१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

हङकङ प्रदर्शनमा दुईजना गम्भीर घाइते

हङकङमा सोमबार भएको सरकारविरोधी प्रदर्शनमा प्रहरीले प्रहार गरेको अश्रुग्यास छल्दै प्रदर्शनकारी। तस्बिर : एजेन्सी

हङकङ  (बिबिसी)– हङकङमा सोमबार भएको सरकारविरोधी हिंसात्मक प्रदर्शनमा दुईजना गम्भीर घाइते भएका छन्।

एकजना प्रदर्शनकारी सोमबार बिहान प्रहरीको गोली लागेर गम्भीर घाइते भएका हुन्। २४ साताअघि सुरु भएको सरकारविरोधी प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते हुनेमा उनी तेस्रो व्यक्ति हुन्। घाइते अर्को व्यक्ति भने बेइजिङ समर्थित रहेको बिबिसीले उल्लेख गरेको छ।

फेसबुकमा प्रत्यक्ष प्रसारण गरिएको एउटा भिडिओमा प्रहरी अधिकृतले बन्द गरिएको सडकमा एकजना प्रदर्शनकारीसँग भिड्नु अगाडि बन्दुक निकालेको देखिएको छ। अनुहार छोपेका अर्का एक प्रदर्शनकारीलाई ती अधिकृतले शरीरमा गोली प्रहार गरेको भिडियो पनि सार्वजनिक भएको छ। मुठभेड भइरहँदा प्रहरीले थप दुई गोली चलाएपनि भिडिओमा त्यो गोली कसैलाई लागे नलागेको भने प्रष्ट देखिँदैन।

बेइजिङ समर्थित भनिएका अर्का घाइतेले भने प्रदर्शनकारीसँगको वादविवादपछि आफूले आफैंलाई आगो लगाएको बताइएको छ। सोमबार दिनभर जसो सहर अशान्त रहेपछि हङकङकी प्रमुख कार्यकारी क्यारी लामले साँझ पत्रकारहरुसमक्ष प्रदर्शनकारीको माग पूरा नहुने बताएकी छन्।

‘हामी हङकङमा भइरहेको हिंसाको सकेसम्म छिटो अन्त्य गर्नका लागि समाधान खोज्न कुनै कसर बाँकी राख्ने छैनौं,’ प्रमुख कार्यकारी लामलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।

विगत ६ महिनादेखि हङकङमा प्रदर्शन गरिरहेका प्रदर्शनकारीले भने खुकुलो प्रजातन्त्र र प्रहरी उत्तरदायित्वको माग गरिरहेका छन्।

हङकङभर सोमबार दिनभर प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो। प्रदर्शनकारी हिंस्रक भएपछि प्रहरीले कैयौं स्थानमा रबरका गोली र कैयौं सेल अश्रुग्याससमेत प्रहार गरेको थियो। एउटा ठाउँमा त सेन्ट्रल बिजनेस जिल्लामा समेत अश्रुग्यास प्रहार गरिएको थियो। ६ महिने लामो प्रदर्शनका क्रममा बिजनेस जिल्लामा अश्रुग्यास प्रहार बिरलै भएका छन्।

सोमबारको प्रदर्शन भने शुक्रबार एक विद्यार्थी नेताको मृत्यु भएको विषयलाई लिएर भएको थियो। एक साताअघि भएको प्रदर्शनमा प्रहरी कारबाहीमा परी एलेक्स चौ नामका ती विद्यार्थी घाइते भएका थिए।

मुख्यभूमि चीनतर्फ सुपुर्दगी गर्नेबारे सरकारले ल्याएको विधेयक फिर्ता लिन माग गदै हङकङमा गत जुन महिनादेखि सुरु भएको सरकारविरोधी प्रदर्शन हाल आएर अन्य विषयतर्फ केन्द्रित भएको छ।

सरकारले विवादित सुपुर्दगीसम्बन्धी प्रस्ताव खारेज गरिसकेको भए पनि हङकङमा प्रदर्शन जारी छ। विवादित सुुपुर्दगी विधेयकलाई सरकारले ढिला गरी गत अक्टोबर २३ का दिन औपचारिक रूपमै फिर्ता लिएको थियो।

हजारौं मानिसले सडकमा उत्रिएर प्रदर्शन गरेपछि हङकङको प्रमुख नेतृत्वले सुरुमा ‘मुख्यभूमि चीनतर्फ सुपुर्दगी गर्ने’ सम्बन्धी विधेयक स्थगित मात्रै गरेको थियो। प्रदर्शन निरन्तर रूपमा अघि बढेपछि मात्रै गत महिना हङकङको संसद्ले विधेयक फिर्ता लिएको थियो।

सुरुमा सुपुर्दगी विधेयक फिर्ता लिनका लागि दबाब दिने उद्देश्यले प्रदर्शन आयोजना गरिएको भए पनि विस्तारै हङकङ प्रदर्शन बृहद् प्रजातान्त्रिक सुधार र स्वतन्त्रता कम हुँदै गएको प्रति लक्षित भएको छ। यति मात्रै नभई प्रदर्शनकारीले हङकङकी प्रमुख कार्यकारी क्यारी लामको राजीनामा मागसमेत गर्दै आएका छन्।

कुनैबेला बेलायतको उपनिवेशका रूपमा रहेको हङकङ हाल ‘एक राष्ट्र, दुई प्रणाली’ अन्तर्गत चीनको एक महŒवपूर्ण अंगका रूपमा रहेको छ। सन् १९९७ मा बेलायतले हङकङ चीनलाई हस्तान्तरण गरेपछिकै सबैभन्दा खराब अवस्थाबाट सहर गुज्रिरहेको छ।

‘एक राष्ट्र, दुई प्रणाली’ अन्तर्गतको व्यवस्थाका कारण हङकङमा मुख्यभूमि चीनमा भन्दा बढी स्वतन्त्रता, छुट्टै कानुनी व्यवस्था र आफ्नै न्याय प्रणाली रहेको छ। विदेश र रक्षा नीतिबाहेकमा चीन सरकारले हङकङलाई स्वायत्तता प्रदान गरेको छ। तर पछिल्लो सुपुर्दगी विधेयकले हङकङको न्यायिक स्वतन्त्रतामा कमी आउने भन्दै व्यापक प्रदर्शन भए पनि पछिल्ला केही महिनादेखि हङकङका प्रदर्शनकारीले विशेषतः पाँचवटा माग अघि सारेका छन्। जसमा, प्रशासनले प्रदर्शनलाई ‘दंगा’ भनेर परिभाषित गरेकाले सो फिर्ता हुनुपर्ने, पक्राउ परेका सबैलाई माफी दिइनुपर्ने, प्रदर्शनकारीमाथि प्रहरीद्वारा गरिएको बल प्रयोगको जाँचबुझका लागि स्वतन्त्र आयोग गठन गर्नुपर्ने र हङकङको प्रमुख कार्यकारी र विधायन परिषद्को निर्वाचनका लागि विश्वव्यापी मान्यता प्राप्त हुनुपर्ने  रहेका छन्।

प्रकाशित: २६ कार्तिक २०७६ ०२:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App