१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बझाङ केन्द्रबिन्दु बनाएर भूकम्पका २१ धक्का

बैतडी—सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ। भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार ती धक्काको केन्द्रबिन्दु बझाङको सदरमुकाम चैनपुरबाट ११ किमी उत्तरपूर्व मयानामा रहेको छ।

आज बिहान ४ बजेर ३२ मिनेटमा ३.४ रिक्टरको पहिलो, ७ बजेर ८ मिनेटमा ३.८ रिक्टरको दोस्रो, अपराह्न १२ बजेर ७ मिनेटमा २.८ रिक्टर स्केलको तेस्रो धक्का तथा बाँकी दुई वटा साना धक्का गएका थिए।

बुधबार १६ पटक र आज बिहीबार पाँच पटक गरी २१ पटक धक्का गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थ दाहालले जानकारी दिए। 'बुधबार २ बजेर ५५ मिनेटदेखि आज मध्याह्न १२ बजेर ७ मिनेटसम्म २१ वटा धक्का गएका हुन्', उनले भने। बुधबार पहिलो धक्का २ बजेर ५५ मिनेटमा पाँच रिक्टर स्केलको, ३ बजेर ११ मिनेटमा ४.२ रिक्टर स्केलको, ३ बजेर २८ मिनेटमा ३.८ रिक्टर स्केलको, ३ बजेर २९ मिनेटमा ३.६ रिक्टर स्केलको र साँझ ५ बजेर ५१ मिनेटमा २.८ रिक्टर स्केल लगायत १६ पटकसम्म गएको हो।

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले ‘गोरखा भूकम्प’पछि देशभरि नै ससाना धक्का महसुस भइरहेकाले यसमा डराउनुपर्ने अवस्था नरहेको बताए। 'पाँच रिक्टर स्केलको भूकम्प गएपछि त्योभन्दा साना धक्का जाँदै गरेको र कम्पन पनि कम हुँदै गएकाले डराउनुपर्ने अवस्था छैन', उनले भने।

यो गोरखा भूकम्पको परकम्प नभई नयाँ भूकम्प भए पनि डराउनुपर्ने अवस्था नरहेको तर सतर्क रहनुपर्ने उनले बताए। जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले कुनै क्षति नभएको र अझै पनि क्षतिको विवरण सङ्कलनको काम भइरहेको जानकारी दिए। लगातारको धक्काले स्थानीय बासिन्दा त्रसित बनेका छन्।

भूकम्प जहिले पनि र जति बेला जान सक्ने भएकाले पूर्वतयारीका साथ बस्न स्थानीय प्रशासन कार्यालयले सबैमा आग्रह गरेको छ। रासस

प्रकाशित: १६ असार २०७३ १३:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App