१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सम्बन्ध सुधार्दै ओली–नेपाल

काठमाडाैं - नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालबीच सम्बन्ध सुधारको प्रयास भएको छ। प्रधानमन्त्री ओलीले मंगलबार सरकारी निवास बालुवाटारमै नेता नेपाललाई बोलाएर लामो समय कुराकानी गरी सम्बन्ध सुधारको प्रयास गरेका हुन्। भदौ ५ पछि दुवै नेताबीच एक्लाएक्लै भेटघाट भएको छैन। पार्टी अध्यक्षसमेत रहेका ओली र नेता नेपालबीच भेटघाट भएको नेता नेपालको सचिवालयले पुष्टि गरेको छ।

भेटघाटमा व्यक्ति सम्बन्ध पार्टीभित्रको उत्तारचढाव र दुई नेताहरूबीच पछिल्ला दिनमा भेटघाट नभएको विषयमा समेत कुराकानी भएको थियो। ‘बालुवाटारबाट फोन आएपछि उहाँ जानुभएको थियो तर के विषयमा कुराकानी भयो भन्नेबारे भने जानकारी भएन,’ नेपाल सचिवालयले भन्यो। नेपालनिकट नेताहरू र बालुवाटारले भने भेटघाटको विषयलाई बाहिर ल्याउन चाहेको छैन। भदौ ५ मा सचिवालय बैठकमै दुई नेताहरूबीच विवाद भएपछि त्यसयता एक्लै भेटघाट वा फोनमा समेत कुराकानी भएको थिएन।

प्रधानमन्त्री स्वास्थ्य उपचारमा सिंगापुर जाने बेला नेता नेपालले स्वास्थ्य लाभको शुभकामना दिँदा सो शुभकामना आवश्यक नभएको भन्दै ओलीले स्वास्थ्यलाभको शुभकामना नै अस्वीकार गरेपछि दुई नेताहरूबीचको सम्बन्ध चिसिएको थियो। दुईै नेताहरूबीच सम्बन्ध चिसिएपछि औपचारिक बैठकमा बाहेक ओली–नेपाल भेटघाट बन्द भएको थियो। भेटमा पनि दुई नेताहरू खास खुलेर बोल्ने गरेका थिएनन्। मंगलबारको भेटमा दुवै नेताले आ–आफ्ना कमीकमजोरीबारे कुराकानी गरेको हुन सक्ने बताइएको छ। मन्त्रिपरिषद् पुनर्गठनको तयारी भइरहेका बेला दुवै नेताहरूबीच भएको भेटलाई अर्थपूर्ण रूपमा लिइएको छ।

पार्टी अध्यक्ष ओलीसँग सम्बन्ध चिसिएपछि भदौ ३० गते नेपाललाई नबोलाई ओलीले सचिवालयको बैठक राख्न खोजेका थिए। त्यस दिन ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, रक्षामन्त्री ईश्वर पोखरेलसँग मात्रै भेटघाट गरेका थिए। सो भेटघाटमा वरिष्ठ नेता माधवकुमार नेपाललाई बोलाइएको थिएन। भदौ ५ गतेभन्दा अघि बसेको सचिवालय बैठकले नेता नेपालको वरीयता खोसिएको थियो। त्यसपछि बसेका बैठकहरूमा ओलीले नेता नेपाललाई पेल्दै आएका थिए।

पार्टीका नेताहरूलाई नयाँ जिम्मेवारीका साथै मर्यादाक्रम हेरफेरसँगै प्रधानमन्त्री ओली र नेता नेपालबीच चुलिएको विवाद व्यक्तिगत आरोप–प्रत्यारोपमा समेत पुगेको थियो। प्रधानमन्त्री ओली स्वास्थ्य उपचारका लागि सिंगापुर जानुअघि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा नेपालले स्वास्थ्य लाभका लागि दिएको शुभकामनासमेत प्रधानमन्त्री ओलीले अस्वीकार गरेपछि बोलचाल नै बन्द भएको थियो। नेता नेपालले आफ्नो स्वास्थ्यबारे नकारात्मक टिप्पणी गर्दै हिँडेको भन्दै प्रधानमन्त्री ओलीले शुभकामना अस्वीकार गरेका थिए।

बैठकमा ओलीले भनेका थिए, ‘म उपचारका लागि जाँदै छु। अब बाँकी सांगठनिक एकीकरणको काम उहाँ (पुष्पकमल दाहाल) ले सम्हाल्नु हुने नै छ तर निर्णय भने मेरो सल्लाहबिना हुनेछैन।’ सोही बैठकमा वरिष्ठ नेता नेपालले भनेका थिए, ‘यहाँ कोही तलमाथि छैनन्। गम्भीर विषयबाहेक सल्लाहमा मात्रै निर्णय हुनेछ भन्ने कुरा हुँदैन। गम्भीर विषय भए बैठक नै स्थगित गराएर तपाईंलाई कुर्न सकिन्छ नत्र बैठकमा निर्णय गर्न कसैले पनि रोक्न सक्दैन। आफू एक्लै काम गर्न खोज्ने तर अहिले मबेगर दायाँबायाँ गर्नुहुन्न भन्ने कुरा कसरी आयो ?’ बैठकमा दुई नेताबीच विवाद भएपछि दुवै पक्षका नेताहरूले सम्बन्ध सुधारको प्रयास गरेको भए पनि असफल भएको थियो। बंगलादेशका लागि राजदूत डा. वंशीधर मिश्र, सुमनराज प्याकुरेललगायत नेताहरूले दुवै नेताहरूका बीचमा सम्बन्ध सुधारको प्रयास गरेका थिए।

प्रकाशित: २८ कार्तिक २०७६ ०१:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App