प्रदूषणको मात्रा अघिल्ला दिनका तुलनामा बढेको र हावाको प्रदूषण मापन गर्ने मापदण्ड एयर क्वालिटी इन्डेक्स, एक्युआई बढेर पाँच सय पुगेको बताइएको छ। यो अहिलेसम्मकै सबैभन्दा बढी प्रदूषण हो। एक्युआई पाँच सय पुग्नु भनेको हावामा प्रदूषित वस्तुको मात्रा अति खराब रूपमा रहनु हो। 

हरियाणा राज्यको नजिक रहेको गुरुग्राम भन्ने नगर र उत्तर प्रदेश राज्यको छिमेकी नगर नोइडाको वायुमा रहेको प्रदूषणको मात्रा यति धेरै पुगेको ती समाचारमा बताइएको छ।

बुधबार बिहान यी दुई नगरमा लिइएको मापनमा यस्तो अवस्था रहेको स्वास्थ्य तथा वातावरण क्षेत्रका अधिकारीले जनाएका छन्। उक्त मापनअनुसार ० देखि ५० सम्म एक्युआइलाई राम्रो मानिन्छ भने ५० देखि सयलाई सन्तोषजनक मानिन्छ। त्यसैगरी सयदेखि दुई सयसम्मलाई मध्यम र दुई सयदेखि तीन सय एक्युआइलाई कमजोर मानिन्छ।

बुधबार बिहान नयाँ दिल्लीको आकासको वायुमा अहिलेसम्मकै सबैभन्दा बढी प्रदूषित कण भेटिएको अधिकारीहरुको भनाइ उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

त्यसैगरी तीन सयदेखि चार सयसम्म एक्युआइलाई अति कमजोर र चार सयदेखि पाँच सय एक्युआइलाई कडा अर्थात् एकदमै खराब मानिन्छ।

अनि पाँच सयभन्दा बढी एक्युआई भयो भने त्यसलाई संकटकालीन अवस्थाका रूपमा लिनुपर्ने हुन्छ। यस्तो अवस्थामा कुनै पनि देशको सरकारले ती क्षेत्रमा संकटकालीन अवस्थाको घोषणा गर्नुपर्ने हुन्छ।

वायु प्रदूषणको यस्तो अवस्थाका कारण भारतको जनजीवन थप अप्ठेरोमा पर्न थालेको अधिकारीहरुले बताएका छन्।

नयाँ दिल्ली र यहाँको वरपरको बस्तीसमेतमा समस्या देखिन थालेको छ। विगत केही सातादेखि नै राजधानी नयाँ दिल्लीका सडक र वरपरको क्षेत्रका निर्माण कार्य ठप्प छन् भने अन्य दैनिक आवश्यकताका वस्तुको परिपूर्ति गर्नसमेत अप्ठेरो परिरहेको छ।

भारतको राजधानी नयाँ दिल्लीमा अघिल्ला वर्षजस्तै यस पटक पनि चिसो मौसमको सुरुमै आकासको मौसममा खराबी देखिन थालेको हो।

वायु प्रदूषित भएकोले उत्पन्न स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै केही दिनका लागि राजधानी नयाँ दिल्लीका विद्यालय पनि बन्द गरिएको थियो। वायु प्रदूषणका कारण बालबालिकालाई बढी असर पर्ने बताइएको छ। उनीहरुमा फोक्सोमा असर पार्ने भन्दै विद्यालय बन्द गरिएको हो।

त्यसैगरी सबै नागरिकलाई पनि श्वासप्रस्वाशका साथै मुटुमा पनि समस्या उत्पन्न हुनसक्ने भन्दै गम्भीर स्वास्थ्य खतरा देखिएको बताइएको छ। यो मौसममा नयाँ दिल्लीको आकासमा सवारीसाधनको धुवाँ र धुलो, औद्योगिक उत्पादनका कारण उत्पन्न प्रदूषण, कृषिजन्य उद्योगबाट निस्किएको प्रदूषित मात्राका कारण वायु प्रदुषित हुने गरेको छ।

नयाँ दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले प्रदूषणका कारण परिस्थिति अत्यन्तै खतरनाक भएको भन्दै वायु प्रदूषण हटाउन आवश्यक पहल गरिएको बताएका छन्।

दिल्लीको हावामा प्रदूषित हावाका कणको स्तर विश्व स्वास्थ्य संगठनले बनाएको मानकभन्दा २० गुणासम्म बढी भेटिएको स्वास्थ्य अधिकारीले जनाएका छन्।

विश्व स्वास्थ्य संगठनले बनाएको मानकभन्दा नयाँ दिल्लीको आकासमा बढी मात्रामा वायु प्रदूषण हुन लागेको धेरै वर्ष भएको भारतीय अधिकारीले जानकारी दिएका छन्।

भारतीय मौसमविद्ले पनि प्रदूषण अत्यन्त बढेका कारण नयाँ दिल्लीको जनजीवन निकै कष्टकर बन्दै गएको बताएका छन्।

नयाँ दिल्लीको जनसंख्या चार करोड ५० लाख रहेको छ। भारतीय राजधानी शहर नयाँ दिल्लीको प्रदूषण नियन्त्रण गर्न सरकारलाई निकै सकस परिरहेको छ।

नयाँ दिल्ली सरकारले राष्ट्रिय राजधानी नयाँ दिल्लीमा केही दिन यतादेखि यातायातका साधनमा जोरविजोर प्रणाली लागू गरेको छ। सवारी साधनबाट हुने प्रदूषणको मात्रालाई रोक्न यस्तो नियम बनाएको भए पनि यसबाट प्रदूषण घट्न नसकिरहेको बताइएको छ।

यातायातका साधनबाट निस्किने धुवाँ, अत्यधिक यातायातको चाप र आवागमनका कारण उडेको धुलोका कारण भारतको राजधानी दिल्लीमा वायु प्रदूषण भएको भन्दै राज्य सरकारको यस्तो निर्णय आएको हो।

प्रकाशित: २८ कार्तिक २०७६ ०२:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App