१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सिजनको पदयात्रा पनि कमजोर

अन्नपूर्ण फेरो पदमार्गमा मनाङ पुगेका विदेशी। तस्बिर सौजन्य : विनोद गुरुङ

पोखरा – पोखरामा विदेशी पाहुना भएनन् भन्ने पर्यटन व्यवसायीको सर्वत्र गुनासो छ। सिजनको अकुपेन्सी निकै कम भएको पोखराका पर्यटन व्यवसायीले बताउँदै आएका छन्। सिजनमा पनि विदेशी पाहुना नआउँदा व्यवसाय धान्न हम्मेहम्मे भएको उनीहरुको भनाइ छ।

पोखरेली व्यवसायले गरे झैं पर्यटक कम भएको गुनासो पदयात्रा क्षेत्रका पर्यटन व्यवसायीले पनि गरेका छन्। नेपाल भित्रिएका करिब ६० प्रतिशत पाहुना पदयात्रामा जाने गरेको अनुमान रहे पनि यो पटक भने पदयात्राका विदेशीको आगमन पनि उत्साहजनक रुपमा बढ्न नसकेको पदमार्ग क्षेत्रका व्यवसायीको भनाइ छ। पोहोरको तुलनामा पदयात्रीको संख्या बढ्ने आशामा रहेका व्यवसाय पदयात्रीको संख्या घटेपछि निराश छन्।

‘सिजनमा यतिबेला हामीलाई पाहुनाको स्वागत सत्कारमा जुट्दा फुर्सद हुने थिएन। अघिल्ला वर्ष हामीले यो बेला बोल्ने र खानेसमेत फुर्सद पाउने थिएनौं,’ अन्नपूर्ण फेरो पदमार्गमा पर्ने टंकी मनाङका पर्यटन व्यवसायी बिनोद गुरुङले भने, ‘तर, यो पटक हामीलाई उत्साही बनाउने गरी सिजन आएको अनुभव गरेका छैनौं।’ गुरुङको अनुभवमा अघिल्ला वर्ष यो सिजनमा पदयात्रामा पाहुनाको भीड बढेर बास पाउन मुस्किल हुन्थ्यो। डाइनिङ टेबलमा समेत पाहुना सुत्ने गर्दथे। तर, यो पटक पदयात्रामा क्षेत्रका होटलमा खचाखच पाहुना देख्न नपाएको उनले बताए।

नेपाल भित्रिएका करिब ६० प्रतिशत पाहुना पदयात्रामा जाने गरेको अनुमान रहे पनि यो पटक भने पदयात्राका विदेशीको आगमन पनि उत्साहजनक रुपमा बढ्न नसकेको पदमार्ग क्षेत्रका व्यवसायीको भनाइ

‘पदयात्रामा अक्टोबर, नोभेम्बरलाई निकै नै राम्रो सिजन मानिन्छ। तर, यो अक्टोबरमा सोचेजति पाहुना आएनन्,’ उनले भने, ‘सिजन लाग्नुअघि मनाङ प्रवेशको नाका बाटो अवरुद्ध भयो। त्यसबाहेक नेपालसम्मको सहज पहुँच पनि नहुँदा यो सिजनले हामीलाई उत्साही बनाएको छैन।’ गुरुङको अनुभवमा यो सिजनमा अन्नपूर्ण फेरोको पदयात्रामा जाने विदेशीको संख्या झन्डै ३० प्रतिशतले कम भएको छ। ‘सरकारले आगामी वर्ष (सन् २०२०)मा नेपाल भ्रमण वर्ष मनाइरहँदा यो सिजनको आगमन उत्साहपूर्ण हुनुपर्ने हो,’ उनले भने, ‘तर, सुधारको संकेत पाउन सकिएको छैन,’ उनले भने।

अन्नपूर्ण फेरो विश्वमै कहलिएको पदमार्ग हो। वर्षमा करिब ३० हजार विदेशी पर्यटकले अन्नपूर्ण फेरोको पदयात्रा गर्छन्। सन् २०१८ मा २९ हजार पाँच सय विदेशीले फेरोको पदयात्रा गरेका थिए। त्यो संख्या सन् २०१७ मा २७ हजार थियो। सन् २०१६ मा फेरोको पदयात्रामा जाने पदयात्रीको संख्या २२ हजार हाराहारीमा थियो। फेरोको पदयात्रामा गएका पर्यटकमध्ये केहीले तिलिचो ताल घुमेर फर्किन्छन् भने कतिपयले थोराङला भञ्ज्याङ पार गरेर मुस्ताङ निस्कन्छन्।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का मनाङस्थित प्रमुख बाबुलाल तिरुवाले पनि अघिल्लो वर्षभन्दा केही घटेर यो सिजनमा आगमन भएको बताए। उनले पनि यो सिजनमा सोचेजति पदयात्रीको आगमन बढ्न नसकेको जानकारी दिए। ‘अघिल्ला वर्षमा यो सिजनको वृद्धिदर निकै बढी हुन्थ्यो। तर, यो पटक वृद्धिदर उत्साहजनक भएन,’ तिरुवाले भने, ‘पोहोरकै जति पाहुना त आउने संकेत नै छैन। उत्साहजनक रुपमा सिजन लागेको भन्न मिल्दैन। किनकी वृद्धिदर निकै नै कमजोर देखिएको छ।’ संख्यात्मक रुपमा पनि पोहोर जति पाहुना नआएको उनले बताए।

