१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

कांग्रेसले टुंगो लगायो उम्मेदवार

काठमाडौं – नेपाली कांग्रेसले मंसिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ। तिहारअघि नै पार्टीले उम्मेदवार टुंगो लगाउने दाबी गरेको कांग्रेसले बुधबार आन्तरिक विवादबीच अन्तिम रूप दिएको हो।

पार्टी सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा उम्मेदवार टुंगो लगाउन मंगलबार र बुधबार पदाधिकारी बैठक बसेको थियो। बैठकमा कास्की–२ मा कसलाई उम्मेदवार बनाउने भन्नेमा संस्थापन र इतर पक्षबीच विवादबीच कांग्रेसले पार्टीका पुराना नेता खेमराज पौडेललाई अघि सारेको हो। केन्द्रीय सदस्य धनराज गुरुङलाई उक्त क्षेत्रबाट उठाउने सभापति देउवासहितको तयारी रहे पनि स्थानीय नेता तथा कार्यकर्ताले स्थानीयबाटै उम्मेदवार बनाउन दबाब दिएपछि संस्थापन पक्षको प्रस्तावमा पौडेलको नाम टुंगो लगाएको छ।

असन्तुष्ट पक्षीय नेताले पौडेल पार्टीका पुराना र निष्ठावान नेता भए पनि उपनिर्वाचनमा देवराज चालिसेलाई मैदान उतार्नुपर्ने प्रस्ताव गरेका थिए। सम्पन्न प्रतिनिधिसभा निर्वाचनमै उनलाई समानुपातिकमा राख्नुपर्ने नेता भएको धारणा राख्दै असन्तुष्ट पक्षले उनलाई पार्टीले अन्यत्र अवसर दिनुपर्ने तर्क गरेका थिए। सभापतिले पौडेललाई नै उम्मेदवार बनाउने अडान राखेपछि संस्थापनइतरका नेता बुधबार बिहानको पदाधिकारी बैठक छाडेर बाहिरिएका थिए।

कास्कीमा पौडेल, दाङमा आर्चाय, बागलुङकमा शेरचन र भक्तपुरमा भडेल

‘कास्कीमा निर्वाचन जित्दा पार्टीको मात्र होइन सभापतिको पनि मान बढ्ने हो, त्यहीअनुसार उम्मेदवार तय गरौ,’ बैठकमा असन्तुष्टपक्षीय नेताको भनाइ उद्धृत गर्दै सहभागी एक नेताले भने, ‘उहाँ (सभापति)ले त्यहाँ मात्र होइन सबैतिर आफखुसी उम्मेदवारको नाम प्रस्ताव गर्नुभयो। त्यसपछि हामी निर्वाचनको जस अबजस सबै तपाईं नै लिनुहोस् भनेर बाहिरियाैँ।’

संस्थापनइतरका नेता बैठकबाट बाहिरिएपछि संस्थापन पक्षका नेताले उनीहरूसँग छलफल गरेर कास्की–२ बाट पौडेलका साथै प्रदेशसभा निर्वाचन हुने दाङ, बाग्लुङ र भक्तपुरमा क्रमश केशव आर्चाय, जित शेरचन र कृष्ण भडेललाई मैदानमा उतार्ने निर्णय गरेको छ। भडेल संस्थापन, शेरचन सिटौला र आर्चाय पौडेलनिकट हुन्। असन्तुष्ट पक्षले भक्तपुरबाट विनोद कायस्थको नाम अघि सारेको थियो।

कांग्रेसले यसअघि नै सुनसरीको धरान उप–महानगरपालिकाको प्रमुख पदका लागि तिलक राईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। क्षेत्रीय कार्यसमिति र जिल्ला कार्यसमितिबाट सर्वसम्मतबाट सिफारिस भएको राईको नामलाई केन्द्रीय समिति कात्तिक १५ गतेको बैठकले अनुमोदन गरेको हो।

स्थानीय तहमा हुने अन्य पदको उम्मेदवार जिल्ला र क्षेत्रीय समितिहरुले टुंगो लगाउने छन्। प्रतिनिधिसभा १, प्रदेशसभा सदस्य ३ र स्थानीय तहअन्र्तगत उपमहानगरपालिका प्रमुख १, गाउँपालिका अध्यक्ष ३, उपाध्यक्ष १ र वडाअध्यक्ष ४३सहित ५२ पदका लागि ३७ जिल्लामा मंसिर १४ मा उपनिर्वाचन हुँदैछ।

प्रकाशित: २१ कार्तिक २०७६ ०२:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App