१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

विद्यावारिधि समकक्षतामा कडाइ गर्दै त्रिवि

काठमाडौं - भारतका विवादित विश्वविद्यालयहरूबाट पिएचडी (विद्यावारिधि) को उपाधि लिनेहरूको संख्या ह्वात्तै बढेपछि त्रिभुवन विश्वविद्यालयले समकक्षतामा कडाइ गर्ने भएको छ। अबदेखि स्वदेशी तथा विदेशी विश्वविद्यालयबाट पिएचडी गर्नेहरूले समकक्षता प्राप्त गर्न ‘इम्प्याक्ट फेक्टर जनरल’मा आर्टिकल छपाएकै हुनुपर्ने मापदण्ड बनाउने तयारीमा त्रिवि प्राज्ञिक परिषद् जुटेको छ। त्यसबारे राय संकलन गर्न परिषद्ले संकाय÷अध्ययन संस्थानहरूमा पत्राचार गरिसकेको छ। त्रिविको शिक्षक हुन पिएचडीधारीले आवेदन दिनासाथ थप १२ नम्बर पाउने भएकाले पनि विकृति मौलाएको प्राज्ञहरूको निष्कर्ष छ। त्रिविले पिएचडीको समकक्षता प्राप्तिका लागि निश्चित मापदण्ड तोके विकृति हट्ने विश्वास प्राध्यापकहरूले लिएका छन्।

‘विद्यावारिधि कार्यक्रम र अन्य विश्वविद्यालयहरूबाट गर्नेहरूका लागि समकक्षता दिन स्पष्ट आधारहरू तयार गर्ने र हरेक विद्यावारिधि शोधार्थीले इम्प्याक्ट फ्याक्टर जनरलमा आर्टिकल छापिएकै हुनुपर्ने आधार बनाउने सन्दर्भमा सबै संकाय÷संस्थानको राय माग गर्ने निर्णय भयो,’ प्राज्ञिक परिषद्को निर्णय नम्बर ३५ मा उल्लेख छ। त्रिविले पिएचडीधारीलाई १२ नम्बर थप दिने प्रावधानले गर्दा विशेषगरी नेपाली विद्यार्थीहरूको भारतीय विश्वविद्यालयहरुबाट पिएचडी गर्ने संख्या बढ्दै गएको त्रिवि पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक पारसनाथ यादवले बताए। उनले हालको अवस्थामा पाठ्यक्रम विकास केन्द्रको सूचीमा विश्वविद्यालयहरू सूचीकृत भएकै भरमा विद्यार्थीले पिएचडीको समकक्षता पाउने व्यवस्थामा समेत संशोधन अपरिहार्य रहेको औंल्याए।

भारतबाहेक अन्य देशमा भने भिसाको व्यवस्था भएकाले विद्यार्थीहरू सम्बन्धित देशमै गएर मेडिकल, इन्जिनियरिङ तथा सूचना–प्रविधिका विषयहरूमा अध्ययन अनुसन्धान गरी विद्यावारिधि उपाधि हासिल गर्ने गर्छन्। भारतमा खुला सिमाना भएकाले नेपाली विद्यार्थीले विद्यावारिधिमा समेत कागजी प्रक्रिया पु¥याएर उपाधि हासिल गरिरहेकोप्रति निर्देशक यादवले आपत्ति जनाए। ‘विद्यावारिधि उपाधि अध्ययन क्षेत्रको विस्तृतीकरण हो। विद्यार्थीले आफ्नो विषयमा शोध गरी अनुसन्धानका माध्यमबाट नयाँ खोज र सिद्धान्तको प्रतिपादन गर्छन्,’ कार्यकारी निर्देशक यादवले नागरिकसँग भने, ‘तर भारतीय विश्वविद्यालयहरूले नेपालका विभिन्न ठाउँमा सम्पर्क कार्यालय खोलेर पिएचडीको खेती गरिरहेका छन्,’ उनले थपे, ‘त्यसमा हाम्रो त्रिविका केही प्राध्यापकहरूसमेत लाग्नुभएको छ।’

निर्देशक यादवका अनुसार हाल विदेशी विश्वविद्यालयहरूले दिने पिएचडीको स्तर निरीक्षणको व्यवस्था भने नेपालमा नभएकाले विकृति बढेको हो। ‘अब त्रिविका विभिन्न संकाय तथा संस्थानहरूले इम्प्याक्ट फ्याक्टर जनरल तय गर्छ,’ निर्देशक यादवले नागरिकसँग भने, ‘अब स्वदेशी तथा विदेशी विश्वविद्यालयबाट पिएचडी उपाधि हासिल गरेकाहरूले त्रिविबाट समकक्षता लिन त्यो गरेको हुनुपर्छ।’

त्रिविले यस वर्ष दुई सय ३१ विद्यार्थीलाई विद्यावारिधिको उपाधि दिएको छ, जसमध्ये एक सय ४९ जनाले विदेशी विश्वविद्यालयबाट विद्यावारिधि हासिल गरेका छन्। एक सय ४९ मध्ये ७५ जना भारतका विभिन्न विश्वविद्यालयबाट र ७४ जना चीन, जर्मनी, अमेरिका, थाइल्यान्ड, स्विडेन, नेदरल्यान्ड, जापान, अस्ट्रेलियालगायत देशबाट विद्यावारिधि उपाधि प्राप्त गर्नेहरू छन्।

