१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

डाक्टर केसी पक्षमा समर्थन बढ्दै

डाक्टर केसीको समर्थनमा सोमबार जिल्ला सदरमुकाममा कालोपट्टि बाँधेर गरिएको प्रदर्शनसँगै तुफानडाँडा चोकमा गरिएको कोणसभा। तस्बिरःनागरिक

डडेल्धुरा – १७ औं पटक सत्याग्रह (आमरण अनशन) थालेका डाक्टर गोविन्द केसीले डडेल्धुराबाट नजाने अडान लिएका छन्। चिकित्सा शिक्षा र सर्वसुलभ स्वास्थ्य उपचारसम्बन्धी सात बुँदे माग राखी आठ दिनदेखि अनशनमा रहेका डाक्टर केसीले सरकारले माग पूरा गर्ने प्रयास वा कुनै वार्ता नै नगरी यहाँबाट अपहरण शैलीमा काठमाडौं लैजान खोजेको भन्दै आफू कहीं कतै नजाने अडान दोह-याएका हुन्।

डाक्टर केसीलाई यहाँबाट लैजान काठमाडौंबाट सोमबार बिहानै हेलिकोप्टर डडेल्धुरा पुगेको थियो। प्रहरीले उनलाई अस्पतालबाट बाहिर ल्याउने प्रयास पनि गरेका थिए। तर डाक्टर केसीले कुनै वार्ताबिना नै सरकारले अपहरण शैलीमा लैजान लागेको भन्दै आफू नजाने अडान राखेका हुन्। सिविल प्रहरीले सोमबार बिहान आठ बजेतिर उनलाई अस्पतालबाट बाहिर निकाल्ने प्रयास गरेका थिए। डाक्टर केसीले यहाँबाट कतै जान नमानेपछि हेलिकोप्टर फर्केको थियो।

लगत्तै नागरिक समाजको अगुवाइमा सातायता भइरहेको नियमित प्रदर्शनले डडेल्धुरा सदरमुकामा उग्र रूप लिएपछि निकैबेर सडक बन्द भयो। शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेको तथा डाक्टर केसीका मागको बेवास्ता गरी डडेल्धुराबाट लैजान खोजेको भन्दै स्थानीयले सडकमा टायर बालेर सडक जाम गरेका थिए। बिहानदेखि बन्द गरिएको सडक दिउँसोपछि मात्रै खुलेको थियो।

डाक्टर केसीको स्वास्थ्यमा समस्या आएको र यहाँँ उपचारमा समस्या हुने भन्दै प्रशासनले बल प्रयोग गरी उनलाई बाहिर लैजाने प्रयास गरेको थियो। दुर्गमका स्थानीयको स्वास्थ्य उपचारमा सहज पहुँच पुगोस् भनी सत्याग्रह थालेको बताउँदै डाक्टर केसीले आफ्नो उपचारभन्दा पनि माग सम्बोधनको प्रयास सरकारले गर्नुपर्ने औंल्याए।

सरकारले मेरो स्वास्थ्यको ख्याल राखेर हेलिकोप्टर पठाउनुभन्दा जनताको स्वास्थ्यको ख्याल राख्दै अस्पतालमा चिकित्सक पठाउनुप-यो पहिला : डाक्टर केसी

संघीय सरकारको मातहतमा रहेको डडेल्धुरा अस्पतालमा तीनजना मात्रै चिकित्सक छन्। दक्ष जनशक्ति पर्याप्त नभएको एवं आइसियु कक्ष तथा स्वास्थ्य उपचारका लागि आवश्यक सामग्रीसमेत नरहेको अस्पतालले जनाएपछि उनलाई यहाँँबाट बाहिर लैजाने प्रयास गरिएको थियो।

अस्पतालमा दरबन्दीअनुसार चिकित्सक, दक्ष जनशक्ति, आवश्यक सामग्रीको व्यवस्थापन, डडेल्धुरा वा डोटीमा मेडिकल कलेज स्थापनालगायत सातवटा माग सरकारसँग गरिएकाले माग सम्बोधन नभएसम्म डडेल्धुरामा नै आमरण अनशन जारी राख्ने डाक्टर केसीको अडान छ। आफूहरूसँग कुनै जानकारी कुराकानीसमेत नगरी प्रहरी–प्रशासनले एकलौटी ढंगले अस्पतालबाट लैजान खोजेकाले आन्दोलन र मागहरू कडा खालका रहने उनको भनाइ छ।

