१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

अन्यौलमा सुरक्षित मातृत्व,बजेट नआएपछि समस्या

जिल्ला अस्पताल रोल्पा। फोटोःदिनेश/नागरिक

रोल्पा - नयाँ आर्थिक वर्षको पहिलो चौमासिक सकिन थाल्दासमेत प्रदेश सरकारले जिल्ला अस्पतालमा सुरक्षित मातृत्वको बजेट पठाएको छैन। साउन यता बजेट नै नआएपछि अस्पतालमा सुत्केरी हुन आउने आमाहरुलार्ई प्रोत्साहन भत्ता दिन स्वास्थ्यकर्मीलाई हम्मेहम्मे परिरहेको छ।

सरकारले पहाडी जिल्लाका लागि स्वास्थ्य संस्थामा सुत्केरी भए बापत २ हजार र नियमित गर्भजाच गरेको ८ सय गरि एक मुस्ट प्रोत्साहन भत्ता दिने भनिए पनि बजेट अभावका कारण कार्यान्वयन हुन सकेको छैन। त्यसो त रिफर सुत्केरीहरुका लागि यातायात सुविधाको रकम समेत नआउदा कमजोर आर्थिक अबस्थाका परिवारहरुको बिचल्ली भएको छ।

समयमा रकम नपठाएका कारण निशुल्क दिने भनिएको न्यानो झोला बितरण पनि रोकिएको छ। जेठ महिनामै पास भएको बजेट कार्तिक सकिन थाल्दा समेत जिल्लामा आइपुगेको छैन। ‘हामीले फार्मेसीको पैसा तानेर सुत्केरीलाई दिइरहेका छौ। रिफर केशहरुमा चाहि दिएका छैनौ।’ जिल्ला अस्पतालका डा. प्रकाश बुढाले भने। ‘हाम्रोमा सुरक्षित मातृत्व उधारोमा चलिरहेको छ।’

अस्पतालकइी स्टाफ नर्स मिना कुवर बजेट नआएका कारण समस्या भएको बताउछिन्। ‘फार्मेसीले पनि अब पैसा दिन नसक्ने बताएको छ। नाम दर्ता बापत उठेको पैसा चलाउने कि भन्ने सोचमा छौ।’ सुरक्षित मातृत्वको कुनै पनि कार्यक्रम नआएका कारण समस्या जटिल बनेको हो। सरकारको गतिविधि हेर्दा राज्य आमाहरुको सुबिधाका बारेमा मौन भएको देखाउछ।

हेरक वर्ष समस्यामा पर्ने यो कार्यक्रमका बारेमा सबै बुझेका तर समयमै कार्यान्वयन नगर्ने सरोकारवालाहरु टेक्निकल समस्याले यसो भएको बताउँछन। ‘रकम जाने क्रममा छ। हामीले पठाइसकेका छौ। अर्थले टेक्निकल ईररका कारण रोकेको हाे, अब एक दुई दिनमा रकम जान्छ।’ प्रदेश न. ५ सामाजिक बिकास मन्त्रालयका डा. उमाशंकर प्रशाद चौधरीले भने ‘सुत्केरीको भत्ता रोक्नु हुदैन। यताबाट बजेट रिलिज नहँुदा सम्म अस्पताल बिकास समितिको पैसा चलाए हुन्छ।’

आर्थिक वर्षको पहिलो चार महिना सकिन थाल्दा समेत रोल्पा अस्पतालमा कर्मचारीको तलब र औजार खरिदमा २० लाख बाहेकको अन्य कुनै रकम नै आएको छैन।

स्थानीय तहमा पनि उस्तै समस्या  
उता जिल्ला अस्पतालमा जस्तै गाउँका सबै स्वास्थ्य संस्थामा पनि सुत्केरीलाई दिने पैसो नआएपछि स्वास्थ्यकर्मीहरु हैरान बनेका छन्। ‘साउन यता सुत्केरीलाई दिने पैसा आएको छैन। ल्याबबाट म्यानेज गरिरहेका छौ।’ प्राथमिक स्वास्थ्य केन्द्र सुलीचौरका डा. प्रकृती भट्टराई भन्छिन ‘कतिपय स्वास्थ्य संस्थामा स्वास्थ्यकमीले आफ्नो गोजिबाट रकम दिइरहनु भएको छ। हामीले पनि कहिले कसो आफ्नो पैसा दिएर पठाउँछौ।’

डा. भट्टराई जस्तै लिवाङ स्वास्थ्य चौकीकी अनमि निता रोकाले पनि पछिल्लो समय सुत्केरीलाई आफ्नो ब्यक्तिगत रकम दिएको बताउँछिन्। ‘अर्को शिर्षकबाट २० हजार निकालेका थियौ। त्यो सकिए पछि अहिले मेरो पैसा दिन थालेको छु।’ घर्तीगाउँ स्वास्थ्य चौकीमा पनि उस्तै समस्या छ। ‘हाम्रै अर्को शिर्षकको पैसा दिइरहेका छौ। कहिले कसो सरहरुले गोजिबाट झिकेर पनि भत्ता दिनुहुन्छ।’ अनमी पुर्णिमा घर्तीले बताइन्।

उता रोल्पाकै होलेरी प्राथमिक स्वास्थ्य केन्द्रमा पनि रकम अभाब देखिएको छ। ‘यो वर्षको रकम आएको छैन। हाम्रो सस्थाको अर्को शिर्षकबाट तानेर चलाई रहेका छौ।’ होलेरी प्राथमिक स्वास्थ्य केन्द्रका स्टाफ नर्स राधा बलालले भनिन् ‘पोहर करिब २ लाख बढि मेरो ब्यक्तिगत रकम दिएको थिए पछि रिप्लेस गरे। अहिले पनि अब आफ्नो रकम दिन सुरु गर्ने अबस्था आउँदैछ।’

प्रकाशित: २२ कार्तिक २०७६ ०६:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App