१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

अतिक्रमणले सुस्तावासी दशकौंदेखि पीडामा

बुटवल – भारतीय पक्षको सीमा अतिक्रमणका कारण सुस्तावासी वर्षौंदेखि प्रताडित छन्। २०२२ सालमा बस्ती बसाइएको सुस्ताको क्षेत्रफल ४० हजार ९ सय ८० वर्गकिलोमिटर छ। त्यसमध्ये अहिले सात हजार हेक्टर जमिनमात्रै नेपालीले उपभोग गर्न पाएका छन्। करिब १४ हजार हेक्टर जमिन भारतले अतिक्रमण गरेको सुस्ता बचाउ अभियानका अध्यक्ष गोपाल गुरुङले बताए। १९ हजार हेक्टर जमिन सीमास्तम्भ नहुँदा विवादित भएको भन्दै कुनै पनि पक्षले उपयोग नगर्ने सर्तसहित त्यसै छाडिएको छ। यो भागमा अहिले घना जंगल बनेको छ।

गुरुङका अनुसार सीमास्तम्भ नहुँदा सुस्तामा भारतीय पक्षले २०३४ सालदेखि नेपाली भूमि अतिक्रमण गर्न सुरु गरेको हो। त्यसयता १४ हजार हेक्टर जमिन अतिक्रमण गरी भारतीयले बस्ती बसालेका छन्। बाँकी जमिनमा पनि विवाद बढ्दै गएपछि २०६२ सालमा दुवैतर्फका सम्बन्धित जिल्लाका प्रशासन प्रमुख तथा स्थानीय प्रशासनको सहमतिमा एउटा ठूलो सिमलको रुखलाई अस्थायी सीमा तोकियो। त्यति बेलै १९ हजार ४ सय ८० हेक्टर जमिन कसैले जोतभोग नगर्ने समझदारीसहित तत्कालका लागि समस्या समाधानको प्रयास गरिएको सुस्ता बचाउ अभियानका अध्यक्ष गुरुङले बताए।

त्यसयता सीमा विवाद समाधानका लागि पटकपटक सरकारलाई गुहारे पनि ठोस पहल नभएको अभियानका अध्यक्ष गुरुङले गुनासो गरे। उनका अनुसार अहिले सो क्षेत्रमा एउटा सिमलको रुखलाई आधार मानेर पारि भारतीय एसएसबीले सुरक्षा गस्ती गर्छ, वारि नेपालको सशस्त्र प्रहरीले। गस्ती गर्दागर्दै पनि भारतीय पक्षले बेलाबखत त्यही जंगल पनि अतिक्रमण गर्ने गरेको गुनासो सुस्तावासीको छ। जमिनकै विषयलाइ लिएर पटकपटक दुई देशका स्थानीयबीच विवाद भइरहन्छ। त्यस्ता विवादमा भारतीय सुरक्षाकर्मीले समेत नेपालीको दोष देखाउँदै ठोकिदिने धम्कीसमेत दिने गरेको सुस्ता बचाउ अभियानका सदस्य रवीन्द्र जैसवालले बताए। नेपाली भूमिमै बसेर पनि भारतीयको थिचोमिचो सहनुपर्दा सुस्तावासीको मनमा सरकार तथा राज्यप्रति आक्रोश भरिएको उनले बताए।

‘हामीले सरकारसँग केही मागेका छैनौं। सीमा छुट्याइदेऊ, हामीले हाम्रो भूमि जोतेर खान्छौं मात्रै भनेका हौं’, जैसवालले भने। नारायणीपारिको सुस्ता पुग्न नदीमा पुल नहुँदा वर्षामा नेपालीले भारतको बाटो प्रयोग गर्नुपर्छ। भारतीय पक्षले त्यही बाटो पनि हिँड्न नदिएर दुःख दिने गरेको जैसवालले बताए। हिउँदमा भने नेपालीहरु डुंगा चढेर नारायणी वारपार गर्छन्। २ सय ७२ घरधुरी रहेको सुस्तामा ३ हजार १ सय ३३ जनसंख्या छ। तीमध्ये ३ सयको मात्रै नागरिकता रहेको सुस्ता बचाउ अभियानका सदस्य जैसवालले बताए।

प्रकाशित: २६ कार्तिक २०७६ ०१:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App