उनका अनुसार यतिबेला दैनिक दुई सय ५० को संख्यामा विदेशी पर्यटक अन्नपूर्ण फेरोको पदयात्राका लागि मनाङ पुगेका छन्। गत सेप्टेम्बरमा पनि दैनिक दुई सय हाराहारीमा पदयात्री मनाङ उक्लेका थिए। ‘अघिल्लै वर्षको जस्तो आगमनले त उत्साही बनाउनै सक्दैन। हरेक वर्ष पदयात्री बढ्नुपर्ने हो। तर, यो पटक बढेको छैन र चिन्ताजनक अवस्था आउने गरी घटेको पनि होइन,’ तिरुवाले भने, ‘दुई–तीन वर्षअघिको तथ्यांक हेर्दा वृद्धिदर उत्साहजनक देखिन्थ्यो। यो पटक भने पोहोरकै हाराहारीमा छ। बरु घट्दो छ, बढेन सकेन।’

एक्यापको मनाङस्थित चेकपोस्टका अनुसार सन् २०१८ सेप्टेम्बरमा दुई हजार ६१ पदयात्री त्यस क्षेत्रको पदयात्रामा गएका थिए। त्यो संख्या सन् २०१९ मा पनि पोहोरकै हाराहारीमा थियो। सन् २०१८ को अक्टोबरमा सात हजार एक सय पदयात्री अन्नपूर्ण फेरोको पदयात्रामा गएकामा यो अक्टोबरमा घटेर ६ हजार पाँच सय मात्र पदयात्री पुगेका छन्। ‘पोहोरभन्दा संख्यात्मक रुपमा वृद्धि हुन सकेन। पोहोरको जति संख्या पुग्न सक्छ कि भन्ने अनुमान थियो, त्यो पनि हुन सकेन,’ तिरुवाले भने।

सिजनमा पनि नेपालको पदयात्रामा उत्साहजनक रुपमा यो पटक पाहुना नबढ्नुमा नेपालमा फैलिएको डेंगीको संक्रमण मूल कारण रहेको उनले सुनाए। त्यसबाहेक अन्नपूर्ण फेरोको पदयात्रा सुरु हुने ठाउँमा पहिरोका कारण पनि पदयात्राका पर्यटक तर्सिएको उनले बताए। ‘अलि ढिलासम्म मनसुन सक्रिय हुँदा पनि बाढीपहिरोको त्रास लामो समय रहेकाले पनि पदयात्री अन्यत्र मोडिएका हुन सक्छन्,’ तिरुवाले भने, ‘यो सिजनमा नेपालका अधिक सहरमा डेंगी फैलिएकाले पनि पर्यटक आउन तर्सिएको हाम्रो अनुमान छ।’

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का उपाध्यक्ष धर्मराज पन्थीले पनि यो सिजनमा २० प्रतिशत हाराहारीमा पदयात्री घट्ने अनुमान रहेको बताए। ‘नेपालमै आगमन कम भएपछि त्यसको मार पदयात्रामा परिहाल्छ,’ पन्थीले भने, ‘पोखराबाट यो पटक पदयात्राको व्यापार उत्कृष्ट हुन सकेको छैन। विदेशी नै नआएपछि पदयात्रा उत्साहजनक हुने कुरै भएन।’

नेपालसम्मकै पहुँचका कारण सिजनमा पनि विदेशी पाहुना कम भएको हुनसक्ने उनले बताए। ‘नोभेम्बरमा पनि हामीले सोचेजति उत्साहपूर्ण आगमन हुने संकेत पाएका छैनौं,’ उनले भने, ‘सेप्टेम्बर–अक्टोबर राम्रो भएको भए नोभेम्बर पनि उत्साहपूर्ण हुन्थ्यो। तर, अहिलेको आगमन कमजोर रहेको छ।’

प्रकाशित: १९ कार्तिक २०७६ ०२:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App