१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

ठडियो नमूना विद्यालयको भवन

ठोकर्पास्थित बाघभैरव माविको नवनिर्मित भवन। तस्बिर: ध्रुव/नागरिक

ठोकर्पा – ठोकर्पामा बाघभैरव माविको अत्याधुनिक भवन ठडिएको छ। भूकम्पपछिको पुनर्निर्माण अन्तर्गत एशियाली विकास बैंक (एडिबी) को साढे नौ करोड रुपैयाँको आर्थिक सहयोगमा विद्यालय भवन बनेको हो।

सरकारद्धारा नमूना घोषित विद्यालय भएकाले यो विद्यालय अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनेको व्यवस्थापन समितिका अध्यक्ष नेत्र कार्कीले बताए। ‘अत्याधुनिक विद्यालयभित्र सबै भौतिक पूर्वाधार र शैक्षिक सुविधा उपलब्ध छ,’ उनले नागरिकसँग भने। 

उनका अनुसार पुर्निर्माणअन्तर्गत दुई विद्यालय, चमेनागृह र शौचालयसहित चारवटा भवन एकै प्याकेजमा बनेका हुन्। भव्य भवनमा काक्षाकोठा मात्रै २४ वटा छन्। भवनमा बैठक कक्ष, पुस्तकालय, विज्ञान र कम्प्यूटर प्रयोगशाला छन्। छात्र, छात्रा, अपांग विद्यार्थी र शिक्षकका लागि छुट्टा–छुट्टै शौचालय छन्।

‘भूकम्पप्रतिरोधी विद्यालय अपांगमैत्री, बालमैत्री र बातावरणमैत्रीसमेत छ,’ विद्यालय रहेको सुनकोसी गाउँपालिका–१ का वडाध्यक्षसमेत रहेका कार्कीले भने। 

बिजुली, सोलार बत्ती, इन्टरनेट जडित विद्यालयमा खानेपानी, कार्पेटिङ, डेस्क, बेञ्च, प्राजेक्टर, टेलिभिजन, पोडिएम, पुस्तकालय, विज्ञान र कम्प्युटर प्रयोगशालाका सम्पूर्ण सामग्री भवन निर्माण प्याकेज अन्तर्गत नै व्यवास्थापन गरिएको छ। ‘भौतिक र शैक्षिक पूर्वाधार पर्याप्त भएका छन्। अब शैक्षिक गुणस्तरमा ध्यान दिन्छौँ,’ विद्यालयले अघि सारेका भावी योजना सुनाउँदै अध्यक्ष कार्कीले भने। 

विद्यालयका अनुसार पाँचसम्म तल्ला आठ कक्षामा कार्पेटिङ गरिएको छ। जहाँ बालबालिका चकटीमा बसेर मालमैत्री कक्षामा पढ्छन्। तल्ला सबै कक्षामा टेलिभिजन सेटको व्यवास्था गरिएको छ। बालबालिका अडियो÷भिडियोमार्फत पठनपाठन गर्छन्। कक्षा ६ देखि १२ सम्म आकर्षक फर्निचरको व्यवस्था छ।

कक्षा आठदेखि माथि प्रत्येक कोठामा प्रोजेक्टर र पोडिएमको सुविधा छ। तीनसम्म तल्ला ६ कक्षामा अंग्रेजी माध्यममा पठनपाठन गर्दै आएको विद्यालयले यो वर्ष त्यसलाई पाँचसम्म विस्तार गर्ने तयारी थालेको जनाएको छ। 

जिल्लाका अब्बल सामुदायिक शैक्षिक संस्थामध्येको एक अग्रणी यो विद्यालयका दुईटा ठूला भवन २०७२ को वैशाख १२ को बिनासकारी भूकम्पले ध्वस्त बनाएको थियो। 

विद्यालयले सोमबार भव्य कार्यक्रम गरी नवनिर्मित विद्यालय भवनको उद्घाटन गरेको थियो। नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विद्यालय उद्घाटन गरेका थिए। नमूना विद्यालयको कार्यक्रममा भाग लिन पूर्वमन्त्री रहेका माओवादी नेता अग्नि सापकोटा र कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत ठोकर्पा आएका थिए। सापकोटा यो विद्यालयका पूर्वप्रधानाध्यापक हुन्। 

प्रकाशित: २१ कार्तिक २०७६ ०७:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App