भारतका विश्वविद्यालयहरुबाट विद्यार्थीहरूले घरैमा बसी उपाधि लिएको त्रिविको ४०औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको कार्यक्रम पुस्तिका, २०७६ मा प्रकाशित नामावलीले उजागर गरेको छ। भारतबाट उपाधि लिएका ७५ मध्ये सबैभन्दा बढी भारतको राजस्थानमा रहेको सिंघानिया, मेवाड विश्वविद्यालय, ललितनारायण मिथिला विश्वविद्यालय, डाक्टर केएन मोदी विश्वविद्यालय छन्। भारतका यिनै विश्वविद्यालयहरूले नेपाली विद्यार्थीसँग रकम लिएर घरघरमा विद्यावारिधिको प्रमाणपत्र बाँडेको भन्दै त्रिविले त्यस्तो अवस्थामा समकक्षता दिनुहुँदैन भन्दै आवाज उठ्दै आएको छ। नेपाली विद्यार्थीले भारतीय विश्वविद्यालयहरूबाट सहजै विद्यावारिधि उपाधि प्राप्त गर्ने विषय व्यवस्थापन, समाजशास्त्र, अर्थशास्त्र, गणित, अंग्रेजी र शिक्षा छन्।

जबकि भारतबाहेकका अन्य देशमा विद्यार्थीहरूले मेडिकल, इन्जिनियरिङ, नर्सिङ, आइटीलगायत विषयमा विद्यावारिधिको उपाधि लिएका छन्। भारतका सिंघानिया, मेवाड, केएन मोदी र मिथिलाले नेपालको बानेश्वर, कोटेश्वर, बागबजार तथा गोंगबुमा नेपाल सरकारको स्वीकृतिबेगर आ–आफ्नो सम्पर्क कार्यालय खोलेर एजेन्टमार्फत विद्यार्थी भर्ना गराई बिनाअनुसन्धान कागजी प्रक्रिया पु¥याएकै भरमा त्रिविबाट समकक्षतासमेत प्राप्त गर्दै आएका छन्।

भारतबाट पिएचडी गर्ने ७५ विद्यार्थीमध्ये मिथिला विश्वविद्यालयबाट १३, मेवाडबाट ११, सिंघानियाबाट १० र मोदी विश्वविद्यालयबाट ६ जनाले व्यवस्थापन, गणित, अर्थशास्त्र, समाजशास्त्र, अंग्रेजीलगायत विषयमा विद्यावारिधिको उपाधि हासिल गरेका छन्। त्रिवि व्यवस्थापन संकायका डिन डिल्लीराज शर्माले प्राज्ञिक परिषद्ले पिएचडीमा बढ्दै गएको विकृति रोक्न इम्प्याक्ट जनरलमा लेख प्रकाशित अनिवार्य गर्ने तयारी भइरहेको बताए।

उनले विदेशतिर समेत इम्प्याक्ट जनरलमा लेख–रचना प्रकाशित गरेकै भरमा त्यसलाई नै पिएचडीसरह समेत मान्ने र प्राध्यापकहरूको बढुवा हुने व्यवस्था रहेको जनाए। उनले इम्प्याक्ट जनरल विश्व -यांकिङ र गुणस्तरीय भएकाले यसमा आर्टिकल छपाउनै मुस्किलसमेत हुने गरेको सुनाए। ‘इम्प्याक्ट जनरल भनेकै विश्व -यांकिङमा परेको गुणस्तरीय हुन्छ। यस्तो जनरलमा आर्टिकल छपाउन अनुसन्धानको नक्कल गरे/नगरेको सबै मापदण्डअनुसार चेक हुन्छ। सबै द्वार पास गरेपछि मात्र आर्टिकल छापिन्छ,’ डिन शर्माले नागरिकसँग भने, ‘नेपालमा बढिरहेको पिएचडी विकृति रोक्न त्रिविले इम्प्याक्ट जनरलमा आर्टिकल अनिवार्य छापेको भए मात्र समकक्षता दिने निर्णय गर्दै छ।’

शिक्षाविद् विद्यानाथ कोइरालाले पाठ्यक्रमले विद्यावारिधिको हकमा गर्न लागेको व्यवस्था प्राज्ञिक क्षेत्रका लागि राम्रो भए पनि कार्यान्वयन पक्ष भने बलियो हुनुपर्ने बताए। ‘इम्प्याक्ट जनरलमा आर्टिकल छपाउने व्यवस्थाले बौद्धिक चोरी गरी विद्यावारिधि गर्ने र घरमै बसी विद्यावारिधिको प्रमाणपत्र लिने विकृति कम हुन्छ,’ शिक्षाविद् कोइरालाले भने, ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूले पियर रिभ्यु गरेर मात्र अनुसन्धानात्मक जनरलमा आर्टिकल छपाइने हुनाले वास्तविक विद्यार्थीले मात्र पिएचडी गर्न पाउँछन्।’

प्रकाशित: २३ कार्तिक २०७६ ०१:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App