१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

फिरौती लिनैलाग्दा अपहरणकारीमाथि प्रहरीले गोली चलायो, बालकको सकुशल उद्धार

वीरगन्ज– बालकको अपहरण गरेर फिरौती लिन आएका अपहरणकारीलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको छ। अपहरित बालकलाई सकुशल उद्धार गरिएको छ। 

पर्साको वीरगन्ज नगरपालिका २५ सिर्सियास्थित अम्जद खानका १४ वर्षीय छोरा कात्तिक १० गते काभ्रेको बनेपाबाट घर आउँदै गर्दा बाटोबाटै अपहरणमा परेका थिए। उनलाई पर्सा पोखरिया नगरपालिका ६ सोनवरीका २० वर्षीय राजकुमार दासको समूहले अपहरण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

अपहरणपश्चात १२ लाख फिरौती माग गरी भारतबाट मोटरसाइकलमा लिन आएका दासलाई बुधबार विहान १ बजेर १५ मिनेटको समयमा प्रहरी टोलीले गोली हानेर नियन्त्रणमा लिएको हो। 

दासले पीडित बालकका पितालाई पेस्तोल देखाएर १२ लाखको झोला खोसेर भाग्ने क्रममा प्रहरीले गोली चलाएको थियो। दाहिने खुट्टाको घुँडामुनी गोली लागेर उनी घाइते भएका थिए। त्यसपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। उनकै सूचनाका आधारमा प्रहरीले अपहरित बालकलाई सकुशल उद्धार गरेको हो। 

घाइते दासलाई प्रहरीले उपचारका लागि नारायणी अस्पताल लगेको छ। पक्राउ परेका दासको समूहमा रहेका अन्य दुई जना फरार रहेको प्रहरीले जनाएको छ।

अपहरणकारीबाट प्रहरीले बीआर २२जे ०८०३ नम्बरको एक थान प्लाटिना मोटरसाइकल, एक थान कटुवा पेस्तोल र ५ राउण्ड गोली, मोबाइल, एयरफोन र झोला बरामद गरेको छ। उनीमाथि थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ। 

प्रकाशित: २० कार्तिक २०७६ ०८:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App