१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

'नेपालको भूमि फिर्ता लिन सरकारले पहल थालोेस्'

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सुगौली सन्धीको जगमा उभिएर नेपाल र भारत सीमा विवाद समाधान खोज्न सरकारलाई आग्रह गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार पत्रकार सम्मेलन गर्दै कांग्रेसले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको अविभाज्य भूमि भएको पुनः दोहो-याएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले कात्तिक २३ गते बोलाएको सर्वपक्षीय बैठक र त्यसपछि अघि पनि कालापानी क्षेत्रका विषयमा पार्टी धारणा सार्वजनिक गरेको जनाएको छ। ‘भारत सरकारले हालै प्रकाशित गरेको नक्साबारे नेपाली कांग्रेसको धारणा यसबीचमा हामीले सार्वजनिक गरिसकेका छौं,’ कांग्रेसले भनेको छ, ‘कालापानी पश्चिमको नदि महाकाली नदी हो।’

नेपालको भूभाग फिर्ता लिन सरकारले उच्चस्तरीय कूटनीतिक र राजनीतिक पहल गर्नुपर्ने भन्दै कांग्रेसले भनेको छ, ‘यसका लागि नेपाल सरकारलाई खुला र प्रष्ट समर्थन रहने धारणा सभापतिले व्यक्त गरिसक्नुभएको छ।’

सीमा विवाद समाधान गर्न सरकारको पहललाई आफ्नो दलले सतर्कतापूर्वक नियाली रहेको जनाउँदै कांग्रेसले भनेको छ, ‘सम्पूर्ण राष्ट्रिय एकता निर्माण भएको यो कालखण्डमा परिणाममुखी पहल गर्न सरकार समर्थ हुनुपर्ने र हुने विश्वास नेपाली कांग्रेसले लिएको छ।’

सरकारले हालै गरेको प्रदेश प्रमुखको नियुक्ति आचारसंहिताविपरीत रहेको जनाएको छ। निर्वाचन आयोगले नै उक्त कार्य आचारसंहिताविपरीत नभएको भनी सार्वजनिक रूपमा अभिव्यक्ति दिएको भन्दै पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आपत्ति प्रकट गरे। ‘यसबाट निर्वाचन आचारसंहिता नमिचिएको भनेर निर्वाचन आयोगले दिएको प्रस्टीकरणप्रति हाम्रो ध्यानाकर्षण भएको छ,’ पार्टीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन आचारसंहिताको परिच्छेद–४ को ९ मा ‘नयाँ पद सिर्जना गर्न या रिक्त पद पूर्ति गर्नसमेत नपाइने प्रष्ट व्यवस्था उल्लेख छ। कर्मचारीका हकमा मात्रै भन्ने तर्क दिएर उन्मुक्ति खोज्नु नैतिक दृष्टिले सतप्रतिशत गलत हुन्छ।’

आचारसंहिता आचार र व्यवहारसँंग सम्बन्धित नैतिक दायराको बन्दोबस्त भएको भन्दै कांग्रेसले भनेको छ, ‘निर्वाचन आयोगसँग पूर्व सहमति लिएर अत्यावश्यक निर्णय लिन मिल्ने आवश्यकताको सिद्धान्त आकर्षित भएको नदेखिनु तर निर्वाचन आयोग जस्तो साझा संवैधानिक निकायले निरिहता प्रकट गर्नुलाई आगामी दिनको हाम्रो लोकतान्त्रिक अभ्यासका लागि सुखद संकेत मान्न सकिन्न।’

आचारसंहिताको नैतिक दायराभित्र रहेर स्वस्थ प्रतिस्पर्धामा उत्रन सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा)लाई आग्रह गर्दै भनेको छ, ‘यसको इमानदार कार्यान्वयनमा प्रभावकारी भूमिका निभाउन सम्बन्धित सबैको ध्यानाकर्षण गराउँदछौं।’

चिकित्सक गोविन्द केसीको माग र स्वास्थ्यप्रति गम्भीर हुन सरकारको ध्यानाकर्षण गराउँदै कांग्रेसले सरकारले निर्धारण गरेको भन्दा बढी मेडिकल कलेजले शुल्क लिएकोप्रति पार्टीको ध्यानाकर्षण भएको जनाएको छ। उक्त विषय समाधान गर्न सरकार असफल भएको भन्दै उसले भनेको छ, ‘समस्याको विवेकसम्मत हल खोज्न र विद्यार्थीलाई तनावमुक्त वातावरणमा पढ्ने व्यवस्था मिलाउन तत्काल प्रभावकारी पहलकदमीका लागि नेपाली कांग्रेस नेपाल सरकारलाई आग्रह गर्दछ।’

नेवि संघको प्रदर्शन
कांग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघले भारतले सीमा मिचेको र त्यसलाई फिर्ता लिन सरकारले कुनै पहल नगरेको भन्दै काठमाडौंसहित विभिन्न जिल्लामा दिनहुँ बिरोध गर्दैन गर्दै आएको छ। नेवि संघ काठमाडौंको आयोजनामा मंगलबार राजधानीको चाबहिलका साथै विभिन्न ठाउँमा विरोध प्रर्दशन गरेका हुन्।

अतिक्रमित भूमि फिर्ता ल्याउन र र राष्ट्रियताको पक्षमा उभिन सरकारलाई आग्रह गर्दै संघले केपी ओली नेतृत्वको सरकार आफ्नो भूमि र राष्ट्रियता जोगाउन डराएको आरोप लगाएको छ। संघका काठमाडौं अध्यक्ष मनोज वैद्यको नेतृत्वमा निकालिएको बिरोध जुलुमा ‘सरकार कता हरायो, राष्ट्रियता जोगाउन किन डरायो जस्ता नारा लगाएका थिए।

‘प्रधानमन्त्री केपी ओलीको राष्ट्रवाद हेरियो राष्ट्रकै नक्सा फेरियो’ जस्ता नारासहित बिरोध जुलुस निकालेको नेवि संघले दिउँसो पनि राजधानीको विभिन्न स्थानमा विरोध जुलुस निकालेका छन्। संघका काठमाडौं अध्यक्ष वैद्यले भने, ‘राष्ट्रयताको विषयमा हाम्रो माउ पार्टी कांग्रेसले सहयोग रहने प्रतिबद्धता पार्टी सभापति शेरबहादुर देउवा जनाइसक्नुभएको छ। तर पनि प्रधानमन्त्री त्यसको पहल लिन खोजिरहनु भएको छैन।’

प्रकाशित: २७ कार्तिक २०७६ ०२:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App