१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

म्याक्स मनीले हिमालयन बैंकको रकम फिर्ता गर्ने

काठमाडाैं – मलेसियन विप्रेषण कम्पनी म्याक्स मनीले हिमालयन बैंकलाई दिनुपर्ने रकम भुक्तानी गर्ने भएको छ। म्याक्सले बैंकलाई बुझाउनुपर्ने रकम भुक्तानी नगरेपछि बैंकले कारोबार बन्द गरेको थियो।

सात वर्षअघि सुरु भएको विवाद सुल्झाउन विभिन्न चरणमा छलफल भए पनि बुधबार म्याक्स मनीले बैंकको रकम फिर्ता गर्ने र आगामी दिनमा पुनः विपे्रषण कारोबार गर्ने सम्झौता गरेको बैंकले जनाएको छ।

यसअघि भएको सम्झौताअनुसार म्याक्स मनीले बैंकले सर्वसाधारणलाई विप्रेषण सेवा दिएवापत बुझाउनुपर्ने रकम भुक्तानी रोकेपछि कारोबार बन्द गरेको बंैकका महाप्रबन्धक सुशील जोशीले बताए।

‘बैंकले सर्वसाधारणलाई विप्रेषण सेवा उपलब्ध गराएवापत म्याक्स मनीले सेवा शुल्क तिर्न अटेर गरेपछि विवाद सुरु भएको थियो,’ जोशीले भने, ‘सुरुमा बैंकले बाँकी रकम भुक्तानी गर्न अनुरोध गरे पनि कम्पनीले अटेर गरेपछि नेपाल राष्ट्र बैंकको पहलमा मलेसियाको केन्द्रीय बैंक नागरा मलेसियालाई पत्राचार गरी हिमालयन बैंकको रकम भुक्तानी गर्न आग्रह गरिएको थियो।’

बैंक स्रोतका अनुसार विवादित ४९ लाख अमेरिकी डलर (करिब ५४ करोड रुपैयाँ)मध्ये म्याक्स मनीले बैंकलाई ३१ लाख अमेरिकी डलर (करिब साढे ३४ करोड रुपैयाँ) भुक्तानी दिने सम्झौता भएको छ।

दुवै कम्पनीले पुनः कारोबार सञ्चालन गर्न मंगलबार बैंकका तर्फबाट अशोक राणा र म्याक्स मनीको तर्फबाट हमिदबिन अब्दुलाहले समझदारीमा हस्ताक्षर गरेका छन्।

बैंकका अनुसार दुई पक्षबीच विवादमा रहेको १८ लाख अमेरिकी डलर (करिब २० करोड रुपैयाँ) भुक्तानीका लागि स्वतन्त्र चार्टर्ड एकाउन्टेन्टबाट हिसाब किताब गराउने र रिपोर्टका आधारमा कारोबार गर्ने समझदारी भएको छ।

बैंकलाई भुक्तानी गर्नुपर्ने रकम नदिएपछि नेपाल राष्ट्र बैंकको पहलमा विगत दुई वर्षयता मुलुकमा म्याक्स मनीको कारोबार बन्द भएको थियो। तर, नयाँ सम्झौता भएपछि कम्पनीको पुनः कारोबार सञ्चालन गर्न नेपाल राष्ट्र बैंकलाई पत्राचार गर्ने समझादारी भएको बैंकले जनाएको छ।

नेपाल राष्ट्र बैंकले रकम फिर्ता गर्न अनुरोध गरेपछि मलेसियाको केन्द्रीय बैंकले पनि म्याक्स मनीलाई विवादित रकम ‘बैंक नागरा मलेसिया’मा जम्मा गर्न निर्देशन दिएको जनाइएको छ।

पाकिस्तानको हबिब बैंकको संयुक्त लगानीमा सञ्चालन भएको बैंकले प्रिमियम बचत, मिलिनियर बचतलगायत योजना सञ्चालन गरी सर्वसाधारणको बचत गर्दै आएको छ। त्यसैगरी, बैंकले इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङलगायत एटिएम सेवा प्रदान गर्दै आएको छ।

बैंकले ग्राहकलाई मर्चेन्ट बैंकिङ तथा इन्भेस्टमेन्ट बैंकिङ सेवा दिने उद्देश्यले आफ्नै सहायक कम्पनी हिमालयन क्यापिटल सञ्चालन गरेको छ। २० करोड रुपैयाँ चुक्ता पुँजी रहेको हिमालयन क्यापिटलले धितोपत्र निष्कासन, सेयर रजिस्ट्रार, धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्शलगायत सेवा प्रदान गर्ने बैंकले जनाएको छ।

प्रकाशित: २१ कार्तिक २०७६ ०२:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App