यद्यपि डडेल्धुरा अस्पतालमा दरबन्दीअनुसारका स्वास्थ्यकर्मी प्रतिनिधसहित आए र सरकारले वार्ताका लागि आवश्यक पहल गरे आफू काठमाडौंमा गएर पनि अनशन बस्ने डाक्टर केसीको भनाइ छ। ‘सरकारले मेरो स्वास्थ्यको ख्याल राख्नुभन्दा यहाँका स्थानीयको स्वास्थ्यको ख्याल राख्दै अस्पतालमा चिकित्सक पठाउनुप¥यो,’ डाक्टर केसीले भने, ‘मलाई लैजान हेलिकोप्टर पठाउनुपर्दैन। म आफैं पनि काठमाडौं जान सक्छु।’
सुदूरपश्चिमका मुख्यमन्त्री तथा प्रमुख जिल्ला अधिकारीले कुराकानी गर्ने इच्छा राखे पनि उनले बोल्न मानेन्न। उनलाई भेट्न प्रमुख जिल्ला अधिकारी राजुराज पौडेल अस्पताल पुगेका थिए। प्रमुख जिल्ला अधिकारीमार्फत नै मुख्यमन्त्री त्रिलोचन भट्टले कुराकानी गर्ने भनेका थिए। तर उनले कुरा गर्न नचाहेपछि त्यसै फर्केको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए।

बिहान प्रहरी–प्रशासनले बल प्रयोग गरेको तथा यसअघि सरकारसँग पटकपटक भएका सम्झौता कार्यान्वयन नभएकाले मुख्यमन्त्री वा प्रमुख जिल्ला अधिकारीलाई भेटेर कुरा गर्नुको कुनै औचित्य नठानी कुराकानी नगरेको उनका समर्थनमा डडेल्धुरा पुगेका डाक्टर तोसिमा कार्कीले बताइन्।

‘यहाँका सबै स्थानीयले स्वास्थ्य उपचार पाउन् भनी डाक्टर केसी सत्याग्रहमा छन्,’ डाक्टर कार्कीले भनिन्, ‘मेरो उपचार गर्नुभन्दा पनि सरकारले उपचार नपाएर बर्सेनि सयौंको संख्यामा ज्यान गुमाइरहेका स्थानीयको उपचारका लागि डडेल्धुरालगायत सबै अस्पतालमा दरबन्दी अनुसारका स्वास्थ्यकर्मी पठाउनुप-यो र मेडिकल कलेज सञ्चालनका लागि निर्णय गरी तत्काल लागू गर्नुप-यो भन्ने माग सरको छ।’

समर्थनमा दिनहुँ प्रदर्शन
डाक्टर केसीले राखेका मागमा समर्थन जनाउँदै डडेल्धुरा सदरमुकाममा दिनहुँ प्रदर्शन हुँदै आएका छन्। डडेल्धुरासहित कैलाली, बैतडी, डोटीका नागरिक समाजलगायत विभिन्न संघ/संस्थाले उनका मागमा ऐक्यबद्धता जनाउँदै माग सम्बोधनका लागि सरकारलाई जुनसुकै दबाव दिन पछि नहट्ने बताउँदै आएका छन्।

बागबजारको बसपार्कबाट सोमबार कालोपट्टि बाँधी निकालिएको -याली तुफानडाँडा हुँदै अस्पतालबाहिर पुगी नारा लगाउँदै पुनः तुफानडाँडा चोकमा पुगी कोणसभा गरिएको थियो। कोणसभालाई सम्बोधन गर्दै सुदूरपश्चिम प्रदेश सांसद गोविन्द बोहरा, जनमोर्चा नेपालका जिल्ला अध्यक्ष पदम ओली, नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रीय महामन्त्री कुन्दन काफ्ले, नेपाल चेम्बर्स अफ कमर्स सुदूरपश्चिम संयोजक प्रकाश साउद, नेवि संघ बैतडी, डोटी सभापतिहरूले सम्बोधन गर्दै डाक्टर केसीका माग माफियाविरुद्ध र आम सर्वसाधारण नेपालीका हितका पक्षमा भएकाले राज्यले तत्काल सम्बोधन गर्नुपर्ने बताए। माग सम्बोधन नभए आन्दोलनका कुनै पनि कार्यक्रम गर्न पछि नहट्ने उनीहरूको चेतावनी थियो।

डाक्टर केसीका माग सरकार ढाल्ने पक्षमा नभई संविधानमा मौलिक हकमा रूपमा उल्लेख गरिएका शिक्षा, स्वास्थ्यसम्बन्धी भएकाले माग पूरा गरी जनतालाई सहजता र सरकारलाई हौसला प्रदान गर्नतर्फ अग्रसर हुन प्रदेश सांसद बोहराले अनुरोध गरे।

स्थानीय सरकार प्रमुख स्थानीयका लागि उठान गरेका मागका बिषयमा उदासिन भएको बताउँदै नेपाल कसर्म अफ चेम्बर सुदूरपश्चिम संयोजक साउदले २००७ सालदेखि विभिन्न आन्दोलन हुँदै आएको र परिवर्तन पनि हुँदै आएकाले यो आन्दोलनले पनि परिवर्तन ल्याउने ठोकुवा गरे। गाउँका सिंहदरबार र प्रदेशका सिंहदरबारले आवश्यक प्रक्रिया थाली स्थानीयको शिक्षा र स्वास्थ्यमा पहुँच पु¥याउन डाक्टर केसीका माग सम्बोधनतर्फ नभई उनलाई पागलको संज्ञा दिन लागिपरेको उनले बताए।

