कांग्रेस को, कता र कस्तो ?

मङ्गलबार, १९ कार्तिक २०७६, ०९ : ०४ पुरञ्जन आचार्य

दुई साताअगाडि गैरआवासीय नेपालीको सम्मेलनमा सहभागी हुन आएका केही सदस्यसँग राजनीतिक कुराकानी गर्ने सन्दर्भमा मेरो भेटघाट भयो। कोही जिज्ञासु थिए– देशको अर्थ राजनीतिबारे। संस्थासँग आबद्ध पुराना तर अहिले सम्मेलनबाट टाढिएका केही मित्र, बडो गहिरो रुचिसाथ नेपालको भविष्य र त्यसमा भूराजनीतिको महत्वबारे छलफल गर्न आए। कोही कांग्रेस राजनीतिका विषयमा निराश देखिन्थे। धेरैजसोले पार्टी र नेताविरोधी विचार व्यक्त गरे। 

मसँग भेटघाट भएका साथी आफूलाई कांग्रेस समर्थक भन्थे। तीमध्ये केहीले आफूलाई ‘कट्टर कांग्रेस’ दाबी गर्दै कुरा राखे। तिनको त्यस्तो कट्टरता विदेश जाँदा कांग्रेस नेतालाई बसाउने, घुमाउने र रमझम गराउने भूमिकाबाट उत्प्रेरित पाएँ। कट्टर कांग्रेस कस्ता थिए ?

२०४६, ०३६ र ०३३ सालअघिको प्रसंगसहित मैलै सविस्तार बताउनुप¥यो, ती उत्साही कट्टर कांग्रेसीलाई। आज कता हराए त ती कट्टर कांग्रेसी ? तिनको प्रतिप्रश्न थियो। आज किन कांग्रेस गुट–उपगुटमा विभाजित छ ? कसरी कांग्रेसले एक ढिक्का भएर कम्युनिस्टलाई चुनौती दिन सक्छ ? कसरी कांग्रेसले फेरि आम नेपाली र अन्तर्राष्ट्रिय समुदायको भरोसा र विश्वास जित्न सक्छ ? अनेकन् प्रश्न छन्, कांग्रेससामु।

आजको कांग्रेस
आजको कांग्रेसमा वर्तमान कम्युनिस्ट सरकारको प्रभाव र यसबाट दीर्घकालसम्म नेपाली समाजमा पर्न सक्ने प्रभावबारे छलफल र बहस भएका छैनन्। नेपालको राजनीतिमा चिनियाँ राष्ट्रपति भ्रमणको प्रभाव कस्तो पर्ला वा परिसक्यो भन्ने पार्टी नेतृत्व पंक्ति र कार्यकर्ता तहमा कुनै सघन छलफल भएका छैनन्। भारत र चीनको चेपुवामा परेको वर्तमान परिस्थिति अनि युरोपियन युनियनका अजेन्डाले सञ्चालित सम्पूर्ण सरकारी संयत्र, अमेरिकी दबाबमा लिने निर्णय र त्यसबाट पर्ने प्रभावलगायत अनेकन् छन्, कांग्रेस पार्टीले आफ्नो रणनीति तय गर्नुपर्ने विषय। तर पार्टी नेता नै अखबारमा कहाँ आफ्नो प्रशंसामा दुई शब्द लेखिएको छ भनी हेरेर रमाउन थाल्छन्। यसरी कांग्रेस विचार बोकेको राजनीतिक पार्टी भनेर कसरी जीवन्तता पाउला ? कार्यकर्ताहरू कसरी राजनीतिक रुपमा दीक्षित होलान् ?

कांग्रेसको १४औं महाधिवेशनबाट कांग्रेस फेरि कोइराला नेतृत्वमा जान्छ ? जाने सम्भावना छ भने को र कसरी ?

