१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

दक्षिण अफ्रिका तेस्रो पटक च्याम्पियन

योकोहमा – दक्षिण अफ्रिकाले जापानमा शनिबार सम्पन्न रग्बी विश्वकपको फाइनलमा बलियो मानिएको इङ्ल्यान्डलाई ३२–१२ स्कोरले हराउँदै तेस्रो पटक रग्बी विश्वकपको उपाधि उचालेको छ।फ्लाई हाफ हान्द्रे पोलार्डको ६ पेनाल्टी स्कोरसहित माकाजोले मापिम्पी र चेस्लिन कोल्बेले दुई ट्राइ गरेपछि दक्षिण अफ्रिकाले फाइनलमा इङ्ल्यान्डमाथि सहज निकाल्दै तेस्रो पटक उपाधि उचालेको हो। विश्व वरीयतामा शीर्षको दक्षिण अफ्रिकाले तेस्रो स्थानको इङ्ल्यान्डविरुद्ध फाइनलको पहिलो हाफमा १२–६ को अग्रता लिएको थियो।

पहिलो हाफमा दक्षिण अफ्रिकाले कुनै ट्राइ गर्न सकेन। दोस्रो हाफमा भने दक्षिण अफ्रिकाले दुई ट्राइ गर्दा इङ्ल्यान्ड असफल रह्यो। खेलको ६६ औं मिनेटमा माकाजोलेले पहिलो ट्राई गरे। सोही अवसरमा पाएको कनभर्जन किकलाई पोलार्डले सदुपयोग गरे। ७४ औं मिनेटमा कोल्बेले ट्राई गरेपछि दक्षिण अफ्रिका खेलाडीसँगै र समर्थकले विश्वकप आफ्नो पक्कापक्की भएको अनुमानसहित उत्सव मनाएका थिए।

यसपटक पनि पोलार्डले कनभर्जन किकमा सफलता दिलाउँदा दक्षिण अफ्रिका ३२–१२ को अग्रतासहित विश्वकप उपाधिका लागि रेफ्रीको अन्तिम सिठ्ठीको पर्खाइमा मात्र रहेको थियो। बाँकी समयमा इङ्ल्यान्डले स्कोर गर्न नसकेपछि दक्षिण अफ्रिकाले फराकिलो जित दर्ता गर्‍यो। यससँगै विश्वकपको पहिलो दुई संस्करणमा अनुपस्थित रहेको दक्षिण अफ्रिकाले तीनै पटकको फाइनलमा नतिजा आफ्नो बनाउँदै तेस्रो पल्ट पनि उपाधि आफ्नो बनायो।

१२ वर्षपछि विश्वकपको उपाधि उचालेको दक्षिण अफ्रिकाले सन् २००७ र १९९५ को विश्वकप ट्रफी आफ्नो बनाएको थियो। दक्षिण अफ्रिका समूहचरणमा हारको बाबजुत विश्वकप जित्ने पहिलो राष्ट्रसमेत बन्यो। समूहको पहिलो खेलमा दक्षिण अफ्रिका डिफेन्डिङ च्याम्पियन न्युजिल्यान्डसँग स्तब्ध भएको थियो। यद्यपि, प्रशिक्षक रेसी इराजमुस आफ्ना रणनीतिमा परिवर्तन गर्दै दक्षिण अफ्रिकालाई लयमा फर्काउन सफल भए।

जितपछि दक्षिण अफ्रिकाका कप्तान सिया कोलिसीले आफ्ना देशका नागरिकलाई धन्यवाद दिए। ‘हामी हरेक किसिमका समस्या बेहोर्दै यहाँसम्म आइपुग्यौं। सबैजना फरक पृष्ठभूमी र संघर्षबाट आए र एकीकृत भएर खेल्दा सफलता मिल्यो,’कप्तान सियाले भने,‘दक्षिण अफ्रिकालाई यो सफलता दिलाउनेमा पहिला पनि विश्वस्त थिएँ। तर त्यसका लागि कठिन मिहिनत आवश्यक थियो, त्यो सबैले गर्दा सफल भयौं।’

यता, इङ्ल्यान्डका लागि भने फाइनलमा निकै बिर्सनलायक बन्यो। सन् २०१५ मा घरेलु मैदानमा सम्पन्न विश्वकपको पहिलो राउन्डबाटै बाहिरिएको इङ्ल्यान्डले यसपटक भने बलियो टोली अस्ट्रेलियालाई क्वार्टरफाइनलमा र डिफेन्डिङ च्याम्पियन न्युजिल्यान्डलाई सेमिफाइनलमा स्तब्ध बनाउँदै उपाधिको दाबेदारी प्रस्तुत गरेको थियो।

तथापी, शनिबारको फाइनलमा आशाअनुरूप प्रदर्शन गर्न नसक्दा इङ्ल्यान्ड सन् २००७ को फाइनलजस्तै निरास बन्यो। इङ्ल्यान्ड विश्वकपको फाइनलमा दोस्रो पटक दक्षिण अफ्रिकासँगै स्तब्ध भयो। इङ्ल्यान्ड सन् २००७ को विश्वकपमा दक्षिण अफ्रिकासँग १५–६ ले स्तब्ध भएको थियो। चौथोपटक विश्वकपको फाइनलमा पुग्दा इङ्ल्यान्डले एक पटक मात्र सदुपयोग गर्न सकेको छ।

प्रकाशित: १७ कार्तिक २०७६ ०३:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App