१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

घुँडा र नितम्ब प्रत्यारोपण गर्न सकिन्छ

सिभिल अस्पतालमा विगत १० वर्षदेखि नियमित जोर्नी प्रत्यारोपण भइरहेको छ। विशेष हिप (नितम्ब) र घुँडाको जोर्नी बिग्रेमा प्रत्यारोपण गर्न सकिन्छ। कस्तो कस्तो अवस्थामा घुुँडा र हिपको प्रत्यारोपण गर्न सकिन्छ ? यो उपचार कत्तिको प्रभावकारी छ ? लगायत विषयमा प्रस्तुत छ, बंगलादेशमा हाडजोर्नीसम्बन्धी अध्ययन र भारतको एपोलो अस्पतालबाट जोर्नी प्रत्यारोपणसम्बन्धी फेलोसिप गरेका सिभिल अस्पतालका निर्देशक तथा हाडजोर्नी विशेषज्ञ डा. दीर्घराज आरसीसित नागरिककर्मी पवित्रा सुनारले गरेको कुराकानीको सम्पादित अंश:

सरकारी चिकित्सकको रूपमा सेवा गरेको कति वर्ष भयो ?
विगत २५ वर्षदेखि यो सेवामा छु। सिभिल अस्पतालमा मात्र ८ वर्ष बिताएँ।

यहाँलाई हाडजोर्नी विशेषज्ञ भन्ने कि जोर्नी प्रत्यारोपण विशेषज्ञ ?
अहिले मुख्य गरी  घुँडा र हिप (नितम्ब) दुवैको प्रत्यारोपण गर्ने गर्छु। यो काम अन्य हाडजोर्नी विशेषज्ञले पनि गर्न सक्छन्। जोर्नी प्रत्यारोपणको फेलोसिप गरेपछि मात्र म यो गर्न थालेको हुँ। जोर्नी प्रत्यारोपण पनि हाडजोर्नी विषयकै एउटा पाटो हो।

जोर्नी प्रत्यारोपण गर्न थालेको कति भयो ?
–१० वर्ष भयो।

कति जनामा जोर्नी प्रत्यारोपण गर्नुभयो ?
–६  सय जनामा गरिसकें।

उनीहरूको अवस्था कस्तो छ ?
–९८ प्रतिशतको राम्रो छ।

बाँकी दुई प्रतिशत कता गए ?
–बाँकी दुई प्रतिशतको त्यति राम्रो नभएको अवस्था छ। कारण कतिपयको बाथलगायत अन्य रोगका कारण, हड्डी बिग्रेको अवस्थामा, पक्षघात भएका, पार्किन्सन भएका व्यक्तिको उपचारमा परिणाम राम्रो हुँदैन। साथै कसैकसैको हड्डीको गुणस्तर नै कमजोर भएकाले पनि राम्रो हुँदैन भने केही प्रतिशतमा घाउ पाकेर बिग्रिन्छ।

नितम्ब बिग्रिनुको कारण के के हुन् ?
–हिप बिग्रिने धेरै कारण छन्। उमेरका कारण हड्डी खिइएर, चोटपटक लागेर, बाथरोग र संक्रमणका कारण हिप तथा घुँडाको जोर्नी बिग्रिन सक्छ। बाथको औषधिले काम गरे पनि नगरे पनि बाथ भएकाहरूको जोर्नी बिग्रिन सक्छ। कतिपयको जन्मजातै हिपको आकार नमिलेको हुन्छ।  यस्ता मानिसमा पनि हिप प्रत्यारोपण गर्नुपर्ने हुन्छ।
 
घुँडा र हिप बिग्रिनुको एउटै कारण ?
–धेरैजसो समान कारण नै छन्। बाथरोग, हड्डीको संक्रमण, जन्मजात हड्डी कमजोर हुनु, वृद्ध अवस्थामा हड्डी खिइँदै जानु, जोर्नीमा चोटपटक लाग्नुजस्ता कारणले यी दुवै भाग बिग्रिन्छन्।

घुँडा बिग्रिने धेरै छन् कि हिप बिग्रिने कारण धेरै छन् ?
–घुँडा बिग्रिने कारण धेरै छन्। हिपलाई भन्दा बढी शरीरको भार घुँडालाई पर्ने भएकाले यो भाग बिग्रिने समस्या धेरै भएको हो। चाहिनेभन्दा बढी हि“डेमा पनि घुँडालाई बढी भार पर्छ र खिइँदै गएर त्यसले काम गर्न नसक्ने अवस्था आउँछ।

