१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

पूर्व क्लबविरुद्ध रामिरेजको गोल

मिडल्सब्राउ(एएफपी)— उरुग्वेका स्ट्राइकर गास्टोन रामिरेजले पूर्व क्लब हल सिटीविरुद्ध गोल गरेपछि सोमबार इङ्लिस प्रिमियर लिगमा मिडिल्सब्राउले १–० को महत्वपूर्ण जित पाएको छ।

घरेलु मैदानमा यस सिजनकै दोस्रो जित निकालेसँगै मिडल्सब्राउले रेलिगेसन क्षेत्रका टोलीसँग ४ अंकको दुरी बनाएको छ । लगातार ५ खेलमा हार बेहोरेको हल सिटी भने ११ अंकसहित पुछारबाट एक स्थान माथि छ।

मिडल्सब्राउका प्रशिक्षक एटोर करान्काले खेलाडीको प्रदर्शनबाट सन्तुष्ट रहेको भन्दै प्रिमियर लिगमै कायम रहन यस्तै प्रदर्शन जारी राख्नुपर्ने प्रतिक्रिया दिए।

‘हाम्रो १५ अंक भएको छ । सुगठित टोलीको रूपमा हामीले अझै राम्रो गर्नुपर्नेछ,’ करान्काले भने, ‘हामी भर्खरै बढुवा भएको टोली हौं, त्यसैले लय समाउन समय लाग्छ।’

हल सिटीका प्रशिक्षक माइक फेलानले व्यवस्थापन र आर्थिक रूपमा आफ्नो टोली अन्य क्लबभन्दा कमजोर रहेको बताए। उनले त्यस बाबजुद पनि टोलीले राम्रो गर्ने प्रयास गरिरहेको बताए ।

‘हामीले कोसिस ग¥यौं तर यो नतिजा निराशाजनक रह्यो,’ फेलानले भने, ‘हामीले उनीहरूलाई हास्यास्पद गोल दियौं । खेलाडी पूरै समय खेलमा केन्द्रित हुन सकेनन् । त्यसैले मैदानमा कमजोर देखियौं । कमजोर सुरुआत गरेका हामी पहिले जहाँ थियौं अहिले पनि त्यही छौं । यसलाई सुधार गर्नु आवश्यक छ।’

सुरुबाटै खेल नियन्त्रणमा राखे पनि मिडल्सब्राउले गोललाई ६० मिनेटसम्म कुर्नुपरेको थियो । घरेलु मैदानमा खेलिएको पछिल्लो ६ खेलबाट टोली ४ अंक मात्र जोड्न सफल भयो ।

अल्भारो नेग्रेडोको पासमा भिक्टोर फिस्चरले गोल गरे पनि रेफ्रीले अफसाइड करार दिँदा मिडल्सब्राउले अग्रता लिने अवसर गुमायो । त्यस्तै रामिरेजले गोलका लागि गरेको प्रयास हल सिटीका गोलकिपर डेभिड मार्सलले विफल तुल्याइदिएका थिए।

हल सिटीका एड्मा डाइमन्डले टोलीलाई अग्रता दिलाउन खोजे पनि घरेलु टोलीका कप्तान वेन गिब्सन तगारो बनेका थिए। हलले विपक्षी पोस्टमा गरेको एकमात्र प्रहार त्यही थियो ।

दोस्रो हाफमा पनि दबाब कायम गरेको घरेलु टोलीका लागि कसैको निगरानीमा नरहेका २६ वर्षे रामिरेजले ६० औं मिनेटमा हेडमार्फत गरेको गोल जितमा निर्णायक बन्यो । डाइमन्डले अन्तिम समयमा पेनाल्टी बक्स बाहिरबाट गरेको उत्कृष्ट प्रहार मिडल्सब्राउका गोलकिपर भिक्टर भाल्डेजले विफल पारेका थिए।

प्रकाशित: २२ मंसिर २०७३ ०१:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App