१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

वकिल धेरै, थुनछेक बहस अझ लम्बिने

राजपुर फरहदवामा १२ वर्षअघि भएको बम विस्फोट घटनाको आरोपमा पक्राउ परेका पूर्व सासंद मोहम्मद आफताब आलम।

रौतहट – रौतहटको राजपुर फरहदवामा १२ वर्षअघि भएको बम विस्फोट घटनाको आरोपमा पक्राउ परेका पूर्व सासंद मोहम्मद आफताब आलमको थुनछेक बहस मंगलबार पनि जारी नै रह्यो। राजपुरमा कुनै घटना नै नघटेको, बम विस्फोट नै नभएको, राजनीतिक पूर्वाग्रहले फसाइएको भन्दै उनको बचाउतर्फ जिल्ला र काठमाडौंका गरी ३५ जना कानुन व्यवसायीले बहस गर्न जिल्ला अदालत गौरमा वकालतनामा दर्ता गराएकाले बहस अझ लम्बिने अनुमान गरिएको छ।

रौतहट जिल्लाका न्यायाधीश दीपक ढकालको इजलासमा आलमका तर्फबाट सुरु भएको बहसको पहिलो दिन सोमबार वरिष्ठ अधिवक्ताद्वय शेरबहादुर केसी र गोपालकृष्ण घिमिर तथा सुनिल पोखरेल, कृष्ण घिमिरे र योगेन्द्रबहादुर अधिकारीले बमकाण्ड घटना नै काल्पनिक भएको जिकिर गरेका थिए। मंगलबार दोस्रो दिन जिल्ला न्ययाधीश दीपक ढकालको इजलासमा आलमको तर्फबाट उनलाई थुनामा नराखी साधारण तरिखमा रिहाइ गर्नुपर्ने माग गर्दै वरिष्ठ अधिवक्ताद्वय प्रेमबहादुर खड्का र यदुनाथ ढकाल तथा कानुन व्यवसायी सतिष झाले बहस गरेका छन्। वरिष्ठ अधिवक्ता खड्काले आलमको बचाउका लागि करिब तीन घण्टा लामो बहस गरेका थिए भने ढकालले आलमको पक्षमा करिब पौने पाँच घण्टा लामो बहस गरेका छन्। अदालतको समय समाप्त हुन करिब १० मिनेट बाँकी रहँदा कानुन व्यवसायी सतिष झाले छोटो बहस गर्दै आलम निर्दोष रहेकाले साधारण तारिखमा छुट्नुपर्ने माग गरेका छन्।

उनीहरूका अनुसार २०६४ सालमा बम विस्फोटसम्बन्धी घटना नै नभएको त्यतिबेलै स्थानीय प्रशासनले गरेको अनुसन्धानले देखाइसकेको छ। अनुसन्धानले आलमको सरकार हुँदा घटना नै नभएको देखायो तर अहिले उनको सरकार नभएको बेला कृत्रिम वारदात खडा गरी उनलाई फसाउन खोजेको जिकिर गरेका छन्।

आलमलाई अनुसन्धानका लागि भन्दै प्रहरीले गत असोज २६ गते पक्राउ गरेको थियो। उनीमाथि अनुसन्धान सकेर प्रहरीले आलम र उनका भाइ महताब आलमसहित ११ जनालाई प्रतिवादी बनाई जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो। आलमविरुद्ध सर्वस्वसहित जन्मकैद सजाय माग दाबी गरिएको छ। २०७४ सालमा आएको नयाँ मुलुकी अपराधसंहितामा सर्वस्वसहित जन्मकैदको व्यवस्था छैन। तर आलमको केस मुलुकी अपराधसंहिता लागू हुनुभन्दा पहिलाको भएकाले पुरानो मुलुकी ऐन २०२० अनुसार सर्वस्वसहित जन्मकैद मागदाबी गरिएको हो।

प्रकाशित: २७ कार्तिक २०७६ ००:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App