१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

उपनिर्वाचनको तयारी तिब्र

प्रददेशसभा निर्वाचनका लागि आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरिँदै।

दाङ - मंसिर १४ मा जिल्लामा हुने उपनिर्वाचनका लागि सरकारी तयारी तीव्र पारिएको छ। स्थानीय प्रशासनले निर्वाचन लक्षित सुरक्षा योजना तयार पारिसकेको छ भने आइतबार प्रदेशसभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयसमेत स्थापना गरिएको छ। घोराहीस्थित जिल्ला बार एसोसिएसनको भवनमा मुख्य निर्वााचन अधिकृतको कार्यालय स्थापना गरिएको हो।

जिल्लामा क्षेत्र नम्बर ३ को प्रदेशसभा क्षेत्र (ख)मा र घोराही उपमहानगरपालिका–१६ को वडाध्यक्षका लागि उपनिर्वाचन हुँदैछ। शुक्रबार प्रदेशसभाको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको र आगामी २० गते वडाध्यक्ष निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने भएको छ।

‘मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै अब चुनावी तयारीका विषयमा गतिविधि तीव्र रूपमा अघि बढाउँछौँ,’ मुख्य निर्वाचन अधिकृत एवं जिल्ला अदालतका न्यायधिस रितेन्द्र थापाले भने, ‘तत्कालै सर्वदलीय बैठक राखेर चुनावलाई संयमतापूर्व सम्पन्न गराउने विषयमा छलफल गर्नेछौँ।’ प्रदेशसभा उपनिर्वाचनका लागि २१ कात्तिकमा उम्मेदवारको मनोनयन दर्ता हुँदैछ। वडाध्यक्षको निर्वाचनका लागि भने कात्तिक २७ गते उम्मेदवारी दर्ता हुनेछ।

दाङमा ३४ मतदान केन्द्र
एक प्रदेशसभा निर्वाचन क्षेत्र र एक वडा अध्यक्षका लागि जिल्लामा हुने उपनिर्वाचनका लागि ३४ मतदानस्थल रहने भएका छन्। प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालका अनुसार ३२ वटा प्रदेशसभा निर्वाचनका लागि र दुई वटा वडा अध्यक्षको निर्वाचनका लागि मतदान स्थल स्थापना गरिने भएका छन्।

‘कुल ३४ मतदान केन्द्र रहने र तीमध्ये प्रदेशसभा निर्वाचनका लागि ३२ र वडाध्यक्ष निर्वाचनका लागि २ वटा मतदान स्थल तय गरिएका छन्,’ प्रमुख जिल्ला अधिकारी रिजालले भने। उनका अनुसार सुरक्षा दृष्टिकोणले ६ वटा मतदानस्थल अति संवेदनशिल मानिएका छन्। २६ वटा संवेदनशील र २ वटा मतदानस्थल सुरक्षा चुनौतीका हिसाबमा सामान्य रहेको पनि उनले बताए।

सुरक्षाका हिसाबले चुनौती मानिएका मतदान स्थलमा सुरक्षा अवस्था बलियो बनाइने उनको भनाइ छ। अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन चरणमा मतदान स्थलको सुरक्षा अवस्थाको वर्गीकरण गरेको प्रमुख जिल्ला अधिकारी रिजालले बताए।

७३ हजार मतदाता
उपनिर्वाचनका लागि ७३ हजार मतदाताले मतदान गर्न पाउने भएका छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार ७३ हजार १ सय ७२ मतदाता छन्।

यीमध्ये प्रदेशसभाका लागि ६८ हजार ६ सय ७४ मतदाता छन् भने वडाध्यक्षका लागि ४हजार ४ सय ५३ मतदाता रहेको निर्वाचन कार्यालयका सुचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए।

प्रकाशित: १८ कार्तिक २०७६ ०२:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App