घुँडा प्रत्यारोपण भनेको के हो ?
–मान्छेले घुँडा प्रत्यारोपण भन्नेबित्तिकै मिर्गौला र कलेजो प्रत्यारोपण गरे जस्तो एउटा मानिसको अंग निकालेर अर्को मानिसमा राखिने भन्ने बुझाइ छ। तर जोर्नी प्रत्यारोपणको हकमा यो सूत्र लागू हुँदैन। घुँडा तथा हिपको बिग्रेको भागलाई निकालेर कृत्रिम घुँडाको जोर्नी राख्ने प्रक्रिया हो। यो जोर्नी प्लास्टिक र धातुको कृत्रिम वस्तु हुन्छ। घुँडाको बीच भागमा खाली ठाउँ हुन्छ। त्यही खाली ठाउँमा पेल्सिक अंग राखिन्छ र पछि गएर त्यसले काम गर्न सुरु गर्छ। कृत्रिम घुँडा तथा हिप भने हामी ९० प्रतिशत अमेरिकामा बनेका र १० प्रतिशत जर्मन र भारतमा बनेका प्रयोग गर्छौं। त्यसैले हामीकहाँ यो जोर्नी प्रत्यारोपण महँगो परेको हो। यी महँगा भए पनि भरपर्दा भएकाले हामी  सकेसम्म अमेरिकामा बनेकै प्रत्यारोपण गर्छौं।

हिप प्रत्यारोण भनेको के हो ?
–हिप शरीरको (नितम्ब) को पेल्भिसभमा प्लास्टिक लिनर  जडान गरिन्छ। यो राखेपछि हिपले आफ्नो काम गर्न सुरु गर्छ। यस्तो प्रत्यारोपण गरिएको हिपले १५ देखि २५ वर्षसम्म काम गर्छ।

काम गर्न छोडेपछि पुनः प्रत्यारोपण गर्न मिल्छ कि मिल्दैन ?
–काम गर्न छोडेपछि पनि पुनः कृत्रिम जोर्नी राख्न मिल्छ।

जोर्नी प्रत्यारोपणपछि कुनै जटिलता हुन्छ कि हुँदैन ?
–जुनसुकै शल्यक्रियामा अवरोध आउँछ। पत्थरी र मिर्गौलाको शल्यक्रियामा जटिलता आउन सक्छ। त्यसै गरी जोर्नी प्रत्यारोपणमा पनि जटिलता आउन सक्छ। जस्तो कि प्रत्यारोपणको कारण त्यो भागको नसा तन्किएर घुुँडा या खुट्टा नचल्न सक्छ, नसा चुँडिन सक्छ, प्रत्यारोपण गरेकै अंग फुस्किन सक्छ। घाउबाट रगत बग्न सक्छ र संक्रमण भई निमोनियाँ पनि हुन सक्छ।

प्रत्यारोपण भएको अंग फुत्कियो भने के गर्ने त ?
पुनः शल्यक्रिया गरेर मिलाउन सकिन्छ।

घुँडा प्रत्यारोपणपछि कति दिनमा हिँड्न सकिने हुन्छ ?
–घुँडा प्रत्यारोपण गरेको तेस्रो दिनमै हामी बिरामीलाई हिँडाउन सुरु गर्छौं। अस्पताल बस्नुपर्ने पाँच दिन मात्र हो। जोर्नीलाई चलाउन फिजियोथेरापी गर्नुपर्छ तर राम्रोसँग हिँड्न मिल्नको लागि भने दुई÷तीन महिना लाग्छ।

क्तिजनाको हिप प्रत्यारोपण गर्नुभयो ?
–मैले मात्र २ सय जनाको हिप प्रत्यारोपण गरिसकेको छु।

कुन उमेर समूहमा हिप प्रत्यारोपण गर्नुपर्ने हुन्छ।
–समस्याअनुसार जुनसुकै उमेरकाहरूको पनि हिप प्रत्यारोपण गर्नुपर्छ। तर धेरैजसो वृद्ध अवस्थामा हुने हड्डी खिइएको हिप प्रत्यारोपण गर्नुपर्ने हुन्छ। योबाहेक चोटपटकका कारण बिगे्रमा पनि हिप प्रत्यारोपण गरिन्छ।

नेपालमा घुँडा प्रत्यारोपणको समस्या कत्तिको छ ?
–नेपालमा ३० हजार जना घुँडा तथा हिप प्रत्यारोपण गर्नुपर्ने अवस्थाका छन्। अहिले देशभरमा १२  सयमा  मात्र प्रत्यारोपण भएको अवस्था छ। पहिला यस्तो समस्या भएका मानिस अपांगतामै जीवन गुजार्थे।

