१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

आमा–बाबुले छाडेपछि २० वर्षमा पनि भएन जन्मदर्ता

इलाम- आफू जन्मेलगत्तै बाबु–आमा दुवैले अर्कासँग बिहे गरेर अलपत्र परेका युवकले जन्मदर्ता प्रमाणपत्र र नागरिकता बनाउन सकेका छैनन्। जिल्लाको सन्दकपुर गाउँपालिका–३, सुलुबुङका २० वर्षे विशाल बुर्जाले जन्मेपछि आफ्ना आमा–बाबु देख्न त पाएनन् नै, जन्मदर्ता र नागरिकता बनाउन अहिलेसम्म भौंतारिनुपरेको छ।

जन्मदर्ता र नागरिकता बनाउने पहल गरिदिन उनले सन्दकपुर गाउँपालिकाको न्यायिक समितिमा गत साउनमै निवेदन दिए। तर, सुरुमा नागरिकता बनाइदिने आश्वासन दिएका बाबु घनश्याम बुर्जामगर बेपत्ता भएपछि विशाल झन् अन्योलमा परे। भर्खरै घर आएका बाबुले नागरिकता बनाइदिने पुरानो ‘बोली फेरेपछि’ विशाल न्यायिक निकाय धाउन बाध्य भएका छन्। न्यायिक समितिमा भएको छलफलमा पनि निश्कर्ष नआएपछि समितिले विशाललाई जिल्ला प्रशासन कार्यालय जान सुझाएको छ।

घनश्यामले २०५६ सालमा देउमाई नगरपालिका–१ (साविक चमैता गाविस–६) की पुष्पादेवी राईसँग विवाह गरेका थिए। विवाह गरेर घनश्याम पत्नीसहित ससुराली घरमै बसे। तर, विशालले बाबु चिन्ने बेला घनश्यामले त अर्काे बिहे गरेर घर छाडिसकेकै थिए, त्यसको केही समयपछि आमा पुष्पाले पनि अर्काे बिहे गरेर गइन्। ‘मैले न आमा देखें, न बुबा,’ विशालले भने, ‘स्थानीय स्कुलमा कक्षा–५ सम्म पढेपछि मैले पनि आफैं गरिखानुपर्ने अवस्था आइलाग्यो र पढाइ छाडें।’

विशालले नागरिकता बनाउने उमेर भएपछि बाबु घनश्यामलाई जन्मदर्ता र नागरिकताको कुरा गरे। ‘बुबाले सुरुमा छोरो स्वीकारेर जन्मदर्ता र नागरिकता बनाइदिनेमा सहमति पनि दिनुभयो,’ विशालले भने, ‘त्यसपछि उहाँ ३–४ महिना बेपत्ता भएर भर्खरै घर आउनुभएको छ। तर, कुरा फेरियो। अहिले उहाँ मलाई छोरो मान्न तयार हुनुहुन्न।’ घनश्याम र पुष्पाको सहजै बिहे भएको थिएन। पुष्पालाई स्थानीय प्रहरीको रोहबरमा घनश्यामको जिम्मा लगाइएको थियो। ‘अहिले बुबाले पहिला आफूलाई पत्नी जिम्मा लगाएको प्रहरीको कागज खोजिरहनुभएको छ,’ विशालले भने, ‘न्यायिक समितिमा पनि मेरो उजुरीको टुंगो लागेन, अब सिडिओ कार्यालयमै गएर निवेदन दिने तयारीमा छु।’

देउमाई नगरपालिका–१ को वडा कार्यालयले स्थानीयको मुचुल्काका आधारमा विशालको २०५६ साल पुस २० मा घनश्याम र पुष्पाको छोराका रूपमा जन्म भएको प्रमाणित गरिसकेको छ। स्थानीय सिद्धदेउमाई आधारभूत विद्यालयले पनि वडा कार्यालयको रेकर्डअनुसार नै विशालको जन्म भएको र उनले २०६० सालमा यही भर्ना भइ २०६५ सालमा कक्षा ५ उत्तीर्ण गरेको प्रमाणित गरेको छ।   

सन्दकपुर गाउँपालिकाका न्यायिक समिति सदस्य हरि लुंगेलीले विशाल सबैतिरको प्रमाण हेर्दा घनश्याम र पुष्पाकै छोरा भएको प्रमाणित हुने बताए। ‘विशालले दिएको निवदेनका आधारमा न्यायिक समितिमा छलफल भयो तर घनश्यामले आफूले पुष्पासँग बिहे गरेकै प्रमाण खोजेपछि मेलमिलाप हुन सकेन,’ उनले भने, ‘प्रहरीको प्रमाण जुटाएर विशाललाई न्याय दिलाउन स्थानीय प्रशासन कार्यालयमै जान सुझाएका छौं।’

प्रकाशित: १९ कार्तिक २०७६ ०७:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App