१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

राजधानीमै सार्वजनिक शौचालय अभाव

डुक्पा छिरिङ मोक्तान

काठमाडौं - संघीय राजधानी काठमाडौंमा पर्याप्त सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणले हैरानी खेप्नुपरेको छ। पर्याप्त सार्वजनिक शौचालय नहुँदा बजार क्षेत्रका यात्रीले शौच रोकेर बस्न बाध्य छन्। यसको सबैभन्दा बढी मार अपांगता भएका व्यक्ति तथा महिलाले बढी समस्या भोग्नुपरेको छ।

काठमाडौं महानगरपालिकाको निजी साझेदारी इकाई प्रमुख धु्रव काफ्लेका अनुसार काठमाडौं महानगरमा ३८ सार्वजनिक शौचालय छन्। तीमध्ये महिला तथा अपांगमैत्रि सार्वजनिक शौचालय भने नभएको उनले बताए।

ललितपुर महानगरपालिकामा ११, कीर्तिपुर नगरपालिकामा १० र मध्यपुर ठिमी नगरपालिकामा भने ६ सार्वजनिक शौचालय छन्। जमलस्थित फुटपाथमा पानी बेच्दै आएका बासुदेव दंगाल सार्वजनिक शौचालय नहुँदा शौच लाग्दा मल वा होटलमा जान बाध्य भएको दुखेसो सुनाउँछन्।

रत्नपार्क क्षेत्रमा १६ वर्षदेखि आर्युवेदिक औषधि बेच्दै आएका विष्णुप्रसाद भुसाल राजधानीका सार्वजनिक शौचालय व्यवस्थित र सफा नभएको बताउँछन्। ‘आकाशे पुलमुनिका शौचालय फोहोर थुपार्ने ‘डम्पिङ साइट’मा परिणत भइसकेको छ,’ उनले भने।

पुरानो बसपार्कमा केही महिनादेखि फलफूल बेच्दै आएकी दिलमाया तामाङ राजधानीका केही शौचालय सुरक्षित नभएको बताउँछन्। ‘सार्वजनिक शौचालयमा न बत्ती छ, न त ढोकाको चुक्कल लाग्छ,’ उनले भनिन्।

राजधानीका शौचालय महिलामैत्रि पनि नभएको उनको भनाइ छ। जसका कारण महिनावारी हुँदा प्याड राख्न समस्या हुने गरेको उनले बताइन्। त्यसो त राजधानीका कतिपय सार्वजनिक शौचालय प्रयोगविहीन छन्। पानी अभाव, ढोकाको चुक्कुल बिग्रनुलगायत कारणले सार्वजनिक शौचालय प्रयोगविहीन भएको सर्वसाधारण बताउँछन्।

सार्वजनिक शौचालयको विकल्पमा घुम्ती शौचालय राखिए पनि त्यति प्रभावकारी देखिएको छैन। राजधानीमा भएका सार्वजनिक शौचालय पनि अस्तव्यस्त छन्। रत्नपार्क, जमल, पुरानो बसपार्क र कोटेश्वरको आकाशे पुलमुनि रहेका सार्वजनिक शौचालय गन्हाएर निस्सासिने अवस्थामा रहेको सर्वसाधारण बताउँछन्।

फुटपाथ व्यापारी छत्रप्रसाद कँडेल राजधानीका सार्वजनिक शौचालय सुविधा दिनभन्दा पनि पैसा असुल्नका लागि संचालन गरिएको आरोप लगाउँछन्। ‘राजधानीका शौचालयमा पैसा संकलन गर्ने मानिस राखिएको छ। तर, न यहाँ सरसफाइ छ न त पानीको व्यवस्थापन नै छ।’ राजधानीमा सार्वजनिक शौचालयमा पिसाव गरेको ५ र दिसा गरेको १० रूपैयाँ तिर्नुपर्छ।

शौचालयको व्यवस्थापनमा महानगरलगायत अन्य सरोकारवालाले चासो नदिएको सर्वसाधारणको गुनासो छ। प्रमुख काफ्लेका अनुसार महानगरपालिकाले २०७३ सालमा १ सय ३० सार्वजनिक शौचालय बनाउन दुई करोड बजेट छुट्याइएको थियो। तर, शौचालय भने निर्माण हुन सकेन। गत आर्थिक वर्षमा वडा नागरिक मञ्चले उपत्यकामा चार सयभन्दा बढी शौचालय आवश्यक रहेको प्रतिवेदन महानगरलाई बुझाएको उनले जानकारी दिए। काठमाडौं महानगरका प्रवक्ता ईश्वरमान डंगोलले सहरवासीको आवश्यकता हेरेर स्मार्ट शौचालयको योजना बनाइएको बताउँछन्।

प्रकाशित: २४ कार्तिक २०७६ ०२:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App