१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पोषणयुक्त खाद्यान्न उत्पादनमा जोड

काठमाडौं – खाद्यान्नको उत्पादन र उत्पादकत्व मात्र भन्दा पनि खाना पोषणयुक्त र उत्पादन वातावरणमैत्री बनाउने अभियानमा जुटेका ६ देशका प्रतिनिधि यसको कार्यान्वयन र दिगोपनाका विषयमा छलफल गर्न काठमाडौंमा जुटेका छन्।

नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडको आयोजनामा बिहीबारदेखी सुरु भएको दुईदिने खाद्य प्रणालीको रुपान्तणसम्बन्धी सम्मेलन उद्घाटन कार्यक्रममा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव युवकध्वज जिसीले अहिलेसम्म सरकारले उत्पादनमा जोड दिएको भन्दै अब पोषणयुक्त उत्पादनका कार्यक्रम सञ्चालन गर्ने बताए। उनले नेपालमा भोकमरीका कारण खाना नपाएर हुने मृत्युभन्दा सयौैं गुणा बढी कुपोषणका कारण मानिसको ज्यान जाने गरेको भन्दै पोषणयुक्त खाना उत्पादनमा सरकार केन्द्रित भइसकेको बताए।

सरकारले अगाडि सारेको तीन करोड फलफूलका बेर्ना रोप्ने कार्यक्रम, मौसमी तरकारी खेती, खाद्यान्न उत्पादनमा विविधीकरण, पशुपालनमा सहुलियत कर्जा प्रवाह, मासुजन्य उत्पादनमा आर्थिक, प्राविधिक र सीपगत सरकारी सहयोग यसैको एक उदाहरण भएको बताए। 

अहिलेसम्म उत्पादन बढाउने विषयमा मात्र बहस चलेको भन्दै सचिव जिसीले अब पोषणयुक्त खानाका विषयमा पनि छलफल चलाउन आवश्यक रहेको बताए। कार्यक्रममा नेपाल कृषि सहकारी केन्द्रीय संघ लिं.का अध्यक्ष खेमबहादुर पाठकले संयुक्त राष्ट्र संघले अगाडि सारेको दिगो विकास लक्ष्यको पहिलो र दोस्रो बुँदामा रहेको खाद्य सुरक्षा र गरिबी निवारणमा सहकारीको भूमिका महत्वपूर्ण रहेको जानकारी दिए।

उनले सरकारले अगाडि सारेको सहस्राब्दी विकास लक्ष्य २०३० मा नेपालका कृषि सहकारीले ठूलो भूमिका खेल्नसक्ने धारणा राखे। अध्यक्ष पाठकले विश्वको ध्यान कृषि तथा पशु उत्पादनमा गइरहेको समयमा नेपालका साना किसान र सहकारीले गरिरहेको काम सरकार र अन्तर्राष्ट्रिय निकाय समक्ष पु-याउनुपर्ने आवश्यकता औल्याए।

कार्यक्रममा सहभागी नेदरल्यान्ड राजदूतावासका प्रतिनिधि एल्स फान डेलले नेपालजस्तो देशमा कुपोषणको समस्या हुन नहुने धारणा राखिन्। उनले कृषि तथा पशुजन्य उत्पादनको प्रचूर सम्भावना रहेको र उत्पादन भइरहेको अवस्थामा यसलाई व्यवस्थापन गर्न सके नेपाल पोषणयुक्त खाद्यान्नमा आत्मनिर्भर हुने बताइन्।

यसैगरी वल्ड बेन्च मार्किङका खाद्य तथा कृषिका प्रतिनिधि इडो फेरागनले खाद्य सुरक्षा र पोषण व्यवस्थापन अहिले विश्वको चुनौतीको विषय भएको बताए। उनले आगामी दिनमा खाद्य सुरक्षा र पोषण व्यवस्थापनमा नेपालसँग मिलेर काम गर्न इच्छुक रहेको धारणा राखे।

कार्यक्रममा भियतनाम, भारत, बंगलादेश, इन्डोनेसिया, नेदरल्यान्ड र नेपालका कृषि सहकारी र यस क्षेत्रमा काम गर्ने संस्थाका ५० भन्दा बढी प्रतिनिधिको सहभागिता रहेको छ। सम्मेलनमा पोषण, खाद्य सुरक्षा, जलवायु परिवर्तन, खाद्य रुपान्तरण, अन्तर्राष्ट्रिय अभ्यास र नेपालको अभ्यासबारे अनुभव एवं अभ्यासको आदान प्रदानका विभिन्न सत्रमा छलफल चल्ने आयोजक नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडका महाप्रबन्धक रुद्र भट्टराईले जानकारी दिए।

प्रकाशित: २२ कार्तिक २०७६ ०२:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App