१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

डा. केसीका मागमा सहमति, आज अनशन तोड्ने

काठमाडौं- त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा २१ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसी र सरकारबीच सहमति भएको छ। चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) मा वरिष्ठताका आधारमा डिन नियुक्तिसँगै केसीका अन्य मागमा समेत सहमति भएको हो। शनिबार राति तयार सहमतिपत्रमा सामान्य प्राविधिक विषय मिलाउन बाँकी रहेकाले अन्तिम रुप दिएर आइतबार बिहान ९ बजे हस्ताक्षर गर्ने र १० बजे अनशन तोड्ने प्रस्ताव डा. केसीले गरेका छन्।

मुटुको चाल निरन्तर अस्थिर भएपछि चिकित्सकले शनिबार राति नै अनशन तोडेर उपचार थाल्न आग्रह गरे पनि केसीले सम्झौता परिपक्व बनाएर मात्रै बिहान अनशन तोड्ने जबाफ दिएका थिए।

राति अबेरसम्म तोकिएको समयसीमा र विभिन्न समितिमा बस्ने व्यक्तिका नामको विषयमा छलफल जारी रहे पनि मूल कुरामा सहमति भइसकेको छ।

सहमतिअनुसार सबै विश्वविद्यालय र प्रतिष्ठानमा पदाधिकारी नियुक्तिका लागि मौजुदा कानुनमा परिवर्तन गर्न तीन महिनाभित्र सुझाव दिनेगरी उच्चस्तरीय समिति गठन हुने भएको छ। समितिको नेतृत्व त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमा वा विश्वविद्यालय अनुदान आयोगका उपाध्यक्ष डा. पराशर कोइरालाले गर्नेछन्।

२०७२ भदौ ३१ को मन्त्रिपरिषद् निर्णयका आधारमा चालू शैक्षिक सत्रका लागि पनि एमबीबीएस पढ्न उपत्यकाभित्र ३८ लाख ५० हजार र उपत्यकाबाहिर ४२ लाख ४५ हजार तोक्ने सहमति भएको छ। सो शुल्क विश्वविद्यालयको बैंक खातामार्फत कलेजलाई दिइनेछ।

२०७० चैत ३ को सम्झौताअनुसार आइओएमलाई थप स्वायत्तता दिने विषयमा मन्त्रालयले त्रिविलाई पुनः निर्देशन दिने,  नयाँ चिकित्सा शिक्षा ऐन नआउँदासम्म नयाँ कलेज एवं प्रतिष्ठानलाई कुनै पनि नाममा सम्बन्धन तथा नयाँ अनुमति नदिने र आसयपत्रसमेत नवीकरण नगर्ने सहमति भएको छ। दुर्गम र सरकारी विद्यालयमा अध्ययन पूरा गरेका विद्यार्थीका लागि छात्रवृत्ति ऐन २०२१ बमोजिम प्रदान गरिँदै आएको छात्रवृत्ति बढाउने र सार्वजनिक शिक्षण संस्थामा ७५ प्रतिशत पुर्‍याउने सहमति पनि भएको छ।

चिकित्सा शास्त्र अध्ययन संस्थानको अनियमिततामा संलग्न भएको भनिएका र पूर्वशिक्षासचिव जयराम गिरी संयोजकत्वको समितिले औंल्याएका पदाधिकारीलाई कारबाहीका लागि पुनः अख्तियारसमक्ष सिफारिस गर्नेसमेत सहमति भएको छ। मेडिकल तथा डेन्टल कलेज एवं सम्बन्धन, विस्तारित कार्यक्रम र शुल्क तथा सिट निर्धारणलगायत विषयमा भएका अनियमितता छानबिन गर्न उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गर्नसमेत सरकार सहमत भएको छ।