नेपालमा घुँडा प्रत्यारोपणको समस्या कस्तो छ ?
–त्यो संख्या बढ्दै छ। सबै काठमाडौंबाहिर हुन्छ। चितवनमा, धरानमा र विराटनगरमा पनि हुन्छ।

उमेरमै हड्डी खिइने कारण के हो ?
–धेरै कारण हुन्छ। वंशाणुगत, हड्डीको गुणस्तर र हड्डीमा भार पर्ने गरी लामो समय गह्रौं भारी उचाल्ने काम गरेमा या शरीरको आफ्नै बढी तौल भएमा हड्डी खिइन्छ।

यस्तो जोखिम काम गर्न डर लाग्दैन ?
–मैले पढेको र गरेको काम नै यही हो। कुनै डर लाग्दैन। तर डरचाहिँ समाजसित लाग्छ। सफल भयो भने डाक्टरलाई भगवान् नै मान्ने र केही बिग्रियो भने डा. माथि आरोप लगाउने प्रवृत्तिदेखि डर लाग्छ।  कुनै पनि चिकित्सकले जानीजानी उपचार बिगार्दैन। किनकि डाक्टर आफै बिगे्रपछि पेसामा धक्का लाग्छ भन्ने चिन्तामा हुन्छन्। यो पेसा नै यस्तो हो कि राम्रो गर्न खोज्दा–खोज्दै काम बिग्रिन सक्छ।

पहिलाजस्तो अपांगता भएर घर बस्नुपर्ने अवस्था छैन ?
–छैन, नेपालले पनि हाडजोर्नीको उपचारमा पर्याप्त सेवा विस्तार गरिसकेको छ। उपचार गरेमा सामान्य अवस्थामा फर्केर सक्रिय जीवन निर्वाह गर्न सकिन्छ।

पछिल्लो समय युवा उमेरमै हड्डी बिग्रेको सुनिन्छ, यसको कारण ?
– छिल्लो समय हड्डी छिट्टै बिग्रिने समस्या बढेको छ। त्यसमा पनि विशेष गरी ओस्ट्रियोपोरोसिस(हड्डी मक्किने समस्या) बढी देखिन्छ। हाम्रो खाद्य पदार्थ ताजा छैन, हामी व्यायाम पनि खास गर्दैनौं, शारीरिक गतिविधि छैन। हड्डी बलियो बनाउन सबै खालका खानेकुरा र भिटामिन डीको आवश्यक पर्छ। तर नेपालमा घाम ताप्ने चलनको कमी हुँदै गएको छ। जसले गर्दा हड्डी बलियो बन्न आवश्यक पदार्थ पुग्दैन। हामी बढी टेबुलमा बसेर काम गर्छौं। नेपाल तथा दक्षिण एसियाका ८० प्रतिशत मानिसमा भिटामिन डीको कमी छ।

भिटामिन डी कुन कुन खानामा पाइन्छ ?
–हरियो सागपात, फलफूल, दूधबाट बनेका परिकार, माछा, सूर्यको ताप, काजु, बदाम, अन्डाजस्ता खाने कुरामा भिटामिन डी पाइन्छ। तर सबैभन्दा बढी सूर्यको तापमा हुन्छ। हाम्रो सूर्यमा गएर बस्ने बानी घट्दै गएको छ। बसे पनि लुगा लगाएर हिँड्छौं।

भिटामिन डीबाहेक अरू के कारणले हड्डी मक्किने समस्या हुन्छ ?
–महिनावारी बन्द भएका महिलामा हर्मोनको कारण अस्ट्रियोपोरासिस छिटो हुन्छ, पुरुषमा विस्तारै हुन्छ। त्यो बेला भिटामिन डी खानुपर्छ।

कुनै पनि व्यक्तिले हड्डी बलियो बनाउन के गर्ने ?
–स्वच्छ तथा खनिज पदार्थयुक्त खाना, फलफूल, हरियो सागपात खानुका साथै व्यायाम गर्नुपर्छ। व्यायाम हुनु भनेको शरीरमा रक्तसञ्चार पुग्नु हो। रक्तसञ्चार हुनु भनेको शरीरका सबै भागमा अक्सिजन पुग्नु हो। अक्सिजन पुगेका भाग बलिया हुन्छन्।

प्रकाशित: २३ कार्तिक २०७६ ०२:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App