केही पछाडि फर्की हेर
कांग्रेसको पहिलो र दोस्रो जनजागरण कार्यक्रमको वस्तुपरक मूल्यांकन भएन।  जागरण कार्यक्रमको प्रभाव के प¥यो ? नेता, कार्यकर्ता र जनता को जागृत भए र कहाँ ? पार्टी सभापति र महामन्त्रीले दिएका अभिव्यक्ति सुन्दा जागरण कार्यक्रमले यी जागृत होइन, थला परेको महसुस हुन्छ। चारतारे झण्डा बोकेर निस्केको जुलुस देख्दा कांग्रेस जागरण रौतहटमा के भएको थियो भनी घोत्लिनुपर्ने हुन्छ।

पार्टी शुद्धीकरण अभियानमा जागरण कार्यक्रम कति प्रभावकारी हुन सक्यो ? कांग्रेस पार्टीको आजको ज्वलन्त प्रश्न यही हो। पार्टीभित्रका अपराधी र अल्छी कसरी  र कति जागृत वा निष्कासन भए, लेखाजोखा छैन। माथिदेखि तलसम्म पार्टी पंक्ति नागरिकको मुद्दा उठाएर पार्टीसँग जोडिने कला र सीपसँग दक्ष र जागृत भए÷नभएको विचार मन्थन न देउवाको बालुवाटार निवासमा छ न महामन्त्रीको टोखा रिसोर्टमा।

सम्भवतः यस्ता कुनै विचार मन्थन नगरी कांग्रेस फेरि तेस्रो चरणको जागरण कार्यक्रममा प्रवेश गर्नेछ। तर त्यसअघि केही गम्भीर राष्ट्रिय मुद्दाबारे कांग्रेसले सोच्नुपर्ने हो। सत्तापक्षको विरोधमा भाषण मात्र दिएर कांग्रेसका पक्षमा जनमत बन्न सक्तैन भन्ने पाठ भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीले निर्वाचन परिणामपछि मात्र बुझे। ढिलो बुझ्दा चुनाव हारियो र पार्टी सभापतिले पदबाट राजीनामा दिनुप¥यो। नेपाली कांग्रेसले बेलैमा यसतर्फ ध्यान देला कि ? १ महिनापछि हुने उपनिर्वाचन सत्तापक्षका लागि मध्यावधि जनमत संग्रह हो भने प्रतिपक्षको राजनीतिक भविष्य पनि यसैमा निर्भर छ, पार्टी नेतामा चेतना भए।  

केही नयाँ प्रयोग गर

राष्ट्रियता र समाजवाद कम्युनिस्टले ‘हाइज्याक’ मात्र गरेको होइन, कांग्रेस पूरै ‘ब्याकफुट’मा छ। राष्ट्रियताका मुद्दामा आज पनि कांग्रेसलाई शंका दृष्टिले हेरिन्छ। खासगरी भारतप्रति कांग्रेस अनावश्यक रूपमा लम्पसार पर्छ भन्ने धारणा भारतीय नाकाबन्दीपछि नेपाली युवामा गहिरो गरी बसेको छ। यसलाई चिर्न र नयाँ मान्यता निर्माण गर्न कांग्रेस नेतृत्व पंक्तिमा सोच र जाँगर दुवै अझै आएको छैन। तेस्रो चरणको जागरण कार्यक्रम राष्ट्रियताको संवद्र्धन, समाजवादको नयाँ कांग्रेस रूपरेखा र पार्टीमा शुद्धीकरण अभियानबाट अघि बढ्न सक्छ।

गगन, विश्वप्रकाश, प्रदीप र गुरुहरू मात्र होइन, गाउँदेखि जिल्ला र केन्द्रसम्म जनप्रिय युवाहरू छन्,  आन्दोलनबाट खारिएका। दुर्भाग्य, यो (कांग्रेस) पार्टी युवाहरूको होइन, बूढाहरूको हो।

तीनै गुट खुला गर
कांग्रेसमा गुट छ र यो खुला छ। गुटको चित्त बुझाउन नसक्दा कांग्रेसका निर्णयहरू बन्धक बनेका छन्। अब १४औं महाधिवेशनसम्म गुटलाई खुला गर्ने गरी पार्टी केन्द्रीय कार्यालयमा त्यसको कार्यालय नै खोल्दा त्यो स्वस्थ प्रतिस्पर्धा हुन्छ। यो गर।