सरकारले एक प्रदेशमा एउटा मेडिकल कलेज खोल्ने पूर्वसहमतिअनुसार स्पष्ट कार्ययोजना बनाउने र कार्यान्वयनमा ल्याउने सहमति भएको छ। यसअनुसार महोत्तरीको बर्दिबास,  रुपन्देही, दाङ र सुर्खेतमा मेडिकल कलेज स्थापना गर्ने तय भएको छ।

सरकारले नयाँ कलेज खोल्दा जनसंख्या र भौगोलिकताको आधार हेर्ने सहमति पनि भएको छ। सहमति मन्त्रिपरिषद्बाट अनुमोदन गर्ने र कार्यान्वयन अवस्था अनुगमन गर्न उच्चस्तरीय समिति गठन गर्ने सहमतिसमेत भएको छ।

६ दिनदेखि जारी वार्ता टुंगोमा पुर्‍याउन सरकारी टोली, केसी पक्षधर वार्ता टोलीसहित चिकित्सक संघका प्रतिनिधिसमेत शनिबार दिनभर छलफलमा जुटेका थिए। शुक्रबार राति अबेरसम्म वार्ता चले पनि डा. केसीले वरिष्ठताका आधारमा डिन नियुक्तिबिना अनशन नतोड्ने अडान राखेपछि राति नै डिन नियुक्त गर्न पहल भएको थियो। तर, त्रिविका रजिस्ट्रार डिल्लीराम उप्रेतीले बिहानमात्रै हस्ताक्षर गर्ने अडान राखेका कारण लम्बिएको थियो। शुक्रबार मध्यरातसम्म सहमति जुटाउन खटेका स्वास्थ्यमन्त्री गगन थापा शनिबार बिहानै त्रिवि पदाधिकारीलाई बोलाएर प्रधानमन्त्रीनिवास बालुवाटार पुगेका थिए। त्यतिबेला प्रधानमन्त्री पुष्पकमल दाहाल लाजिम्पाटस्थित निजी निवासमा थिए। उनले सबैलाई त्यहीं बोलाएर डिन नियुक्तिको निर्णय गराएका थिए। निर्णयको पत्र लिएर मन्त्री थापा केसीलाई भेट्न अनशनस्थल पुगेका थिए। थापासँगको भेटमा न्यायिक छानबिन समितिको दायरामा त्रिवि उपकुलपतिलाई ल्याउने सर्तमा मात्रै उपकुलपतिको राजीनामा माग छोड्न केसी तयार भएका हुन्। सोसँगै दुवैपक्षीय वार्ता टोली सहमतिको मस्यौदा तयारीमा जुटेका थिए। वार्तास्थलमा अपराह्न पुगेका स्वास्थ्यमन्त्रीले शिक्षामन्त्री धनीराम पौडेललाई समेत बोलाएका थिए। शिक्षामन्त्री पौडेलले समेत मस्यौदा हेरेपछि केसी पक्षीय चिकित्सक, वरिष्ठ चिकित्सक र संघका प्रतिनिधि अनशनस्थल पुगेका मस्यौदा पढेर सुनाएका थिए। मस्यौदा हेरेपछि केसीले केही सुधारका लागि आग्रह गर्दै आइतबारमात्रै अनशन तोड्ने अडान राखेका थिए। त्यसपछि राति अबेरसम्म बसेर दुवै पक्षले अन्तिम मस्यौदा बनाइसकेका छन्।वरिष्ठताका आधारमा डिन नियुक्ति र उपकुलपतिको बर्खास्तगीलगायत माग राखेर डा. केसीले २१ दिनअघि अनशन थालेका थिए। उनको मागबारे वार्ता गर्न सरकारले १५औं दिनमात्रै समिति बनाएको थियो। डिन केपी सिंहले राजीनामा दिन नमान्दा र वरिष्ठताका आधारमा नयाँ डिन बनाउन त्रिवि पदाधिकारीले आलटाल गर्दा अनशन लम्बिएको हो। सिंहले डिनबाट शुक्रबार राजीनामा दिएका छन्।

प्रकाशित: १९ मंसिर २०७३ ०२:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App