१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

पाँच नम्बर प्रदेश विभाजन गर्नुहुँदैनः डा. कोइराला

चितवन-नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले ५ नं प्रदेशलाई पहाड र तराईमा छुट्याउन नहुने बताएका छन् ।

चार दिनको भारत भ्रमणपछि नवलपरासीको एक कार्यक्रमलाई सम्बोधन गरेर काठमाडौँ फर्किने क्रममा कुरा मंगलबार यहाँ पत्रकारसँग कुरा गर्दै उनले पार्टीको बैठकले यसबारे निर्णय नगरेको र छलफल भएको जानकारी पनि नभएको स्पष्ट पारे ।

“जनभावना विपरीत सीमाङ्कन परिवर्तन हुन सक्दैन” उनले भने, “पहाड र तराई छुट्याउन हुन्छ वा हुँदैन भन्ने विषयमा आवश्यक गृहकार्य नगरी सरकारले प्रस्ताव दर्ता गरेकाले अहिले समस्या उत्पन्न भएको हो” महामन्त्री डा कोइरालाले भने, “प्रस्ताव दर्ता गर्नुअघि बृहत् छलफल गर्नुपर्थ्यो त्यो हुन सकेन । ”

उनले ठूला तीन दल, राप्रपासहित मधेसकेन्द्रित दलबीचमा सहमति हुन नसके संशोधन प्रस्ताव फिर्ता लिनुपर्ने सुझाव दिए ।

भारतका मणिपुर, नागाल्यान्डलगायत प्रदेशमा रहेका आदिवासीलाई सरकारले छुट्टै रुपमा बजेट दिएर जीवनस्तर उकासिरहेको जानकारी दिँदै उनले नेपालमा पनि पिछडिएका जातिलाई छुट्टै बजेटको व्यवस्था प्रदेशभित्रै गर्न सकिने बताए ।

ठूलो दलको हिसाबले अहिलेको जिम्मेवारी काँग्रेसको भएकाले सबै दललाई मिलाएर लैजानुपर्ने बताए । डा कोइरालाले भने “सबै पार्टी मिलेर निकास खोज्नुपर्छ, त्यसको नेतृत्व काँग्रेसले गर्नुपर्छ ।”

पार्टीभित्र बृहत् छलफल गरी बैठकबाट आधिकारिक धारणा निकाल्नुपर्ने बताउँदै उनले छिटो निकास निकाल्न नसके जनताको विश्वास गुमेर जाने चेतावनी दिए। “अहिलेको मुख्य चुनौती संविधान कार्यान्वयन नै हो ” उनले भने । रासस

प्रकाशित: २१ मंसिर २०७३ ०६:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App