१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सीमामा सुरक्षा : पारि बाक्लै, वारि न्यून

सीमा क्षेत्रमा संयुक्त गस्ती गर्दै नेपाल तथा भारतका सुरक्षाकर्मी।फाइल तस्बिर:नागरिक

दाङ – भारतसँग दाङको ८३ किलोमिटर सीमा जोडिएको छ। पारि भारतीय भूभागमा पाँचपाँच किलोमिटरको दूरीमा भारतीय सीमा सुरक्षा बल एसएसबीले पहरा दिइरहेको छ। वारि नेपाली भूभागको सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीको उपस्थिति भने दुई स्थानमा मात्रै छ। कोइलावास र सुनपथ्री नाकामा रहेका यी दुई सीमा सुरक्षा पोस्टमा ७० जनशक्ति छ। यिनै ७० जनाले ८३ किलोमिटर क्षेत्रको सीमा सुरक्षा गरिरहेका छन्। भौगोलिक विकटता तथा जनशक्ति अभावका कारण सशस्त्र प्रहरीलाई सीमा निगरानीमा हम्मेहम्मे छ। ‘हामीलाई प्रत्येक साता सीमा क्षेत्रमा रहेका पिलरको निगरानी राख्नुपर्छ,’ सीमा क्षेत्रमा खटिएका एक सुरक्षा अधिकारीले भने, ‘भौगोलिक विकटताका कारण सीमास्तम्भ निगरानी गर्न दुई तीन दिन लाग्ने गर्छ।’ उता पाँच/पाँच किलोमिटरको दूरीमा रहेको एसएसबीले भने दिनहुँ सीमास्तम्भको निगरानी गर्ने सामथ्र्य राख्छ। ‘उनीहरुले प्रत्येक दिन सीमा क्षेत्रको अनुगमन गर्ने सामथ्र्य राख्छन् तर हाम्रोमा भने सीमा क्षेत्र निगरानीका लागि तोकिएको स्थानसम्म पुग्नै दुई दिन लाग्छ’, ती अधिकारीले भने। सीमा क्षेत्रमा हठात कुनै घटना भएमा नेपाली सुरक्षाकर्मी तत्काल पुग्न सक्ने अवस्था छैन।

सहज ढंगले सीमाको निगरानी गर्न कम्तीमा आठ स्थानमा सुरक्षा पोस्ट खडा गरिनुपर्ने ती अधिकारीले बताए। ‘१०/१० किलोमिटरको दूरीमा सुरक्षा पोस्ट स्थापना हुन सकेमा सीमाक्षेत्रको निगरानीका लागि धेरै सहज हुने थियो। दुईवटा पोस्टले विकट क्षेत्रको ८३ किलोमिटर क्षेत्रको निगरानी राख्नु धेरै समस्याको कुरा हो।’ सीमा क्षेत्रमा रहेका सुरक्षाकर्मीले सीमा निगरानीका लागि पैदल हिँड्नुपर्ने बाध्यता छ। नेपाली भूभागमा सडक सञ्जाल छैन। फलतः सीमा क्षेत्रका नागरिक तथा सुरक्षाकर्मी भारतीय बजारमा आश्रित हुनुपरेको छ। भारतीय मार्ग प्रयोग गरेर भारतीय बजारमै आश्रित रहनुपर्दा मनोबल गिरेको महसुस सुरक्षाकर्मीकालाई हुने गरेको छ। ‘पूर्णरुपमा भारतमै आश्रित हुनुपरेको छ। सीमा क्षेत्रका नागरिकलाई यसले पक्कै अपमान बोध गराएको छ,’ ती सुरक्षा अधिकारीले भने। यहाँका २६ मध्ये आधा दर्जन नाकामा भने अपराध नियन्त्रणका लागि नेपाल प्रहरीका अस्थायी चौकी छन्।

सीमास्तम्भ हराएको वर्षौं बित्यो
दाङ जिल्लामा पर्ने नेपाल–भारत सीमा क्षेत्रमा एउटा सीमास्तम्भ गायब भएको वर्षौँ बितेको छ तर अर्को स्तम्भ निर्माण हुन सकेको छैन। सीमा क्षेत्रमा पर्ने खबरी नाकामा रहेको ४८ नम्बरको सीमास्तम्भ खोलाले बगाएर बेपत्ता पारेको छ। उक्त स्थानमा सीमासम्बन्धी कुनै विवाद भने नरहेको सीमा सुरक्षार्थ खटिएको प्रहरीले जनाएको छ। ‘४८ नम्बरको स्तम्भ खोलाले बगाएर बेपत्ता पारेको रहेछ,’ सीमा सुरक्षार्थ खटिएका सुरक्षा अधिकारीले भने, ‘तर त्यहाँ नेपाल र भारतबीच पहिले सीमा रहेकै स्थानलाई आधार मानेर सीमा तय गरिएको छ, त्यस्तो विवाद छैन।’

हराएको सीमास्तम्भ पुनस्र्थापना तथा जीर्ण स्तम्भ मर्मतका लागि दुई देशको समझदारी आवश्यक पर्छ। प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले खोलाले एउटा सहायक स्तम्भ बगाएको र उक्त स्थानको नक्सा हेरेर पुनरस्र्थापना गर्ने तयारी भइरहेको बताए। ‘केही पिलर जीर्ण छन् अनि एउटा सहायक पिलर खोलाले बगाएको छ,’ उनले भने, ‘पुनस्र्थापना तथा मर्मतका लागि दुई देशका अधिकारीबीच छलफल गरेर काम हुँदैछ।’

भारतलाई विद्युत् दिएर पानी
जिल्लाको कोइलाबास नाकामा पिउने पानीको अभाव हुँदा नेपालले पानीका लागि भारतलाई विद्युत् प्रदान गरिरहेको छ। विद्युत् दिएबापत नेपाली पक्षलाई भारतले पिउने पानी उपलब्ध गराउने गरेको छ। पिउने पानीका लागि नेपाल र भारतबीच विद्युत् र पानी साटासाट भएको स्थानीयले बताए। विद्युत् नदिए पिउने पानी पनि नपाउने अवस्था रहेको उनीहरुले बताए। उता भारतीय क्षेत्रमा विद्युत अभाव छ। विद्युत पाएबापत भारतीय पक्षले आफ्नो सीमाभित्र रहेको जरुवाबाट नेपालीलाई पानी दिने गरेको छ।

प्रकाशित: २७ कार्तिक २०७६ ०१:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App