१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

राजा राजेन्द्र विक्रमले किन दिए रानी दुर्गा कुमारीलाई १ सय रोपनी जग्गा?

ताम्रपत्रको फोटो। तस्विर/नागरिक

जाजरकोट– जाजरकोटी राजा दीपनारायण शाहकी रानी अर्थात काठमाडौंका राजा रणवहादुर शाहकी छोरी दुर्गा कुमारी शाहले  विक्रम सम्वत १८९१ साल मंसिर १० गते बिहीवारका दिन  त्यतिवेला काठमाडौंका राजा रहेका आफ्ना भतिजा तत्कालीन श्री ५ राजेन्द्रविक्रम शाहलाइ एउटा पत्र लेखेर विन्तीपत्र पठाइन्।

जाजरकोटकी रानी दुर्गा कुमारीले  विन्ती पत्रमा  काठमाडौंवाट जाजरकोट आउँदा हावापानी नमिलेको, गतिलो अन्न पनि उत्पादन नभएको, गतिलो हावापानी र अन्न नहुँदा घाँटीमा समस्या  भएको  आफ्ना छोराछोरी पनि  विग्रन लागेको  भनी उल्लेख गरिन्।

दुर्गा कुमारीले गरेको विन्तीको कुरा राजा राजेन्द्रविक्रम शाहले १ सय ८५ वर्ष अघि फुपु दुर्गाको नाममा लेखेको  ताम्रपत्रमा उल्लेख छ। आफ्नी फुपुको  विन्तीलाइ स्वीकार गर्दै राजा राजेन्द्रविक्रमले  विक्रम सम्वत १८९२ साल असार ३ गते सोमवारका दिन  तामाको पातामा पत्र लेख्दै  हाल पश्चिम रुकुमको विजयश्वरी नगरपालिकाकामा पर्ने चौरजहारीमा खेतवारी भएको  १ सय रोपनी जग्गा तिम्रो नाममा  भयो भन्दै  तोकेर पठाए।

ताम्रपत्रमा  राजा राजेन्द्रविक्रमले  आफुलाई हजुर भनेका छन् भने फुपु दुर्गाकुरमाीलाई तिमी भनेर सम्वोधन गरेका छन्। वारी जाजरकोट राज्यको राजधानी भएको प्राकृतिक सुन्दरताले सजिएको  खलंगा दरवारवाट तल  हरिया पहाडहरुले घेरिएको छेउमा वग्ने भेरी नदीको किनारमा छ।

सुन्दर तथा समथर मैदान जस्तो देखिने मनमोहक चौरजहारीको  एक सय रोपनी जग्गा पाएपछि त्यँहा  उत्पादन हुने  धान र गहुँ रानी दुर्गा कुमारीका लागि आउने मात्र गरेन पछि त्यँहा उनका सन्तान पनि वस्न थालेको  जाजरकोटी इतिहासका जानकार योगसम्शेर शाहले बताए।  

उनले देखाएको   १ सय ८५ वर्ष पुरानो ताम्र पत्रमा राजा राजेन्द्र विक्रमले  फुपु दुर्गाकुमारीलाइ  यस्तो लेखेका छन् 

‘श्री फुपु ज्यु दुर्गादेवी, आगे १ के हामी वस्याको जाजरकोटमा हावापानी घटिया हुनाले गलो वढी सन्तान विग्रना लाग्या भनि तिमीले हाम्रा हजुरमा  विन्ती गर्दा  सम्वत १९९१साल मिति मार्ग सुदी १० रोज ५का दिन वक्स्याको रोपनी १०० जिल्ला जहारीका अमल मध्य २ पल्टनका जागिरमा  दरियाको मन्कोट र कालागाउँ मा  विदासीनी भन्याको जग्गा घर वनायाको समेत त्यसको साँध पुर्व वोहोरीको पाखो साउनेपानी र रैकर पाखाको साँध लहुकिल दक्षिण सेतो ढुंगो खिर्राको वोट र कालो ढुंगो पलास्या पध्यारो सैधनको वोट मुटुला खोल्सी टुनीको वोट र रैकर पाखो साँध लहुकिल पस्चिम वालुवा  गाराको काल्हो र रैकर पाखाको साँध लुहुकिल यति सिमाना भित्र रोपनी १००को गोडधुवा थुमाउन गादिमार ख पंंँचखत कल्यान धन वास्थला महन्त मंडली चौधरी छिपी छालाको रकम समेत सर्वकर अकर सर्वाेंक माफ वितलव गरि वक्स्याको मोहर ताम्रपत्र गरि वक्स्यौं । ताम्रपत्रको अन्तिम वाक्यमा लेखिएको छ  इति सम्वत १८९२ साल  मिति आसाढ सुदी ३ रोज २ शुभम । 


यो ताम्रपत्रका अनुसार  उतिवेला जाजरकोट र काठमाडौंबीच घनिष्ठ सम्वन्ध रहेको प्रमाणित हुन्छ। खासमा  गोरखाका राजा पृथ्वीनारायण शाहसंग जाजरकोटका राजा हरि शाह र उनका छोरा गजेन्द्र शाहले २ सय ५१ वर्ष अघि भारतको काँशी स्थित मणिकर्णिका घाटमा  लगाएको मितेरी साइनो र धर्मसन्धी पछि जाजरकोट र काठमाडौंबीच नजिकैको सम्बन्ध गाँसिदै आएको पाइन्छ। 

यसैका कारण  नेपाल एकिकरण यात्रामा जाजरकोटी राजा र सेनाले पृथ्वीनारायण शाह र उनका छोरा बहादुर शाहलाई पश्चिम आक्रमण र तिब्बतसंगको लडाईमा ठुलो सहयोग गरेको  जाजरकोटी इतिहास र  सामाजिक जीवनका खोजकर्ता राजुराजा सिंहले वताए।

उनले  पछिल्लो समयमा  पहिलो राणा प्रधानमन्त्री  जंगबहादुरकी दुइ छोरीहरु दीर्घकुमारी र जगतकुमारीले जाजरकोटी राजा नरेन्द्रविक्रम शाहसंग विहे गरेपछि पनि  जाजरकोटको सम्वन्ध काठमाडौंसंग निरन्तर नजिकै रहेको बताए।

यस्तै  जाजरकोटी राजाका सन्तान कर्णेल हरिविक्रम शाहकी जेठी छोरी वालकुमारी शाहले  राणा प्रधानमन्त्री चन्द्र सम्शेरसंग विक्रम सम्वत १९७५ तिर विहे गरेपछि पनि जाजरकोट र नेपाल राज्यको सम्वन्ध नजिकै भइरहेको  उनको भनाइ छ। 

नेपाल राज्यको एकीकरणमा  जाजरकोट राज्यले पुरयाएको योगदानवारे  कुनै विस्तृत खोज अनुसन्धान नभएका कारण जाजरकोटको महत्वपूर्ण ऐतिहासिक तथ्य बाहिर आउन नसकेको स्थानीय सरोकारवालाहरु बताउँछन् । 

  

प्रकाशित: १६ कार्तिक २०७६ ०९:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App