विगतका कट्टर कांग्रेसीहरू अहिले ‘फाइल बढुवा कांग्रेस’ भएका छन्। तीन दशकदेखि ‘कांग्रेस सत्ता र राज्य सत्ता’मा यिनकै प्रभाव छ। तर पनि कांग्रेस खिइँदो छ र देशले प्रगति गर्न सकेको छैन। तसर्थ यी फाइल बढुवा कांग्रेसले राजनीतिबाट विश्राम लिनुपर्छ भन्ने अजेन्डा कांग्रेस कार्यकर्ताहरूले नेताहरूबीच अगाडि सार्नुपर्ने हो। त्यसको सम्भावना नभए पनि संवाद खुला गर्नुपर्छ।  

युवाहरूमा फाइल बढुवा नेताहरूप्रति आकर्षण छैन। फाइल बढुवा नेताहरूले अब आफूलाई विश्राम दिएर कांग्रेसलाई नयाँ विचार र नयाँ नेतृत्व दिन पहल गर्लान् ? कांग्रेसप्रति यिनले गरेको बेवास्ताको प्रायश्चित यो बाटोबाट मात्र सम्भव होला कि ?

फाइल बढुवा नेताहरू वैचारिक रूपमा रित्तिएका र निख्रिएका छन्। यिनबाट २१औं शताब्दीको नेपाल र कांग्रेस पार्टी निर्माण कठिन छ। यी सम्मानका हकदार छन्, तर यिनबाट सक्रिय राजनीति अब सन्देहमा छ।

कोइराला कांग्रेस
फाइल बढुवा कांग्रेसका लोकतान्त्रिक आन्दोलनका कथा र व्यथा छन्। यिनको जीवनमा महाभारत र रामायणका ‘फिक्सन’हरूझैं कथाहरू जोडिएका छन्। त्यस्तै कोइराला कांग्रेसमा पनि तिनका अग्रज हजुरबुवा, पिता, माता, काका, काकी सबैको फिक्सन र कथा छन्। यी सबैले गर्दा कोइराला नै कांग्रेस र कांग्रेस नै कोइराला भन्ने दाबी पनि एकथरीले गरिरहेका छन्।

बिपी पुत्र शशांक कोइराला, विरासतलाई ५० प्रतिशत सही ठान्छन्, आफू कांग्रेस नेता भएकामा। तर कांग्रेस कार्यकर्ता भने उनलाई शतप्रतिशत बिपी पुत्र भएकाले नेता मान्नुपर्छ भन्ने नै ठान्छन्। कांग्रेसको १४औं महाधिवेशनबाट कांग्रेस फेरि कोइराला नेतृत्वमा जान्छ ? जाने सम्भावना छ भने को र कसरी ?

धेरै हदसम्म कांग्रेसभित्र कोइराला भावना बिक्छ। दक्षिण एसियाको राजनीतिमा नेतृत्वको चयन र विकासक्रम हेर्दा कांग्रेसमा कोइरालाको पुनरागमन १४औं महाधिवेशनबाट नहोला भन्ने देखिँदैन।

तर जसरी फाइल बढुवा कांग्रेसबीच एकता छैन, त्यसरी नै कोइरालाहरूबीच पनि एकता देखिँदैन। विगतमा कोइराला परिवारबाट एक जनालाई सबैले नेता मान्थे र त्यसैको धुरीमा आफूलाई सक्रिय बनाउँथे। जस्तो ः बिपीको धुरीमा गिरिजाप्रसाद, तारिणी, केशव, परिवारका महिला र अरू ‘जुनियर’ सदस्यहरू थिए। गिरिजाप्रसादलाई पनि यो लाभ भयो। तर अहिले महामन्त्री शशांक र डा. शेखरले कोइराला परिवारको धुरी एउटै बनाउन सकेका छैनन्। यी दुवै १४औं महाधिवेशनमा सभापतिकै प्रत्यासी भनी आफू निकटलाई भन्दै छन्। अर्थात् परिवारभित्रै प्रतिस्पर्धा देखिन्छ।

कोइराला परिवारबीच अस्वस्थ प्रतिस्पर्धाको माहोल निर्माण गर्न यी दुवै नेताले उठबस गर्ने जुन ‘कोटरी’ छ, त्यो अराजनीतिक र आफन्तबीच सीमित छ। यस्तो आरोप कार्यकर्ता पंक्तिले लगाउँछ। कार्यकर्ताको आरोपप्रति सत्यता छ भने यिनले आफूलाई सुधार्न ढिला गर्नु हुँदैन।

