१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

दुई साता नपुग्दै उप्कियो कालोपत्रे

कालोपत्रे गरेको दुई साता नबित्दै कालोपत्रे उप्किएको रामधुनी मन्दिर जाने सडक। तस्बिर ः नागरिक

इटहरी – सुनसरीको रामधुनी नगरपालिकास्थित प्रसिद्ध धार्मिक स्थल रामधुनी मन्दिर जाने सडकको कालोपत्रे दुई साता नपुग्दै उप्किएको छ। टेन्डर आफ्नो पक्षमा पार्ने होडबाजीमा निर्धारितभन्दा झन्डै आधा रकममा ठेक्का लिएको कम्पनीले कमसल काम गर्दा कालोपत्रे उप्किएको हो। सडकका थुप्रै स्थानमा कालोपत्रे उप्किन थालेपछि स्थानीयले ठेकेदार कम्पनीलाई गुणस्तरीय ढंगले काम गर्न दबाब दिन थालेका छन्।

रामधुनी प्रसिद्ध धार्मिक स्थल हो। त्यहाँबाट वराहक्षेत्रसँगै विजयपुर, बुढासुब्बा, पिण्डेश्वरी र चतराधामलाई एउटा विशेष सर्किट निर्माण गरेर विकासको परियोजना तयार गर्ने प्रदेश १ सरकारको योजना रहेको जनाइएको छ। वडा ३ स्थित मूलसडकबाट रामधुनी मन्दिर जाने ६ सय २३ मिटर सडक निर्माणका लागि रामधुनी नगरपालिकाले सडक बोर्ड नेपाल र नगरपालिकाको बजेटबाट २०७६ वैशाख ६ गते ठेकेदार कम्पनी जाल्पालाई काम गर्ने जिम्मेवारी दिएको थियो।

‘तोकिएको रकमभन्दा धेरै सस्तोमा टेन्डर हालेर काम पारेकै कारण गुणस्तरीय काम नभएको हो,’ स्थानीय जितेन्द्र सुवेदीले भने।

सम्झौताअनुसार सडक बोर्ड नेपालको २९ लाख १९ हजार ६ सय ३३ रुपैयाँ र नगरपालिकाको १२ लाख ५१ हजार रुपैयाँको संयुक्त बजेट रहे पनि निर्माण कम्पनीले ठेक्का पार्न सस्तोमा टेन्डर हाल्यो। जसका कारण २३ लाख ८१ हजार सात सय ११ रुपैयाँमा ठेक्का सम्झौता हुन पुग्यो। ‘तोकिएको रकमभन्दा धेरै सस्तोमा टेन्डर हालेर काम पारेकै कारण गुणस्तरीय काम नभएको हो,’ स्थानीय जितेन्द्र सुवेदीले भने।

ठेकेदार कम्पनीलाई सडक निर्माण पूरा गर्न पहिलोपटक २०७६ असार मसान्तसम्म समय तोकिएको थियो। तर सो अवधिमा पूरा हुन नसकेपछि आगामी मंसिर मसान्तसम्मका लागि समय तोकिएको छ। पछिल्लोपटक थपिएको समयअगावै सडक निर्माण पूरा भइसके पनि नगरपालिकालाई जिम्मा लगाउन भने बाँकी छ।

यही अवस्थामा ठाउँठाउँमा कालोपत्रे उप्किएपछि समस्या सिर्जना भएको छ। रामधुनी–३ का वडाध्यक्ष राजकुमार चौधरीका अनुसार एक दशकअघि गरिएको कालोपत्रे पुरै उप्किएपछि मर्मत–सम्भार शीर्षकमै आएको पैसा कालोपत्रे गर्न खर्र्चिएको बताए। ‘कालोपत्रे गरिएको सडक उक्किएको थाहा पाएका छौं। सम्झौताअनुसार काम नभएसम्म सडक जिम्मा लिइँदैन,’ रामधुनी नगरपालिकाका इन्जिनियर देवेन्द्र चौधरीले भने।

ठेकेदार कम्पनीका सरोज बस्नेतले भने सडक जोगाउन स्थानीयको सहयोग नहुँदा समस्या आएको बताए। ‘अलकत्रा सेट नभई बढी क्षमताका सवारीसाधन गुडाएका कारण कालोपत्रे उप्किएको हो,’ उनले नागरिकसँग भने। ठेकेदार कम्पनीले सस्तो रकम तोकेर टेन्डर हालेका कारण सडक बोर्ड नेपालबाट आएको रकममध्ये १२ लाख ३० हजार फिर्ता गर्नुपरेको नगरपालिकाको योजना फाँटका कर्मचारी हर्षलाल चौधरीले बताए। ठेकेदार कम्पनीले सडक कालोपत्रे गरेको सुरुको किस्ताका रूपमा तीन लाखको हाराहारीमा रकम लिए पनि अरू लिन बाँकी छ।

ठेक्का पार्नैपर्ने योजनाअनुसार टेन्डर सस्तोमा हालेकाले आर्थिक वर्ष २०७५÷७६ का लागि रामधुनी–९ मा तराई–मधेस कार्यक्रमअन्तर्गत सामूहिक आवास निर्माणका लागि आएको रकममध्ये २७ लाख ६४ हजार चार सय ४० रुपैयाँ पनि फिर्ता भएको छ। यस्तै रामधुनी–२ मा आदिवासी संग्राहलाय निर्माण गर्न आएको बजेटमा १० लाख ४० हजार चार रुपैयाँ पनि फिर्ता भएको छ। ठेकेदारले सस्तोमा टेन्डर हालेकै कारण झुम्का कृषि टहरा निर्माणका लागि आएको ४० लाख बजेटमा १५ लाख फिर्ता भएको छ। ठेकेदार कम्पनीले घाटाघाटमा सस्तोमा ठेक्का पार्ने होडबाजीले गर्दा काम भने गुणस्तरीय नहुने गरेको छ।

प्रकाशित: १८ कार्तिक २०७६ ०४:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App