१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

स्थानीय तह यथावत राख्नु पर्ने भन्दै अनिश्चितकालिन सडक बन्द

खोटाङ– खोटाङमा स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिले प्रस्ताव गरेको गाउँपालिकालाई यथावत कायम गर्नुपर्ने मागमा स्थानीयले सडक बन्द गरेका छन्।

प्रस्तावित दिप्रुङ गाउँपालिकालाई यथावत राख्नुपर्ने माग गर्दै छोरम्बु, सछितापोखरी, बतासे र छितापोखरी गाबिसका स्थानीयले सोमबारदेखि सगरमाथा क्षेत्रीय सडक खण्डअन्तरगत टुवा खोला–रेग्मीटार सडक र खरुवा खोला–टुवा खोला सडक बन्द गरेका हुन्। याम्खा, डाँडागाउँ, छोरम्बु, सछितापोखरी, बतासे र छितापोखरी गाविसलाई समेटेर दिप्रुङ गाउँपालिका बनाउने प्रस्तावलाई यथावत राख्नुपर्ने पक्षमा उनीहरुले अनिश्चित कालका लागि सडक बन्द गरेको बताएका छन्।

प्राविधिक समितिले प्रस्ताव गरेको दिप्रुङ गाउँपालिकाको संरचनालाई फेरबदल गर्न खोजिएकाले विरोधमा सडक बन्दमा उत्रनु परेको दिप्रुङ गाउँपालिका संघर्ष समितिका संयोजक मेरुकुमार राईले बताए ।

टेम्मा गाविसलाई दिप्रुङ गाउँपालिकामा समेटेर केन्द्र परिवर्तन गर्नुपर्ने पक्षमा याम्खा, डाँडागाउँ र टेम्माका स्थानीय संघर्षमा उत्रिएपछि छोरम्बु, सछितापोखरी, बतासे र छितापोखरी गाविसका स्थानीयले प्रस्ताबित खाकालाई फेरबदल गर्न नदिने पक्षमा आन्दोलन चर्काएका हुन्। सडक बन्द भएपछि दिक्तेलबाट फोक्सिङटार हुँदै गाईघाट जाने यात्रु मारमा परेका छन्।

प्रस्ताबित दिप्रुङ गाउँपालिको नाम, सिमाना र केन्द्रलाई फेरबदल गरिए गाईघाट–दिक्तेल ३३ केभीए बिद्यूत प्रशारणलाइनसमेत काट्ने तयारी गरिएको संघर्ष समितिका संयोजक राईले चेतावनी दिए । सछितापोखरीको पञ्चमीबजारमा साउन १३ गते भएको भेलाको निर्णय तथा साउन २२ गते सोही ठाउँमा पुगेको प्राविधिक समितिलाई दिइएको सुझावका आधारमा प्रस्ताव गरिएका कारण दिप्रुङ गाउँपालिकालाई यथावत राख्नुपर्ने संघर्ष समितिको अडान छ ।

समितिले साकेला गाउँपालिकामा राखेको टेम्मालाई दिप्रुङ गाउँपालिकामा समाबेश गरेर केन्द्र परिवर्तन गर्नुपर्ने मागमा याम्खा, डाँडागाउँ र टेम्माका स्थानीयले आईतबार जिबिसमा धर्ना दिएका थिए । मागका बिषयमा प्राबिधिक सहयोग समिति र उनीहरुबीचको वार्ता अझै निष्कर्षमा पुग्न सकेको छैन ।

यस्तै, खार्मी, पाथेका, बासपानी, खार्ताम्छा र फेदीलाई समेटेर साम्पाङ दुमी गाउँपालिका तथा लामीडाँडा, खार्पा, कुभिण्डे, हौंचुर, डुम्रेधारापानी र दुबेकोल गाबिसलाई समेटेर रावा गाउँपालिका बनाउन माग गर्दै आन्दोलनमा उत्रिएका स्थानीसँग पनि प्राबिधिक समितिले छुट्टाछुट्टै छलफल गरिरहेको छ । गत कार्तिक ८ र ९ गतेको प्राबिधिक समितिको बैठकले खोटाङबाट दुई नगरपालिका र आठ गाउँपालिका बनाउन गाउँपालिका, नगरपालिका तथा बिशेष संरक्षित वा स्वयत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण आयोग समक्ष सिफारिस गरेको थियो ।

प्रकाशित: २० मंसिर २०७३ १३:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App