कोइराला परिवारप्रति कांग्रेसमा जतिसुकै भावनात्मक लगाव भए पनि अहिलेको सूचना र प्रविधिको युगमा यो पार्टी सभापतिमा पुग्ने पर्याप्त आधार भने हुन नसक्ला। देशमा संगठित कम्युनिस्ट शक्तिसँग लड्ने, आम नागरिक र अन्तर्राष्ट्रिय समुदायलाई सम्बोधन गर्न सक्ने न्यूनतम योग्यताबिना ‘भावना’ मात्रले कांग्रेसको सभापतिमा जित्न गाह्रै पर्ला। जिते पनि पार्टी चलाउन सम्भव छैन।

फाइल बढुवा कांग्रेसमा सभापति र प्रधानमन्त्री नभएका रामचन्द्र पौडेललाई तुलनात्मक रूपमा भावी कांग्रेस सभापतिका लागि योग्य ठानिएला। त्यसैगरी कोइराला कांग्रेसमा डा. शेखरसामु पनि असफलताका प्रश्न कमै आउलान्। डा. शेखर फ्रेस छन्, संगठित छन् र सक्रिय पनि छन्। यो परिस्थितिमा रामचन्द्र पौडेल र डा. शेखरबीच कांग्रेसमा सभापतिका लागि स्वस्थ प्रतिस्पर्धा हुने सम्भावना छ ? छैन। कांग्रेसभित्र यो नयाँ परिदृश्य देखिने सम्भावनै छैन भन्दा पनि हुन्छ।

 शेरबहादुर देउवा कांग्रेसको कुनै पनि त्रिकोणीय प्रतिस्पर्धामा जित्ने क्षमता राख्छन्, आज पनि। यो क्षमता उनीसँग राजधानी काठमाडौंको भारदारी सहयोग, कम्युनिस्टप्रतिको नरम भाव, सत्ताको लामो अनुभवजस्ता तिकडमहरूबाट मात्र प्राप्त भएको होइन। देउवासँग चुनावमा चाहिने स्रोत र साधनको प्रचुरता मात्र छैन, ती परिचालन गरी आफ्ना पक्षमा निर्णय पार्न सक्ने मेसिनरी पनि संगठित र प्रभावकारी छ। जुन कांग्रेस पार्टीभित्रका अरू नेतासँग अंश पनि छैन।

कांग्रेस केन्द्रीय नेतृत्वको सम्पूर्ण ‘फोकस’ कांग्रेसको १४औं महाधिवेशनमा कसरी पार्टी सत्ता कब्जा गर्ने भन्नेबाहेक अन्यत्र ध्यान छैन, यतिखेर। वास्तवमा देशको राजनीति खासगरी उपनिर्वाचनमा कांग्रेसको प्रमुख फोकस हुनुपर्ने हो, अहिले। देशको राजनीति हारिरहने र पार्टी राजनीतिमा मात्र प्रतिस्पर्धा गरिरहने राजनीतिक दलको भविष्य के होला ?

युवा कांग्रेस
फाइल बढुवा कांग्रेस र कोइराला कांग्रेसको राजनीति मात्र कांग्रेसको राजनीति होइन। देशको राजनीति त युवाहरूको सक्रियतामा जित्ने र हार्ने हो। कांग्रेसलाई देशको राजनीतिमा जिताउने होनाहार युवाको कमी छैन। गगन, विश्वप्रकाश, प्रदीप र गुरुहरू मात्र होइन, गाउँदेखि जिल्ला र केन्द्रसम्म जनप्रिय युवाहरू छन्,  आन्दोलनबाट खारिएका। दुर्भाग्य, यो (कांग्रेस) पार्टी युवाहरूको होइन, बूढाहरूको हो।

अब युवाहरूले गर्ने के ? कांग्रेसमा बस्ने हो भने डार्बिनको सिद्धान्त अपनाउनुको विकल्प देख्दिनँ। ‘सर्भाइबल फोर द फिटेस्ट’ अर्थात् कांग्रेसमा पनि बस्नुछ र जोगिनु पनि छ भने यी फाइल बढुवा र भावनावादी कांग्रेससँग रणनीतिक ‘गेम’ युवाहरूले खेल्न सक्नुपर्छ। कांग्रेस र  देशको ‘गेमचेन्जर’ युवाहरू नै हुनेछन्, अन्ततोगत्वा।

