१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

निरन्तर बिजुली आपूर्तिको तयारी

काठमाडौं- नेपाल विद्युत प्राधिकरणले अहिलेको बिजुली आपूर्तिलाई निरन्तरता दिने गरी काम गरिरहेको छ। भारतबाट आपूर्ति गरेर वा अन्य वैकल्पिक उपायबाटै भए पनि सर्वसाधारणलाई उज्यालो दिने प्राधिकरणको प्रयास छ। भारतबाट थप ८० मेगावाट बिजुली आयात गर्न भारतको मुजफ्फरपुरमा सय एमभिएको ट्रान्सफर्मर जडान गर्ने तयारी भइरहेको जानकारी दिँदै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने, 'पुस दोस्रो सातासम्म ट्रान्सफर्मर जडान हुन्छ। त्यसपछि आवश्यक परे ८० मेगावाट थप बिजुली किन्न सकिन्छ।'

ढल्केबर–मुजफ्फरपुर ४  सय केभी अन्तरदेशीय प्रसारण लाइनबाहेक अन्य ठाउँबाट थप बिजुली ल्याउने अवस्था नरहेको घिसिङले बताए। 'पूर्वाधारले धानेसम्म आयात गर्ने हो, टनकपुरमा नयाँ ट्रान्सफर्मर राख्ने काम यो हिउँदमा गाह्रो छ,' उनले भने, 'यद्यपि, उक्त नाकाबाट १० मेगावाट थप आयात गर्न सकिन्छ।' प्राधिकरणले टनकपुर बिन्दुबाट अहिले ३० मेगावाट किनिरहेको छ।

ढल्केबर–मुजफ्फरपुर सहित प्राधिकरणले अहिले भारतबाट करिब ३ सय मेगावाट आयात गरेको छ। स्वदेशी निजी क्षेत्रद्वारा उत्पादित करिब ५० मेगावाट, माथिल्लो मर्स्याङ्दी 'ए' बाट २५ मेगावाट र केही मात्रामा कुलेखानी सञ्चालन गरेर उपत्यकासहितको विद्युत माग व्यवस्थापन गरिएको छ।

प्राधिकरण भार प्रेषण केन्द्रले कम भाग हुने क्षेत्रमा भार कटौती गरेर बढी हुनेमा आपूर्ति मिलाएको छ। यसो हुँदा भएकै बिजुलीबाट पनि सर्वसाधारणलाई राहात दिन सकिने घिसिङको तर्क छ। प्रभावकारी रुपमा 'लोड' मिलाउन सकेकाले पछिल्लो दुई महिनामा उपत्यकाका सर्वसाधारणले अँध्यारोको सामना गर्नु परेको छैन।

प्राधिकरणका अनुसार आगामी पुस दोस्रो सातासम्म १५ मेगावाटको हेवा र माथिल्लो मर्स्याङ्दीको दोस्रो युनिटबाट २५ मेगावाटसहति ५० मेगावाट बिजुली थपिनेछ। यसले पनि लोडसेडिङ व्यवस्थापन गर्न मद्दत पुग्ने प्राधिकरण अधिकारी बताउँछन्।

प्रकाशित: २० मंसिर २०७३ ०४:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App