१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

नेकपाले कमान्डर तोक्यो, कांग्रेस अझै अलमलमा

पोखरा – उपनिर्वाचन नजिकिँदै आउँदा कास्कीमा राजनीतिक सरगर्मी बढेको छ। उपनिर्वाचनका लागि साना दलले उम्मेदवार घोषणा गर्नेदेखि घरदैलो अभियान थालिसकेका छन भने ठूला दल उम्मेदवार चयन र सम्भावित मत परिणाम जोड घटाउमा जुटेका छन्। प्रतिनिधिसभा सदस्यका लागि मंसिर १४ मा कास्की २ मा उपनिर्वाचन हुँदैछ।

कास्की–२ मा नेकपाले विद्या भट्टराइलाई उम्मेदवार बनाएको छ। भट्टराईलाई जिताउन सम्पूर्ण पार्टी परिचालन गर्ने निर्णय गरेको नेकपा कास्की अध्यक्ष कृष्ण थापाले जानकारी दिए। ‘वैचारिक स्पष्टता, प्रभावकारी परिचालन र आक्रामक प्रचारसहित उपनिर्वाचनमा भट्टराईलाई जिताउने हाम्रो लक्ष्य हो,’ मंगलबार आयोजित पत्रकार भेटघाटमा थापाले भने, ‘त्यसका लागि निर्वाचन हुने ११ वटै वडामा निर्वाचन परिचालन समिति बनाएर अघि बढ्ने तयारी छ।’

तत्कालीन पर्यटनमन्त्री एवं प्रतिनिधिसभा सदस्य रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि कास्की–२ रिक्त छ। भट्टराई अधिकारी पत्नी हुन्। प्रदेश कमिटीका सहइन्चार्ज खगराज अधिकारीको नेतृत्वमा ‘हाई कमान्ड’ टिम बनाएर प्रचारप्रसार थाल्ने अध्यक्ष थापाले बताए। ‘यसअघिको चुनावी प्रतिबद्धता इमानदारी साथ पालना गरेकाले नेकपालाई विजयी हुन कठिन छैन,’ थापाको दाबी छ, ‘हामीले अघिल्लो चुनावमा सुशासन अग्रगतिमा दिन्छांै भनेका थियौं, अहिले जनताले त्यसको अनुभूत गरेका छन्। त्यस्तै विकासको लहर पनि चलेको छ। सरकारले जनता र देशप्रति जवाफदेही भएर काम गरेको छ।’

उपनिर्वाचनमा मतदातासमक्ष जाँदा स्थानीय, प्रदेश र संघीय सरकारले गरेका कामको श्वेतपत्र लिएर जाने उनले बताए। यसअघि निर्वाचनमा अधिकारीले २७ हजार २ सय ७ मत पाएका थिए। उनका प्रतिद्वन्द्वी कांग्रेसका देवराज चालिसेले १८ हजार ६ सय ६१ मत पाएका थिए। उपनिर्वाचनमा अघिल्लो चुनावमा भन्दा थप ५ हजार बढी मत ल्याएर नेकपाले जित्ने थापाले बताए। ‘अघिल्लो पटकभन्दा थप ५ हजार बढी मत ल्याएर १३ हजारको अन्तरमा उपनिर्वाचन हामीले जित्छौं,’ उनले भने, ‘जनताको सेवा गरेकाले यो पटक पनि सहजै जित हात पार्छौ।’

अर्को ठूलो दल नेपाली कांग्रेसले भने बाहिर देखिने गरी चुनावी गतिविधि सुरु गरिसकेको छैन। तर आन्तरिक तयारी भने तीव्र पारेको उसले जनाएको छ। उम्मेदवार टुंगो नलागे पनि कांग्रेस नेता कार्यकर्ता भेटघाटमा व्यस्त छन्। कांग्रेस कास्कीले उम्मेदवारमा सम्भावित १६ जनाको नाम केन्द्रमा सिफारिस गरेको छ। यसअघिका उम्मेदवार चालिसेसहितको नाम केन्द्रमा सिफारिस भए पनि मंगलबार बेलुकीसम्म उम्मेदवारको टुंगो लागिसकेको छैन।

कांग्रेस जिल्ला सदस्य नवीन सिग्देलले भने, ‘केन्द्रमा पदाधिकारी बैठकले उम्मेदवार टुंगो लगाउने भने पनि टुंगो लगाउन नसक्दा चुनावी माहोल नदेखिएको मात्र हो। आन्तरिक रणनीति र तयारी तीव्र छ। उम्मेदवारको पर्खाइ मात्र छ।’

क्षेत्रीय समितिको सिफारिसका आधारमा जिल्ला कार्यसमितिले सम्भावित १६ जनाको नाम केन्द्रमा पठाए पनि चालिसे र धनराज गुरुङमध्ये एक उम्मेदवार हुने सम्भावना रहेको नेताहरुले बताएका छन्। गुरुङ छिमेकी जिल्ला स्याङजाका नेता हुन्। गुरुङको नाम सम्भावित उम्मेदवारको रुपमा सार्वजनिक भएपछि कास्की बाहिरबाट उम्मेदवार नबनाउन भन्दै धेरै कार्यकर्ताको सुझाव आएको पनि नेताहरुले बताएका छन्।

‘मण्डप तयार भएको छ। तर, बेहुला तयार नहुँदा अन्योल जस्तो देखिएको मात्र हो,’ सिग्देलले भने, ‘तर विवाह नै नहुने होइन।’ जस्तोसुकै परिस्थितिमा पनि यो पटक रिजल्ट आफ्नो पक्षमा ल्याउने आन्तरिक रणनीति कांग्रेसले बनाइसकेको उनले बताए। कास्की–२ मा ७१ हजार ८ सय ७१ जना मतदाता छन्। कास्की २ मा यसअघि ७० हजार ६ सय ५१ मतदाता रहेकोमा अहिले यो संख्या बढेर ७१ हजार ८ सय ७१ पुगेको निर्वाचन कार्यालयले जनाएको छ।

प्रकाशित: २० कार्तिक २०७६ ०१:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App