१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

चिसो बढेपछि प्रहरी चौकी सदरमुकाम सारिँदैे

वीरेन्द्रनगर/डोल्पा – कर्णालीका उच्च हिमाली क्षेत्रमा चिसो बढेपछि त्यहाँ रहेका प्रहरी चौकीलाई सदरमुकाम सार्न थालिएको छ। माथिल्लो डोल्पाका ६ वटा प्रहरी चौकीलाई जिल्ला सदरमुकाम सारिएको छ भने हुम्लाका दुई र मुगुको एक प्रहरी चौकीलाई केही दिनमै सार्ने तयारी गरिएको छ।

उच्च हिमाली क्षेत्रमा हिउँदमा अत्यधिक चिसो हुँदा प्रत्येक वर्ष प्रहरी चौकी सदरमुकाम सार्ने गरिन्छ। प्रहरीसँगै स्थानीय बासिन्दा पनि चिसो छल्न सदरमुकामलगायत बेंसीमा सर्छन्। ‘उच्च हिमाली क्षेत्रमा हिउँ पर्न सुरु भइसक्यो,’ जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायण रञ्जितकारले भने, ‘तापक्रम माइनस डिग्रीमा झरेको छ।’

यो समयमा उच्च हिमाली क्षेत्रमा प्रहरी बस्न सक्ने विकल्प नभएपछि चौकी सदरमुकाम सारिएको उनको भनाइ छ। ‘चिसोसँगै उच्च हिमाली क्षेत्रमा खाने कुरा र दाउराको पनि समस्या हुन्छ,’ उनले भने, ‘उपलब्ध पोसाकले मात्र चिसो छेक्न सक्दैन।’

माथिल्ल्लो डोल्पाका शे–फोक्सुन्डो र डोल्पो बुद्ध गाउँपालिकाका६ वटा अस्थायी प्रहरी चौकी जिल्ला प्रहरी कार्यालय दुनैमा सारिएको सो कार्यालयले जनाएको छ। चिसो बढ्दै जाँदा जनजीवनसमेत प्रभावित भएको छ। प्रहरी जिल्ला सदरमुकाम सरेपछि शे–फोक्सुन्डो र डोल्पो बुद्ध गाउँपालिका प्रहरी सुरक्षाविहीन भएका छन्। ‘माथिल्लो डोल्पाका प्रहरी चौकी भाडाका घरमा छन्,’ डिएसपी रञ्जितकारले भने, ‘त्यसैले पनि यहाँ प्रहरीलाई बस्न समस्या छ।’

प्रहरी चौकी जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सदरमुकाम सारिएको डोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी शर्माले जानकारी दिइन्। चैतमा पुनः प्रहरी ती ठाउँमा फर्कने बताइएको छ। गाउँपालिका केन्द्र साल्दाङ रधोमा रहेका अस्थायी प्रहरी चौकी सदरमुकाम दुनै सारिएपछि सरकारी काम गर्नसमेत समस्या भएको शे–फोक्सुन्डो गाउँपालिकाका अध्यक्ष टाशितुन्डुप गुरुङले बताए।

कठ्यांग्रिने चिसो धान्ने आवास, कपडा, खाना, जिल्ला सदरमुकाम आउनेजाने सवारी साधन, उपचार सेवा, बिरामी पर्दा तत्काल उद्धारको व्यवस्था, सञ्चार सुविधा, आकर्षक प्रोत्साहन भत्ता आदि नहुँदा उच्च हिमाली जिल्लाका प्रहरी ज्यान नै जोखिममा राखेर ड्युटीमा खटिनुपर्छ। डोल्पामा २० स्थायी र सात अस्थायी प्रहरी युनिट छन्।

तीन चौकी सार्ने अन्तिम तयारी
चिसोले समस्या भएपछि हुम्लाका दुई र मुगुको एक प्रहरी चौकी पनि सदरमुकाम सार्ने तयारी भइरहेको छ। हुम्लाको लिमी र हिल्सा सीमा प्रहरी चौकी तथा मुगुको मुगु सीमा प्रहरी चौकी सदरमुकाम सार्ने तयारी छ। ‘लिमी र हिल्सामा तापक्रम माइनस डिग्रीभन्दा तल झरिसकेको छ,’ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले भने, ‘प्रदेशको आदेशका कारण मात्रै लिमीको चौकी सार्न केही ढिला भएको हो।’

प्रहरी चौकी सार्न केन्द्रबाट आदेश लिइसकेको जिल्ला प्रहरी कार्यालय हुम्लाले केही दिनमा प्रदेशको आदेश आएलगत्तै लिमी प्रहरी चौकीलाई सिमकोट सार्ने तयारी गरेको छ। नेपाल र चीनको सीमामा रहेको सीमा प्रहरी चौकी हिल्सालाई भने मुचु प्रहरी चौकीमा सार्ने योजना रहेको हुम्लाका निमित्त प्रहरी प्रमुख सिंहले जानकारी दिए। मुगुको सीमा प्रहरी चौकीलाई पनि जाडोकै कारण सार्ने तयारी भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख भुवनेश्वर शाहले बताए।

प्रकाशित: १७ कार्तिक २०७६ ०२:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App