अन्तमा, गैरआवासीय नेपालीको यो पटकको सम्मेलन विगतको भन्दा राम्रो थियो भनी कसैले भन्न सक्तैन। अझ नैतिक र सामाजिक रूपले सम्मेलनलाई देशभित्र र बाहिर पनि औंला उठाउने घटना सहभागीहरूले देखाए। कांग्रेसको १४औं महाधिवेशनबाट आउने परिणाम कांग्रेसजनसँग मात्र सिमित छैन, यसले देशको भविष्य र नेपालको लोकतान्त्रिक आन्दोलनमा एउटा नयाँ कडी थप्न सक्छ, कार्यकर्ताहरूले विवेकपूर्ण रूपमा अहिलेदेखि आफूलाई प्रस्तुत गर्न सके भने। सामान्य भूल पनि राजनीतिमा पार्टी पतन र इतिहासको विषय बन्छ भन्ने कुरा कांग्रेसका तिनै गुटमा आबद्ध कार्यकर्ताहरूलाई यहाँ स्मरण गराइरहनु नपर्ला।






यसमा तपाईको मत

अन्य समाचार

“पल्सर डेयर भेन्चर ४” अब नोभेम्बर १६ तारिकबाट शुरु

“पल्सर डेयर भेन्चर ४” अब नोभेम्बर १६ तारिकबाट शुरु

बजाज मोटरसाइकलका अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि. ले “पल्सर डेयर भेन्चर सिजन ४” रिफ्रेसड बाई स्प्राईट  लिएर आएको...

एन.एस.क्वालिटी अवार्डबाट शिवम् सिमेन्ट सम्मानित

एन.एस.क्वालिटी अवार्डबाट शिवम् सिमेन्ट सम्मानित

नेपालको एक अग्रणी सिमेन्ट उत्पादक उद्योग शिवम् सिमेन्ट लिमिटेड नेपाल सरकार नेपाल गुणस्तर तथा नापतौल विभागबाट प्रदान गरिने एन.एस.क्वालिटी अवार्डबाट...

‘हजार महिला कार्यक्रम’ले व्यापार घाटा न्यूनीकरण गर्न कसरी सहयोग गर्छ? (भिडियो रिपोर्ट)

‘हजार महिला कार्यक्रम’ले व्यापार घाटा न्यूनीकरण गर्न कसरी सहयोग गर्छ? (भिडियो रिपोर्ट)

आगामी मंसिर ३ र ४ गते हुने ‘हजार महिला कार्यक्रम’ले नेपालमा बढ्दो व्यापार घाटा न्यूनीकरण गर्ने अपेक्षा राखिएको छ। ...

एनएमबि बैंकको पूर्वस्वीकृत आवास कर्जा

एनएमबि बैंकको पूर्वस्वीकृत आवास कर्जा

एनएमबि बैंकले ‘एनएमबि पूर्व–स्वीकृत आवास कर्जा’ सुरु गरेको छ । ...

स्कुललाई कुमारी बैंकको सहयोग

स्कुललाई कुमारी बैंकको सहयोग

कुमारी बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयलाई सहयोग गरेको छ । ...

फर्स्ट माइक्रोफाइनान्सको तालिम

फर्स्ट माइक्रोफाइनान्सको तालिम

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले धितोमा आधारित लघुउद्यम कर्जा लगानी सम्वन्धी दुईदिने तालिम सम्पन्न गरेको छ । ...

शेरचनले जिते आइएमईको दुई गुणा बढी रकम

शेरचनले जिते आइएमईको दुई गुणा बढी रकम

आइएमईको डबलको डबलको डबल अफरअन्तर्गत सातौं हप्ताको विजेता घोषित भएका छन् । ...

दराजको ११.११ ले तोड्यो सबैै रेकर्ड

दराजको ११.११ ले तोड्यो सबैै रेकर्ड

नेपालको बृहत् अनलाइन सपिङ साइट दराजले संसारकै सबैभन्दा ठूलो सेल ११.११ सफलतापूर्वक पूरा गरेको जनाएको छ । ...

Ncell Footer Ad