१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

शिक्षकको तलब जुटाउन विद्यार्थीले थाले मैनबत्ती उत्पादन

विद्यालयमा मैनबत्ती उत्पादन गर्दै विद्यार्थी। तस्बिरः बिरा/नागरिक

बैतडी– बैतडीको पाटन नगरपालिका–९ स्थित सिद्धेश्वर मावि हुक्केडाँडाले विद्यालयमै मैनबत्ती उत्पादन गरेको छ। निजी श्रोतका शिक्षकको लागि तलब दिन मैनबत्ती उत्पादन गरिएको हो।

कक्षा ६ देखि ८ सम्म पठनपाठन हुने पेशा व्यवसाय र प्रविधि शिक्षा पाठ्यक्रम अन्तर्गत प्रयोगात्मक कक्षामा विद्यार्थीले मैनबत्ती उत्पादन गरेका हुन्। दसैतिहारको विदाको समयको उपयोग गर्दै मैनबत्ती उत्पादन सीप सिकाएको विद्यालयले जनाएको छ।

विद्यार्थीहरुको क्षमता अभिवृद्धि र विद्यालयको आयश्रोत बढाउनका लागि मैनबत्ती उत्पादन सीप सिकाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमसिंह भाटले जानकारी दिए।

विद्यालयमा मैनबत्ती बनाउने सीप सिकेपछि आफूहरुलाई भविष्यका दिनमा पनि सहयोग पुग्ने कक्षा ६ मा अध्ययनरत छात्रा बर्षा भाटले बताइन्। विद्यालयले ६५ हजारको लगानी गरेर मैनबत्ती उत्पादन गरको हो। उत्पादित मैनबत्ती बेचेर यो वर्ष ७० हजार रुपैयाँ आम्दानी भएको विद्यालयका प्रधानाध्यापक बहादुरसिंह महराले बताए।

विद्यालयले उत्पादन गरेको मैनबत्ती तिहारको समयमा बैतडीका विभिन्न बजारमा बिक्री गरिएको थियो। स्थानीय बजार खोडपे, पाटन, पुर्चौडी, गाँजरी लगायतका बजारमा बिक्री गरिएका हो। एक हजार ८ सय ५० प्याकेट बिक्री गरिएका हुन्। विद्यालयले गत वर्ष पनि ५२ हजार रुपैयाँको मैनबत्ती उत्पादन गरी बिक्री गरेको थियो। 

तीन स्थायि एक  जना राहत गरी चार जना शिक्षक दरबन्दीमा छन् भने ८ जना शिक्षकह निजी श्रोतमा कार्यरत छन्। अभिभावकबाट बर्सेनि चन्दा संकलन गरेर विद्यालय चलाउनु पर्ने समस्या झेलिरहेको यस विद्यालयले भने विद्यार्थीको सीप विकासका साथसाथै आर्थिक लाभ लिनका लागि विद्यालयमा मैनबत्ती उत्पादन  गरेको हो। 

अविभावककै लगानीमा विभिन्न शैक्षिक समाग्री र बालउद्यान, छात्राबास समेत रहेको उक्त विद्यालय जिल्लाकै पहिलो कागज रहित विद्यालयका रुपमा समेत परिचित छ । वि.स २०१८ सालमा स्थापना भएको उक्त विद्यालयमा हाल तीन सय बढी विद्यार्थी अध्ययनरत रहेका छन् ।

 

प्रकाशित: १८ कार्तिक २०७६ ०९:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App