मंगलबार सुदूरपश्चिम क्षेत्रकै ठुलो मेला उग्रतारा मन्दिरको मेला परेकाले प्रशासन कार्यालयमा भएको सर्वपक्षिय छलफल पछि अवरुद्ध सडक सञ्चालन गरिएको स्वतन्त्र विद्यार्थी संघका अध्यक्ष जगत ऐरले बताए। ऐरका अनुसार मेलामा आउने दर्शनार्थीलगायत यात्रुको समस्यालाई ध्यानमा राखी दिउँसोदेखि सडक जाम खोलिएको हो। ‘डाक्टर केसीको समर्थनमा दिनहुँ शन्तिपूर्ण तवरले प्रदर्शन हुँदै आएका थिए,’ उनले भने, ‘सोमबार प्रहरी–प्रशासनले कुनै जानकारीबिना उहाँलाई जबरजस्ती लैजान खाजेपछि सडकमा टायर जलाई बन्दसमेत गर्नुप¥यो। यसका लागि नागरिक समाजलगायत प्रदर्शनमा उत्रिएका स्थानीय माफी चाहन्छौं।’

प्रदर्शनकारीहरूका अनुसार वार्ता वा कुनै सहमतिबिना डाक्टर केसीलाई यहाँबाट कहीं कतै नलैजाने भन्ने छलफलमा टुंगो लागेको छ। मंगलबार उग्रतारा मेलमा पनि हस्ताक्षर संकलन गर्ने कार्यक्रम छ। यदि प्रहरी–प्रशासनले चलाकी गरे जुनसुकै अवस्थामा कुनै पनि खालको आन्दोलन हुन सक्नेछ।

सरकारविरुद्ध दबाब बढाउन स्थानीय सरकारसमेत बहिस्कार गर्ने तयारी डडेल्धुरावासीले थालेका छन्। आइतबारदेखि सरकारी गाडी सञ्चालनमा रोक लगाइएको छ। स्थानीयको हितका माग राखी डाक्टर केसी अनशनमा भए पनि स्थानीय सरकार प्रमुख तथा जनप्रतिनिधिहरू सकारात्मक भूमिका निर्वाह गर्न पछि हटेको भन्दै केसी पक्षधरहरूले स्थानीय सरकारलाई बहिस्कार गर्ने तयारी थालेका हुन्।

डाक्टर सोसाइटी अफ नेपालको वक्तव्य
अनशनरत डाक्टर केसीको माग सम्बोधन गरी तत्कालै डडेल्धुरा अस्पतालमा आवश्यक व्यवस्थापन गर्न र वार्ताको वातावरण तयार गर्न माग गर्दै डाक्टर सोसाइटी अफ नेपालले प्रेस वक्तव्य जारी गरेको छ। चिकित्सा शिक्षाको लामो संघर्ष थुपै्र आरोह–अवरोहपछि फेरि एकपटक संवेदनशील मोडमा आइपुगेको डाक्टर सोसाइटीको भनाइ छ। ‘१६ औं अनशनपश्चात राज्यद्वारा प्रतिबद्ध मागहरू पूरा नभएकाले कात्तिक १८ गतेदेखि डाक्टर केसीले डडेल्धुराबाट १७ औं अनशन थालेकोमा सोमबार आठ दिन पुगी सक्दा पनि राज्यको तर्फबाट कुनै पहलकदमी नहुनु अत्यन्तै खेदपूर्ण छ,’ प्रेस वक्तव्यमा भनिएको छ।

‘डाक्टर केसीको रगतमा चिनीको मात्राले अक्सिजनजस्ता सूचकांकहरू तलमाथि भइरहेको अवस्था छ। डडेल्धुरा अस्पतालमा भौतिक पूर्वाधार र आवश्यक जनशक्तिको अभावले उक्त विषम परिस्थिति खडा भएको हो। दैनिक सयौं बिरामीहरू आउने अस्पतालमा सरकारको कर्मचारी समायोजन नीति कार्यान्वयन भएसँगै हाल तीनजना चिकित्सकमात्र कार्यरत भएको हुँदा तत्काल अस्पतालमा आवश्यक जनशक्तिको व्यवस्था गरी अस्पताललाई सुविधा सम्पन्न बनाउनुपर्ने अवस्था छ,’ सोसाइटीका तर्फबाट डाक्टर तोसिमा कार्की, डाक्टर कालुसिंह खत्री, डाक्टर पुष्पमणि खराल र डाक्टर कविराजद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा लेखिएको छ, ‘१५ औं अनशनझैं राज्यले अपहरण शैलीमा सत्याग्रहीलाई उठाउन खोज्नु अत्यन्त खेदपूर्ण छ। कुनै पनि बहानामा राज्य समस्या सम्बोधनतर्फ भन्दा मुठभेडतर्फ अग्रसर हुनुले भोलिका दिनमा राज्यलाई अझै क्षति हुने निश्चित छ।’

प्रकाशित: २६ कार्तिक २०७६ ०२:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App