१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

‘सागको अन्योलता अन्त्य भएको छ’

काठमाडौं – आसन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) को अन्योलता अन्त्य भएको नेपाली खेलकुदका सरोकारवाला निकायले जनाएका छन्। भौतिक पूर्वाधार र तयारीका विषयमा प्रश्न उठिरहेका बेला युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल ओलम्पिक कमिटी (एनओसी) का पदाधिकारीले एक स्वरमा साग भव्य रूपमा निर्धारित समयमा सम्पन्न हुने प्रतिबद्धता जनाए।  

नेपाल खेलकुद पत्रकार मञ्चको आयोजना तथा राष्ट्रिय खेलकुद परिषद्को समन्वयमा मंगलबार राजधानीमा भएको मिडिया कार्यशालाको उद्घाटन गर्दै युवा खेलकुदमन्त्री सुनार (विश्वकर्मा)ले साग निर्धारित समयमा नै सम्पन्न हुनेमा कुनै प्रश्न बाँकी नरहेको बताएका छन्। मन्त्री विश्कर्माले सम्पूर्ण राष्ट्र एकजुट हुँदै सागलाई सम्पन्न गर्नुपर्ने र यसमा मिडियाले सकारात्मक भूमिका खेल्ने आशा प्रकट गरे।

‘उपलब्ध स्रोत साधन एवम् खेलस्थललाई सदुपयोग गर्दै साग आयोजना गर्ने हो,’ मन्त्री विश्वकर्माले भने, ‘पहिलेकै सरकारले राम्ररी कार्य गरेको भए भौतिक पूर्वाधार निर्माण गर्न यति हम्मे पर्ने थिएन।’ ‘सीमित स्रोतसाधन र विभिन्न अवरोधका बावजुद नेपाली खेलकुदलाई यो बिन्दुमा पु¥याउने सम्बन्धित सबैको योगदान उल्लेख्य छ,’ मन्त्री विश्वकर्माले भने, ‘भौतिक पूर्वाधार १० दिनभित्र तयार हुन्छ।’

सो अवसरमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले मन्त्रीको भनाइलाई पुष्टि गर्दै साग निर्धारित समयमा नै भव्य रुपमा सम्पन्न हुने उद्घोष गरे। ‘सागका केही पूर्वाधार सम्पन्न भएका छन् र केही हुने चरणमा छन्,’ नेपाल ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठले भने, ‘अब साग निर्धारित समयमा नै हुन्छ भन्ने प्रश्नको पूर्णविराम लागेको छ। यसलाई सम्पन्न गर्नु सबै नेपाली र सञ्चारमाध्यमको कर्तव्य हो।’

आफू नेतृत्वमा आएको तीन महिनाभित्रै सागका पूर्वाधार निर्माणमा उल्लेख्य प्रगति भएको जानकारी दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले नेपालमा आयोजना हुन लागेको सागलाई सफलतापूर्वक सम्पन्न गर्नु सबै नेपालीको दायित्व भएको बताए।
‘साग खेल सबै नेपालीको गौरवको विषय हो। यसलाई भव्य र सभ्य तरिकाले सम्पन्न गर्नुपर्ने दायित्व हामी सबैको हो,’ सदस्यसचिवले भने, ‘सञ्चार क्षेत्रले पनि सकारात्मक हिसाबले यसलाई सम्पन्न गर्न सहयोग गर्नुपर्छ। यो उसको दायित्व हो।’

साग आयोजक सहर पोखराका मेयर मानबहादुर जिसीले भौतिक पूर्वाधार मात्रै खेलकुद आयोजनाको मुख्य विषय नभएको बताउँदै पोखरामा निर्माण भएका पूर्वाधार साग आयोजना गर्न पर्याप्त रहेको जानकारी दिए। १३औं सागअन्तर्गत पोखरामा महिला फुटबल, ट्रायाथोलन, ह्यान्डबल, ब्याडमिन्टन, महिला भलिबल, बिच भलिबल, भारोत्तोलन, प्याराग्लाइडिङ, आर्चरी र महिला क्रिकेट हुँदै छन्।

कार्यशालामा सागमा सहभागी संघ जुडो, तेक्वान्दो, कराते र पौडीका खेलकुद पदाधिकारीले तयारी र सम्भाव्य जितका बारेमा जानकारी गराएका थिए। सो अवसरमा फुटबलविज्ञ सञ्जीव मिश्रले सागको फुटबल इतिहासको साङ्गोपाङ्ग वर्णन गर्नुका साथै महिला र पुरुष दुवै फुटबलमा स्वर्णको सम्भावना रहेको जानकारी दिए।

पत्रकार राजु सिलवाल, फोटो पत्रकार संघ (पिजे क्लब) का अध्यक्ष विकास कार्की र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले आआफ्नो अनुभव साटेका थिए। कार्यशालामा देशभरका करिब १ सय ४० भन्दा बढी खेलकुद पत्रकारको सहभागिता रहेको छ।
 

प्रकाशित: २७ कार्तिक २०७६ ०४:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App