१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पूर्वाधार विकास साझेदारी कार्यक्रमको बजेट अनिर्णित

खोटाङ – उपनिर्वाचन आचारसंहिताका कारण खोटाङमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमतर्फको बजेट विनियोजनको काम प्रभावित भएको छ। योजना तथा बजेटको टुंगो लगाउन आइतबार जिल्ला समन्वय समितिको सभाहलमा बोलाइएको परामर्श समितिको बैठकमा आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको आचारसंहिता लागू भइसकेको भन्दै आवाज उठेपछि विषयवस्तुमा प्रवेश नै नगरी बैठक टुंगिएको छ। लामो समयसम्म ‘बैठक बस्ने र नबस्ने’ भन्ने विषयमा छलफल भएपछि अन्तिममा अर्को पटकका लागि बैठक सारिएको सहभागीले बताएका छन्।

कात्तिकभित्र विनियोजन गरिसक्नुपर्ने स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमतर्फको बजेट तथा कार्यक्रम निर्वाचन आचारसंहिताका कारण अनिर्णित बनेको समितिका संयोजक रहेका प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईले बताए। निर्वाचन आचारसंहिता लागू भइसकेकाले हालका लागि स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रमको बजेट बिनियोजन सम्वन्धी बैठक स्थगनको माग गर्दै कांग्रेसका जिल्ला सदस्य ज्ञानेन्द्र जोशीले गत शुक्रबार जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएका थिए। निबेदनका आधारमा परामर्श समितिको बैठकको शुरुमै कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले निर्वाचन आचार संहिताको प्रश्न उठाएका थिए।

कांग्रेस सचिवको निवेदन परेपछि निर्वाचन कार्यालयले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको बजेट विनियोजनसम्बन्धी बैठक बस्न ‘मिल्ने÷नमिल्ने’ भन्नेबारे निर्वाचन आयोगलाई सोधेको र आयोगको जवाफ आएपछि सोही अनुसार बैठक बसेर बजेट विनियोजनको टुंगो लगाइने प्रतिनिधिसभा सदस्य भट्टराईले बताए। साकेला गाउँपालिका–३ खिदिमामा वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुन गइरहेकाले कांग्रेसले आचारसंहिताको विषय उठाएको जनाएको छ।

‘कात्तिकभित्र स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको बजेट विनियोजन गरिसक्नुपर्ने व्यवस्था छ,’ भट्टराईले भने, ‘सहमती जुटेको भए बजेट तथा कार्यक्रमको टुंगो लाग्थ्यो तर, सहमती नभएकाले निर्वाचन आयोगबाट आउने जवाफका आधारमा निर्णयमा पुग्ने तयारी गरेका छौं।’ निर्वाचन आचारसंहिताको विषयले बैठकमा अनौपचारिक छलफल मात्र भएको दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए।
 

प्रकाशित: २६ कार्तिक २०७६ ०२:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App